च्याम्पियन्स लिगमा स्तब्ध बन्यो साबिक विजेता रियल
बिहीबार, १७ असोज २०८१, ०७ : १५

डेकाथोन एरिना । साबिक विजेता रियल मड्रिड च्याम्प्यिन्स लिगमा फ्रेन्च क्लब लिलसँग स्तब्ध भएको छ । टोलीले प्रतियोगितामा सन् २०२३ मेपछि पहिलोपटक हार बेहोरेको हो ।
सबै प्रतियोगिताका पछिल्ला ३६ खेलहरूमा कार्लो एन्चेलोटीको टोली पराजित भएको यो पहिलोपटक पनि हो । टोली पछिल्लोपटक गत जनवरी १८ मा एट्लेटिको मड्रिडसँग कोपा डेल रेमा हारेको थियो ।
खेलमा जोनाथन डेभिडले पहिलो हाफको इन्जुरी समयमा गरेको एक मात्र गोल निर्णायक बन्यो । एडुवार्डो कामाभिंगाले ह्यान्डबल गरेपछि लिलले पेनाल्टी पाएको थियो जसलाई डेभिडले सजिलै गोलमा परिणत गरे ।
अब रियलले अर्को खेलमा गत सिजनको फाइनलिस्ट बोरुसिया डर्टमन्डलाई आतिथ्य गर्नेछ भने लिल एट्लेटिको मड्रिडको घरेलु मैदानमा खेल्न जानेछ ।