बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

विपद्‌बाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण

बिहीबार, १७ असोज २०८१, ०० : ०३
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । यही असोज ११ र १२ गते आएको बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेर ज्यान गुमाएकाका परिवारलाई राहत रकम हस्तान्तरण गर्न थालिएको छ । यसैअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका प्रभावित विभिन्न स्थानीय तहमा मृतकका परिवारलाई उक्त राहत रकम हस्तान्तरण गरिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज यहाँ विपद्‌बाट ज्यान गुमाएकाका परिवारका नौजनालाई उहााहरुको घरमै पुगेर जनही दुई लाखका दरले रकम हस्तान्तरण गरे । मृतकका परिवारलाई जनही दुई लाखमा दरले १६ लाख तथा घर भत्किएकाका परिवारलाई जनही एक लाख रकम हस्तान्तरण गरिएको उनले बताए । 

प्रजिअ आचार्यका अनुसार काठमाडौँको दक्षिणकाली र चन्द्रागिरि नगरपालिकाका दुई दुई तथा नागार्जुन नगरपालिकाका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो । 

त्यसैगरी ललितपुरका दुई स्थानीय तहमा विपद्बाट ज्यान गुमाएकाका सात परिवारलाई राहत रकम प्रदान गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका सात परिवारलाई गरी १३ लाख घरमै पुगेर वितरण गरिएको उनले बताए । 

'राहत रकम पीडितको घरमै गएर वितरण गर्न थालेका छौँ,' प्रजिअ श्रेष्ठले भने, 'विपद्बाट प्रभावितलाई सुरक्षित स्थानमा राखेर गासवासको व्यवस्था मिलाइएको छ ।'

भक्तपुरमा पनि विपद्मा परी ज्यान गुमाएकाका चार  परिवारलाई राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए । चार परिवारलाई रु तीन लाख ३० हजार रकम उपलब्ध गराइएको उनले बताए । विपद्बाट प्रभावित अन्य जिल्लामा पनि राहत रकम वितरणको तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्बाट प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग नियमितरुपमा टेलिफोन सम्पर्क गरी जानकारी लिइरहनुभएको मन्त्रालयले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप