बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, १६ असोज २०८१, २२ : ००
बुधबार, १६ असोज २०८१

आज २०८१ असोज १६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • संसदीय सुनुवाइ समिति

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो । 

संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गरेको छ । बुधबार बसेको बैठकले उनको सुनुवाइ सकिएसँगै राजदूतमा अनुमोदन गरेको हो । 

  • विद्युत् व्यापार

नेपाल र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बिच बिहीबार ४० मेगावाट विद्युत् खरिदबिक्री सम्झौता हुने भएको छ । सम्झौतापछि बीपीडीबीले वर्षायाममा नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्नेछ । नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले यसमा भारतको पनि सहमति आवश्यक पर्छ । 

  • सहकारी समस्या

सहकारी बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको विशेष समितिको प्रतिवेदनले सातवटा मिडिया कम्पनीमा सहकारीको बचत रकम पुगेको तथ्य सार्वजनिक गर्‍यो । यसरी सहकारीको रकम पुगेका मिडियाहरूमा राष्ट्रिय मिडियाको रूपमा सञ्चालित टेलिभिजनदेखि बन्द अवस्थामा रहेको अनलाइन सञ्चारमाध्यमसम्म छन् । 

  • कोशी प्रदेशमा बेरुजुको चाङ

कोशी प्रदेश सरकार अन्तर्गतका सरकारी निकाय, समिति तथा अन्य संस्थाको बेरुजू रकम ५ अर्ब ५८ करोड ४ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०७४–७५ देखि २०७९–८० सम्मको अन्तिम लेखापरीक्षणको बेरुजूमध्ये फर्स्योट तथा सम्परीक्षण गरी उक्त रकम बाँकी रहेको हो ।

  • विज्ञका कुरा

मनसुन बाहिरिने बेलामा भर्खरै हामीले विपत्को सामना गरौँ । यो समुद्री सिस्टमबाट सिर्जना भएको वर्षा हो । बंगालको खाडीबाट सिर्जना भएको न्यूनचापीय अवस्थाले पानीको बाफहरू आफूसँग ल्याएर नेपालमा वर्षा गराएको हो । 

  • विपद्‍

 असोज ११ र १२ गतेको वर्षापछि मुलुकमा ठुलो जनधनको क्षति भएको भन्दै सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेयता राजनीतिक गतिविधिहरू ठप्प छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको थियो । सरकारको घोषणापछि मङ्गलवारदेखि बिहीबारसम्म झन्डा आधा झुकाउनेसहित तीन दिन राष्ट्रिय शोकको अवधिमा राजनीतिक गतिविधि ठप्प हुने भएका हुन् ।

  • दसैँ

बिहीबारदेखि दसैँ सुरु हुँदैछ । दसैँका लागि मानिसहरूले किनमेल गर्न थालेका छन् । दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्रमा मानिसको भीड बढ्दै गएको छ ।

दसैँका लागि मुस्ताङका च्यांग्रा काठमाडौँ आइपुगेका छन् । दसैँका लागि बिक्री गर्न व्यवसायीहरूले हिमाली जिल्लाका च्यांग्रा काठमाडौँ ल्याएका हुन् ।

नवरात्रीको लागि दुर्गाका मूर्ति तयार भएका छन् । बिहीबारदेखि सुरु हुने नवरात्रीका लागि मूर्तिकारहरूले दुर्गाका मूर्ति तयार गरेका हुन् । 

  • सत्ता अभ्यास 

राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले कात्तिकको पहिलो हप्ता पार्टी दर्ता गराउने गरी प्रक्रिया थालेका छन् । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बुधबारदेखि सनाखतका लागि जिल्ला जिल्लामा सर्कुलर पठाएको छ ।

  • फेस्टिभ मुड

प्राकृतिक विपत‍्काे मारमा जनता पर्दा संसद् बन्द छ । संसदीय समितिहरू पनि कोरम नपुगेको भन्दै बैठक बस्न सकेका छैनन् । अविरल वर्षा र त्यसबाट आएको बाढी पहिरोका कारण २१८ जनाको मृत्यु भइसकेको छ । बेपत्ता र घाइतेको सङ्ख्या पनि ठुलो छ । संसद्को बजेट अधिवेशन समाप्त भइसके पश्चात् विपत‍्काे संवेदशील घडी आइपरेको हो । यस्तो अवस्थामा मिनी संसद् अर्थात् संसदीय समिति सक्रिय हुनुपर्ने हो ।

  • विपद्पछिको राहत र पुनर्निर्माण

असोज ११ र १२ मा परेको अविरल वर्षा र सोसँगै आएको बाढीपहिरोका कारण २३२ जनाको मृत्यु भएको छ । २३ जना अझै बेपत्ता छन् । मनसुनजन्य विपद्को सबैभन्दा धेरै प्रभाव काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा परेको छ । विपद्बाट ७ सयभन्दा धेरै घर पूर्णरूपमा क्षति भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप