बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

राज्यमन्त्री राईमाथि आक्रमणको प्रयास, ६ जना पक्राउ

बुधबार, १६ असोज २०८१, २१ : १३
बुधबार, १६ असोज २०८१

विराटनगर । उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे बुझ्न गएकी कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईलाई गएराति आक्रमण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरबाट गएको प्रहरीको विशेष टोलीले उनीहरूलाई उदयपुरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६ जना रहेको कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले बताए । घटनामा नाबालकहरुसमेतको संलग्नता रहेको र पक्राउ परेकोले अनुसन्धानपछि मात्र प्रहरीले उनीहरूको नाम सार्वजनिक गर्ने जनाएको छ । 

राज्यमन्त्री राई बाढी पहिरो पछिको अवस्था अवलोकन गर्नुका साथै राहत तथा उद्धारको पहल गर्न उदयपुरको उत्तरी क्षेत्र र भोजपुरको दक्षिण क्षेत्रमा गएकी थिइन् । विराटनगर फर्कने क्रममा मंगलबार राति १० बजे उनी चढेको सवारीसाधनमा आक्रमण भएको थियो । 

प्रहरीका अनुसार उनी फर्केर आएको बाटोबाट गाँजा तस्करी हुने गरेको र त्यस ठाउँमा उक्त समूहले गाँजा ओसारपसार गर्नेहरूसँग पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मंगलबार राति पनि उक्त समूहले गाँजा ओसारपसार गर्ने समूह सम्झेर मन्त्री सवार गाडीमा आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उनीहरुले त्यहाँ लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको खुलेको डीआइजी खापुङले बताए । राति आक्रमण भएपछि उनलाई प्रहरीले स्कटीङ गरेर विराटनगर ल्याएको थियो ।

उनी चढ्ने प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडीमा क्षति पुगेकोले मर्मतका लागि लगिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

उदयपुरको बेलका नगरपालिका वडा नं. ८ सिरवानी माथिको लिफ्टिङ खानेपानी ट्याङ्कीमुनि बिग्रेको टर्नीङमा बेलुकी १० बजे गाडी आक्रमणमा परेको थियो । 

गाडीमा मन्त्री राईसहित उनका सचिवालयका सदस्यहरू, नेकपा एमाले आमचोक गाउँपालिका उपाध्यक्ष वसन्त राईलगायत ७ जना थिए । आक्रमणकारी समूहले खुकुरी, भाटा र ढुंगा बोकेर गाडी रोक्न खोजेका थिए भने सडकमा मुढासमेत तेर्स्याएका थिए । तर चालकले गाडी नरोकी अगाडि बढाएका कारण थप घटना हुनबाट जोगिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप