बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

‘हनी ट्रयाप’मा पारेर हत्या गर्ने ५ जना पक्राउ

बुधबार, १६ असोज २०८१, १९ : ४८
बुधबार, १६ असोज २०८१

मकवानपुर । काठमाडौँ, कीर्तिपुरका ५० वर्षीय विनोद खड्गीलाई ‘हनी ट्रयाप’मा पारेर हत्या गरिएको पुष्टि भएको छ ।

खड्गीको शव असोज ६ गते काभ्रेको पाँचखाल नगरपालिका–८ को ४९ किलो भन्ने ठाउँमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रारम्भिक अनुसन्धानले विनोदको हत्या भक्तपुरमा भएको र पाँचखाल ल्याएर शव फालिएको पत्ता लगाएको छ ।

खड्गीको अपहरण र हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ शंकरापुर नगरपालिका–५ बस्ने वर्ष २२ का सरिन घिमिरे, महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६ घर भइ हाल भक्तपुरको कौशलटार बस्ने वर्ष २० का आशिष पासवान, शंखरापुर नगरपालिका–५ बस्ने वर्ष २१ का रिकेश पौडेल र बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ घर भइ हाल काठमाडौँ, कोटेश्वरस्थित महादेवस्थान बस्ने वर्ष १९ का प्रतिक गौतम छन् । उनीहरूलाई काभ्रे जिल्ला अदालतमा पटकपटक गरी १७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एवं प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

हत्यामा संलग्न ३ जना भारतीय नागरिक फरार रहेको उनको भनाइ छ । उनका अनुसार खड्गीको हत्याको मुख्य योजनाकार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएकी २१ वर्षीय मनिषा महत रहेको अनुसन्धानमा खुलेको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ मा डेरा लिएर बस्ने मनिषाले सोही स्थानमा खड्गीको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक खड्काले बताइन् ।

प्रहरीका अनुसार मनिषा पटके अपराधी भएको देखिएको छैन । तर, उनी हालै भारतमा पनि ‘हनी ट्रयाप’मा पारी एक व्यक्तिसँग १ लाख ५० हजार रुपैयाँ लिएर नेपाल आएको पाइएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

यसरी भयो खड्गीको हत्या

करिब ३ महिना अगाडि मनिषाले भारतीय नागरिक अन्सु र शिवमसँग मिलेर भारतको ग्रेटर नोएडामा तुसारलाई कुटपिट गरी फिरौती रकम १ लाख ५० हजार रुपैयाँ लिइ नेपाल फर्किएकी थिइन् । सो क्रममा मनिषामार्फत सो समूहले नेपालमा पनि धनी व्यक्तिलाई यौन कुण्ठामा पारी रकम लुट्ने योजना बनाएको थियो ।

असोज ४ गते साँझ मनिषाको भक्तपुर, राधेराधेस्थित डेरा कोठामा उनीसहित अन्सु, शिवम, सरिन र रिकेश मिलेर धनी व्यक्तिलाई सिकार बनाउने योजना बनेको थियो ।

प्रहरीका अनुसार ‘भोलि एक जना पैसावाला व्यवसायी आउँछ । सुरुमा रक्सी खुवाउने, तत्पश्चात खाना खाइसकेपछि कुटपिट गरी हातखुट्टा बाँधेर डर देखाइ फिरौती रकम माग्ने’ भनेर उनीहरूले योजना बनाएका थिए ।

भोलिपल्ट भारतीय नागरिक अन्सु खानले बानेश्वरमा बाग्लुङको गलकोट–७ घर भइ कोटेश्वरमा बस्ने प्रतिक गौतमलाई भेटे । अन्सुले उनलाई योजनाबारे जानकारी दिए । सो पश्चात दुवैजना अन्सुको घरमा पुग्छन् । यसबिचमा अन्सुले महोत्तरी घर भइ कौशलटार बस्ने आशिष पासवानको फलफूल पसलमा पुगेर आफ्नो योजनाबारे जानकारी गराउँछन् ।

महतको डेरा जाने बाटोमा भेला हुने योजना उनीहरूले बनाएका थिए । असोज ५ गते नै मनिषाले आफ्नो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्न विनोद खड्गीलाई भनिन् । सोही अनुसार खड्गी मनिषाको डेरामा पुगे । कोठामा पुगेर मनिषा र खड्गीले रक्सी र अण्डा खाइरहेका थिए । सो समयमा मनिषा खुर्सानी किन्ने बहानामा बाहिर निस्केर अन्य व्यक्तिलाई बोलाएको अनुसन्धानबाट खुलेको छ ।

अन्सु, शिवम, सरिन, रिकेश, प्रतिक र आशिष मिलेर मनिषाको कोठामा रहेका खड्गीमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । आक्रमणबाट घाइते भएका खड्गीसँग उनीहरूले पैसाको बार्गेनिङ सुरु गरेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सुरुमा सबैले ३० लाख माग्ने कुरा भएकोमा मनिषाले ३० लाख बढी हुने भन्दै १० लाखसम्म माग गर्छिन् । खड्गीले आफूसँग त्यति पैसा नभएको भन्दै ५ लाखसम्म हुन्छ भने दिन तयार रहेको बताउँछन् । त्यसपछि खड्गीले आफ्नै मोबाइलबाट फोन गर्न खोज्छन् । तर, उनको मोबाइल ह्याङ भएपछि खड्गीले अन्सुको मोबाइलमा सिम हालेर खड्गीको बधशालामा काम गर्ने कर्मचारी प्रदिप थापा मगरलाई फोन गर्छन् ।

प्रहरीका अनुसार फोनमा खड्गीले आफूलाई तुरुन्त ५ लाख रुपैयाँ चाहिएको र एक जना मानिस भक्तपुरस्थित राधेराधे भाटभटेनी अगाडि ‘आरवन फाइभ’ मोटरसाइकलमा आउँछन्, पैसा दिएर पठाउनु भन्ने निर्देशन गर्छन् । अपराह्न ५ः१५ बजेको समयमा प्रदिपले खड्गीलाई फोन गरेर कन्फर्म गरी आशिष पासवानलाई पैसा बुझाएका थिए ।

१५/२० मिनेटमा आशिष पैसा लिइ महतको कोठामा पुग्छन् र अन्सुलाई पैसा दिएपछि उनीहरूले खड्गीलाई मार्ने योजना बनाउँछन् । प्रहरीका अनुसार राति १० बजे सूर्यविनायक गणेश मन्दिर हुँदै गुण्डुतर्फ जाने पक्की सडक खण्डमा लगेर ढुंगाले छातीमा प्रहार गरी खड्गीको हत्या हुन्छ । हत्यापछि सो समूहले खड्गीको शव साँगा धुलिखेल हुँदै पाँचखाल स्थित ४९ किलोमा लगेर अरनिको राजमार्गबाट ८ मिटर तल झाडीमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

असोज ६ गते अन्सुले विभिन्न स्थानमा पुगेर १ लाख, प्रतीकलाई १० हजार आशिषलाई २० हजार र आफ्नो दिदी रोशनीसमेतलाई ५० हजार गरी जम्मा १ लाख ८० हजार रुपैयाँ वितरण गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप