बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेशको योजना छनौट र कार्यान्वयन पक्ष कमजोर छ : मुख्यमन्त्री लामा

बुधबार, १६ असोज २०८१, १९ : १०
बुधबार, १६ असोज २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले  योजना छनौट र कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गरेका छन् । उनले प्रदेश सरकारको बजेट विनियोजनमा योजना छनौट र सो पश्चात् कार्यान्वयन पक्ष अत्यन्त कमजोर हुँदा अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको बताएका हुन् ।

प्रदेश नीति तथा योजना आयोगको आयोजनामा हेटौंडामा भएको वार्षिक समीक्षा एवं प्रदेश समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले अन्तर मन्त्रालय समन्वय अभावका कारण आयोजना छनौट र कार्यान्वयनमा समस्या भएको बताए । समन्वयको अभाव हुँदा आयोजना दोहोरो पर्ने, क्षेत्राधिकार बाहिरको आयोजना समावेश गर्ने, प्राविधिक जनशक्ति व्यवस्थापनमा समस्या हुने गरेको उनको भनाई छ ।

विगतमा आयोजना छनौट तथा कार्यान्वयन पूर्वअध्ययन नगर्दा निर्माण भएका पूर्वाधारहरु अलपत्र अवस्थामा रहेको उनले बताए । प्रदेश सरकारको लगानी प्रतिफल विहीन अवस्थामा अन्योल ढंगबाट रहन पुगेको मुख्यमन्त्री लामाको भनाई छ ।

मुख्यमन्त्री लामाका अनुसार बहुवर्षे आयोजना छनौटमा विधि अनुशासनको पालन नहुँदा समस्या भइरहेको छ । वहुवर्षे आयोजना छनौटमा प्रक्रिया र मापदण्ड मिचेर काम गर्दा प्रदेश सरकार माथि थप चुनौती थपिएको उनले बताए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशका आयोजनाहरूमा औचित्यहीन ढंगबाट लगानी भइरहेको बताए । बजेटको ठुलो हिस्सा लगानी भएका आयोजनाहरू उत्पादनहीन रूपमा रहेको उनले बताए । प्रदेश सरकारले आयोजना छनौटमा आवश्यकता र औचित्यका आधारमा प्राथमिकीकरण गरिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले प्रदेश सरकारले ल्याएका आयोजनाहरूमा कर्मचारीहरूले अपनत्व ग्रहण गर्न नसकेको बताए । कर्मचारीहरूले राजनीतिक नेतृत्वको नीति निर्देशन र योजनालाई अपनत्व ग्रहण गरेर अघि बढ्नु पर्ने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप