बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

राजेन्द्र महतोले सत्ता अभ्यास कहिलेदेखि गर्ने ?

बुधबार, १६ असोज २०८१, १९ : ०२
बुधबार, १६ असोज २०८१

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले कात्तिकको पहिलो हप्ता पार्टी दर्ता गराउने गरी प्रक्रिया थालेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बुधबारदेखि सनाखतका लागि जिल्ला जिल्लामा सर्कुलर पठाएको छ । पार्टी दर्ताका लागि कम्तीमा पाँच सय जनाको हस्ताक्षर चाहिन्छ । दसैँभरि हस्ताक्षर सङ्कलन गर्ने र कात्तिकको पहिलो हप्तातिर पार्टी दर्ता गराउने सो पार्टीका नेता केशव झाले बताए ।

झाले भने, ‘आयोगमा दर्ताका लागि सनाखत गराउन कम्तीमा पाँच हजार हस्ताक्षर चाहिन्छ तर १ हजारदेखि १५ सय हस्ताक्षर सङ्कलन गर्ने लक्ष्य छ ।’ दसैँभरमा विधान, घोषणापत्र तथा हस्ताक्षर सङ्कलनका काम सक्ने तयारी रहेको उनले बताए ।

पार्टीको विधान र घोषणापत्रको ड्राफ्ट तयार भइरहेको झाले बताए । ‘एउटा टिम त्यसको तयारीमा जुटेको छ,’ उनले भने, ‘दसैँ–तिहारमा तयार गरेर पार्टी दर्ता गर्छौं ।’

मंगलबारमात्र राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ जिल्लाका लागि पार्टीका संयोजक चयन गरेको छ । ती संयोजकले जिल्लामा पार्टीलाई संयोजन गर्ने पार्टीका अर्का नेता सन्तोष मेहताले बताए । उनले भने, ‘जिल्लामा अहिले कुनै समिति बनाउने योजना छैन । एक जना संयोजक राखेर पार्टी संयोजन गर्ने काम गर्छौं ।’

राष्ट्रिय मुक्ति क्रान्ति नेपालको ७७ वटै जिल्लामा संगठन छ । संयोजकले संयोजन गर्ने आधारमा संगठनका थप काम हुने मेहताको भनाइ छ ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी हुनुभन्दा पहिले नै राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट देशैभरि अभियान चलाइएको थियो । दुई चरणको कार्यक्रम पनि सम्पन्न भइसकेर तेस्रो चरणको कार्यक्रम गर्ने तयारी भइरहेको नेताहरू बताउँछन् ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल र राष्ट्रिय मुक्ति क्रान्ति अलगअलग संगठन हुनेछ । राष्ट्रिय मुक्ति क्रान्तिले आन्दोलन र सङ्घर्षका कार्यक्रम सञ्चालन गर्छ भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले संसदीय राजनीति गर्ने भनिएको छ ।

बहुल राष्ट्र निर्माणको माग गर्दै आन्दोलन थालेको राष्ट्रिय मुक्ति क्रान्तिले विभिन्न राज्यको स्थापना गर्दै स्वशासनसहितको आफ्नै विधान घोषणासमेत गर्ने तयारी थालेको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिले छुट्टै सत्ताको अभ्यास गर्ने गरी तयारी थालेको छ । त्यसका लागि कार्यक्रम बनाउने काम भइरहेको छ । नेता मेहताका अनुसार १२ वटा परिषद्ले आ–आफ्नो विधान बनाउने काम गरिरहेका छन् । कतिपयको विधान तयारी भइसकेका छन् । पार्टी दर्ता प्रक्रियामा गइसकेपछि सत्ताको अभ्यासमा लाग्ने उनले बताए । सम्भवतः मंसिरदेखि राष्ट्रिय मुक्ति क्रान्तिले आफ्नो सत्ताको अभ्यास सुरु गर्नेछ ।

राष्ट्रिय मुक्ति क्रान्तिले नेवाः राष्ट्रिय परिषद्, चौवाङ राष्ट्रिय परिषद्, मगर राष्ट्रिय परिषद्, लिम्बुवान राष्ट्रिय परिषद्, चेपाङ राष्ट्रिय परिषद् गरी हाल १२ वटा परिषद् गठन गरेको छ । जुन देशैभर क्रियाशील छन् । ५० वटा परिषद् बनाउने लक्ष्य राखेको नेताहरूको भनाइ छ ।

जति वटा परिषद्हरु हुन्छन्, ती सबैले आ–आफ्नो सत्ता आफैँ सञ्चालन गर्ने जनाइएको छ । त्यसको आफ्नै विधान, आफ्नो सबै संरचना हुनेछ । देशमा हरेक समुदायको आ–आफ्नो राष्ट्रियता र पहिचान छन् । ती पहिचानको आधारमा स्वशासन हुनुपर्ने नेता झाले बताए । त्यसको आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै पहिरनलगायत हुन्छ ।

‘अहिले देशमा गणतन्त्र भए पनि एक भाषा, एक नीति नै लादिएको छ । त्यसको हामी विरोध गर्छौं । जसको राष्ट्रियता हुन्छ, त्यसले नै त्यहाँ शासन गर्नुपर्ने हाम्रो माग छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप