बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ : मन्त्री यादव

बुधबार, १६ असोज २०८१, १८ : ०९
बुधबार, १६ असोज २०८१

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौँमा पथान्तरण हुने बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले अबको दुई/तीन दिन अति वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताएका हुन् । उनले २०७८ सालको बाढी, पहिरोले गर्दा मेलम्चीमा ठुलो क्षति भएको र त्यसबाट स्थानीयहरू त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौँका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिए । उनले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौँ उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख गरे । उनले अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरू डिजिटल प्रणालीबाट जाँच गरिरहेको बताए । 

मन्त्री यादवले मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरूले पनि पानी पथान्तरणका लागि कुनै समस्या सिर्जना नगर्नेमा आशावादी नरहेको बताए । स्थानीयका माग सम्बोधनका लागि मन्त्रालयका कर्मचारीहरू मेलम्ची पुगिसकेको उनले बताए । 

उनले भने, ‘पानी खोल्नु भन्दा अगाडि एउटा ठुलो महाभारत छ । त्यो भनेको मेलम्चीका स्थानीयहरूको आन्दोलन । त्यहाँ बाढी, पहिरो पीडितहरूको आन्दोलन छ । त्यसले समस्या गरेको छ, कर्मचारी त्यहाँ जानुभएको छ । उहाँहरूको केही कुरामा विमति छ, त्यसमा मन्त्रालय गम्भीर छ । उहाँहरूको जायज मागमा सम्बोधन गर्नेतर्फ हामी लागेका छौँ । पानी छोड्न उहाँहरूले कुनै कठिनाइ गर्नुहुन्न भन्ने मलाई विश्वास छ । दुई तीन दिनपछि पानी खोल्नेछौँ ।’

मन्त्री यादवले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै काठमाडौँमा पानीको हाहाकार भएको बेलामा स्थानीयहरूले पानी पठाउन अवरोध नगर्नेमा आशावादी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप