बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा कस्तो छ सडकको अवस्था ?

बुधबार, १६ असोज २०८१, १६ : ४३
बुधबार, १६ असोज २०८१

सुर्खेत । बिहीबारदेखि हिन्दु नेपालीहरूको  महान् चाड बडादसैँ सुरु हुँदैछ । दसैं मनाउनका लागि प्रदेश राजधानी वीरेन्द्रनगरबाट हजारौँ मान्छे बाहिरिन्छन् भने उत्तिकै मात्रा भित्रिने समेत गर्छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले मंगलबारदेखि नै मान्छेको आवत–जावत बाक्लिइसकेको बताए । तर कर्णालीमा मानिसहरू गाउँ फर्कन मिल्ने र सहज रूपमा सवारी साधन चल्ने सडक संरचनाबारे भने चिन्ता गर्नुपर्ने अवस्था छ । 

विशेषगरी कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला), सुर्खेत–दैलेख, भेरी करिडोर छिन्चु–जाजरकोट, सल्यान–रुकुम र मध्यपहाडी लगायतका प्रमुख राजमार्गहरूको अवस्था अविरल वर्षाका कारण राम्रो छैन । कर्णाली राजमार्गका अधिकांश ठाउँमा जताततै खाल्डाखुल्डी छन् । 

कर्णाली आफैमा सडक सुरक्षाको दृष्टिले ज्यादै संवेदनशील र जोखिमयुक्त छ । अझ वर्षाका कारण ठाउँ–ठाउँमा सडकको अवस्था बेहाल छ । 

पहिरो जाने बित्तिकै तत्काल पन्छाएर हटाउने बाहेक स्तरोन्नति र मर्मत भएका छैनन् । यदि दसैँसम्म पुनः ठुलो पानी परेपछि सडकको अवस्था बिग्रिने सम्भावना धेरै रहेको ट्राफिक प्रहरीको रिपोर्ट छ ।

प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हरि बिसीका अनुसार कर्णाली करिडोर, कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वर–दहिखोला र गगनेखोलादेखि कालिकोट खण्डको अवस्था निकै नाजुक छ । पानी परेको खण्डमा ती ठाउँमा पुन पहिरो जाने र लेदो बग्ने भएका आउने अनुमान उनको छ ।

यस्तै सल्यानको कपुरकोट खण्ड, भेरी करिडोरको शान्ति चौतारा खण्डमा समस्या आउने उनी बताउँछन् । 

‘पानी नपरे त खासै समस्या आउँदैन, पानी परेको खण्डमा यी ठाउँहरुमा पहिरो आउने, लेदो बग्ने हुँदा समस्या हुने देखिन्छ,’ उनी भन्छन्, ‘ती क्षेत्रहरूमा ट्राफिक व्यवस्थापन टाइट गर्ने काम भइरहेको छ ।’

प्रमुख राजमार्ग बाहेक गाउँका सडकहरूको अवस्था पनि उस्तै छन् । सडक सञ्जाल बनाउनका लागि स्थानीय पालिका, प्रदेश हुँदै सङ्घ सरकारले पहिलो प्राथमिकता दिँदै आएपनि ती सडकको स्तरोन्नति र सुरक्षा प्राथमिकता देखिएको देखिँदैन । जसका कारण दुर्घटना बढ्ने सम्भावना उत्तिकै छ ।

सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोप नारायण पौडेलका अनुसार कर्णाली राजमार्गका जोखिमयुक्त ठाउँलाई लक्षित गरेर डोजर (मेसिन), टिपरहरु तैनाथ गरिएको छ ।

दैलेख खण्डकाको राकम कर्णाली, डुङ्गेश्वरमा मेसिन राखिएको छ भने सुर्खेत–दैलेख सदरमुकाम सडक अन्तर्गत तालपोखरीमा अर्को मेसिन राखिएको छ । राजमार्गका खाल्डाखुल्डी, पहिरो आएको ठाउँलाई सम्याउने काम भइरहेको र उक्त काम दसैँअघिनै सकिने उनले रातोपाटीलाई बताए ।

राजमार्गलाई खाल्डारहित बनाएपछि दसैँको समयमा यात्रु र सवारी साधनहरूलाई केही राहत हुने उनको भनाइ छ ।

छिन्छु–जाजरकोट सडकमा जोखिम नरहेको उनले बताए । यदि पानी पर्दा पहिरो आएको खण्डमा पनि यात्रु अलत्र नगरिने गरी तयारी भइरहेको उनले बताए । ‘हामी स्थानीय सरकार सम्बन्धित नजिकका निकायहरूसँग समन्वय गरेर मेसिनहरू ‘स्ट्याण्डवाई’ राखिन्छन्,’उनले भने । 

ठुला राजमार्गमा केन्द्र सरकारले हेर्छ भने स्थानीय सडक स्थानीय तहले हेर्दै आएका छन् । बिचको प्रदेश सरकारको उपस्थिति कतै देखिँदैन । 

प्रदेश सरकार आफैले बनाएका सडकहरू समेत सञ्चालनमा ध्यान दिइरहेको छैन । राजधानी वीरेन्द्रनगरदेखि पश्चिम सुर्खेत जोड्ने मदन भण्डारी राजमार्गको अवस्था बेहाल छ ।  

प्रदेश सरकारले बनाइरहेको उक्त सडक समयमा नबन्दा पश्चिम क्षेत्रका नागरिकहरूले सास्ती भोगिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप