बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

कर्णालीमा चाडपर्व सुरक्षा योजना, ४ हजार ३५१ प्रहरी परिचालन

बुधबार, १६ असोज २०८१, १६ : २९
बुधबार, १६ असोज २०८१

सुर्खेत । कर्णालीमा दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना तयार गरिएको छ । प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना २०८१’ तयार गरेको हो । 

दसैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न उक्त योजना लागु गरिएका प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले बताए ।

चाडपर्व सुरक्षा योजना कार्यान्वयन गर्न÷गराउनका लागि प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयहरूबाट चार हजार ३५१ जना प्रहरीहरू परिचालन गरिएको छ । ती प्रहरीहरूलाई एक हजार ३२९ वटा ड्युटीमा खटाइएको हो ।

खटाइएका प्रहरीमध्ये चार हजार ९९ जना जनपद प्रहरी रहेका छन् भने २५२ जना ट्राफिक प्रहरी रहेका छन् ।

चाडबाडको समयमा जुवातास, मापसे गरी झै–झगडा, आपराधिक घटना, सवारी दुर्घटनाका घटनाहरू र बैंक तथा वित्तीय सङ्घ–संस्था लगायतका क्षेत्रहरूलाई लक्षित गरी चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, पाकेटमारी जस्ता आपराधिक गतिविधि निस्तेज र निरुत्साहित गर्न उक्त योजन तयार पारिएको भट्टराईले बताए ।

सुरक्षा योजना अनुसार १२ वटा प्रदेश तथा जिल्ला कमान्ड पोस्टहरूमा १४५ जना प्रहरी परिचालन गरिएको छ । यस्तै ४०१ प्रहरीको रिजर्भ टोली बनाइएको छ । 

उक्त टोली भवितव्य रूपमा कुनै घटना घटेको खण्डमा परिचालन गरेको प्रहरी जनशक्तिले नपुगेको खण्डमा रिजर्भ टोलीले सहयोग गर्छ । रिजर्भ टोली प्रदेशका विभिन्न १४ वटा ठाउँका राखिएको छ ।

यस्तै तीन वटा मातहत प्रहरी टोली बनाइएको छ । जसमा १४ जना प्रहरी जनशक्ति राखिएको छ । यस्तै ४८ वटा मोबाइल गस्ती टोली बनाइएको छ । जसमा २३४ जना प्रहरी खटाइएको छ ।

यस्तै प्रदेशभर १०२ ठाउँमा मोटरसाइकल गस्ती टिम बनाइएको छ, जसमा १५२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । १०९ स्थानमा क्युआरटी (क्वीक रेस्पोन्स टिम) बनाइएको छ । उक्त टिममा २४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । 

यस्तै २३३ वटा पैदल गस्ती टोली बनाइएको छ भने उक्त टोलीहरूमा ६३७ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । यस्तै लामो तथा छोटो दुरीको गस्ती १०० वटा बनाइएको छ । जसमा ३७७ जना प्रहरी खटाइएको छ । ११३ ठाउँमा पिकेट टोली बनाइएको छ जसमा २७६ प्रहरी परिचालन गरिएको छ ।

यस्तै स्ट्राईकिङ टोली ९ स्थानमा खटाइएको छ । त्यसमा ७६ प्रहरी परिचालन गरिएको छ । प्रदेशभित्रका महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरूको सुरक्षाका लागि १९८ प्रहरी परिचालन गरिएको छ । प्रहरीले त्यस्ता ४४ स्थानको पहिचान गरेर प्रहरी खटाएको हो । यस्तै बैंक, वित्तीय सङ्घ–संस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षा लगायतका अन्य स्थानमा समेत गरी १९८ स्थानहरूमा ७५० प्रहरी परिचालन गरिएको छ  ।

यस्तै ४२ प्रहरीलाई विभिन्न ठाउँमा सादा पोसाकमा खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । माइकिङ प्रचार प्रसारका लागि १७ वटा स्थानमा ४० जना प्रहरी खटाएको छ ।

प्रहरीले सडक सुरक्षालाई कडाइ र व्यवस्थित गर्ने प्रयास गरेको छ । प्रदेशभर १६२ वटा स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङको व्यवस्था मिलाइएको छ । ती चेकिङ स्थलमा २९० जना प्रहरी ट्राफिक प्रहरी खटाइएको छ । साथै ८५ ठाउँमा ट्राफिकसहितको चेकिङ गर्ने व्यवस्था थप मिलाइएको छ । ती ठाउँहरूमा १९९ प्रहरी खटाइएको छ ।

यस्तै यात्रुहरूको सहजताका लागि भनेर दसैँ, तिहार लक्षित ६० वटा यात्रु सहायता तथा नागरिक सहायता कक्षहरू स्थापना गरिएको छ । ती कक्षहरूमा १७२ जना प्रहरीलाई खटाइएको छ ।

‘कोही गाडी नपाएका, समस्यामा परेका यात्रुहरूका लागि सहजीकरणका व्यवस्था गर्न यात्रु सहायक कक्षले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ,’प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरि बिसीले भने । 

उनका अनुसार ७ स्थानमा ‘रि–फ्रेस’ सेन्टर राखिने छ । लामा दुरीका सवारी साधनहरू उक्त ठाउँमा रोक्न मिल्ने र गाडी र यात्रुहरूले आरा गर्न पाउँछन् । 

प्रदेश राजधानीमा मात्रै साढे ३ सय प्रहरी परिचालन

कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरको सुरक्षा योजना प्रहरीले निकै कडा बनाएको छ । सबैभन्दा धेरै जनसङ्ख्या भएको आपराधिक गतिविधिहरू बढ्न सक्ने आकलन गर्दै वीरेन्द्रनगरमा मात्रै साढे तीन सयको हाराहारीमा प्रहरी परिचालन गर्ने काम भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले रातोपाटीलाई बताए । उनका अनुसार सुर्खेत जिल्लाभर साढे ७ सय जनशक्ति खटाइने योजना हो, त्यसमा भ्यालीभित्र साढे तीन सय खटाइन्छ ।

जनशक्ति सुर्खेतमा कम भएकाले बाहिरबाट मगाइएको पनि उनले बताए । ‘हामीले सुरक्षा योजना नै बनाएर काम गरिरहेका छौँ,’उनले भने, ‘ठाउँ–ठाउँमा प्रहरी खटाइने, चेक प्वाइन्टहरुलाई चुस्त, दुरुस्त बनाउने काम भइरहेको छ । बाहिरबाट आउने जनशक्ति बिहीबारसम्म आइपुग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप