बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
विपद्‍

राष्ट्रिय शोकमा के गर्दैछन् राजनीतिक दलहरू ?

राजनीतिक, सांगठानिक गतिविधि ठप्प
बुधबार, १६ असोज २०८१, १५ : ०७
बुधबार, १६ असोज २०८१

काठमाडौँ । असोज ११ र १२ गतेको वर्षापछि मुलुकमा ठुलो जनधनको क्षति भएको भन्दै सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेयता राजनीतिक गतिविधिहरू ठप्प छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको थियो । सरकारको घोषणापछि मङ्गलवारदेखि बिहीबारसम्म झन्डा आधा झुकाउनेसहित तीन दिन राष्ट्रिय शोकको अवधिमा राजनीतिक गतिविधि ठप्प हुने भएका हुन् ।

बाढीपहिरो तथा डुबान प्रभावितहरूको राहत, उद्धार र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारले राष्ट्रिय शोकको घोषणा गरेसँगै दलहरूले पूर्वनिर्धारित सबै राजनीतिक काम स्थगित गरेर सामाजिक कामलाई प्राथमिकता दिएको दाबी गरेका छन् । यद्यपि राजनीतिक दलहरूले यस्तो दाबी गरेपनि प्रभावित क्षेत्रका नागरिकले सरकार वा कुनैपनि राजनीतिक दलले आफूहरूलाई सङ्कटमा परेका बेला पनि समयमै सहयोग नगरेको गुनासो आइरहेको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले यसअघि घोषणा गरेको सय दिने अभियान दसैँको कोजाग्रत पूर्णिमासम्मलाई स्थगित गरेर उद्धार, राहत र पुनर्स्थापनामा पार्टी पङ्क्ति परिचालन गरेको जनाएको छ ।

पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले सरकारको समन्वयमा प्रभावितको जीवनस्तर सामान्य बनाउन पार्टीपंक्ति परिचालन भएको बताए । उनले पार्टीले राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णयसहित आर्थिक र भौतिक सहयोगमा सहयोगमा पार्टी कमिटीहरू परिचालन गरिएको बताए ।

‘मुलुक राष्ट्रिय शोकको अवस्थामा छ । यस्तो अवस्थामा पार्टीका कामहरू स्थगित गरेका छौ । हामी केही दिनदेखि सय दिने अभियानमा थियौँ । तर सङ्कट आइपरेपछि स्थगित गरेर सामाजिक काममा पार्टीलाई केन्द्रित गरेका छौ’, डा. महतले भने,‘यद्यपि राहत र पुनर्स्थापनाको मूल काम सरकारले नै गर्ने हो ।’

उनले आफ्नो पार्टी समेत सरकारमा रहेकाले सरकारलाई राहत र पुनर्निर्माण कामलाई अघि बढाउन सरकारलाई घचघच्याइरहेको बताए ।

‘पार्टीको कार्यसम्पादन समिति र संसदीय दलको बैठक बसेर सरकारलाई प्रभावकारी काम गर्न आग्रह गरिसकेको छ’, उनले भने, ‘पार्टीका तर्फबाट केन्द्रसँगको समन्वयमा जिल्ला र स्थानीय प्रतिनिधिहरूलाई जिम्मेवारी पनि दिइसकेको छ ।’

पार्टीका तर्फबाट आ–आफ्नो ठाउँमा कसरी बढिभन्दा बढी सहयोग पुर्‍याउन सकिन्छ भनेर सांसददेखि कार्यकर्तासम्मलाई निर्देशनसहित परिचालन दिइसकेको महतको भनाइ छ । ‘पुनर्निर्माण र पुनर्स्थापना पार्टीलेमात्र गर्न सम्भव छैन त्यसकारण सरकारलाई सक्दो सपोर्ट गर्ने हो त्यो काम भइरहेको छ’ महत भन्छन्, ‘पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पनि सक्रियता देखाउन भनेका छौ ।’

एमालेका पोलिटब्युरो सदस्य एवं विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख खिमलाल भट्टराईले बाढीपहिरो र डुबानले आतङ्क मच्चाए लगत्तै पार्टी केन्द्रीय कार्यालय बैठक बसेर पार्टीको राजनीतिक सांगठानिकसहित विभिन्न शुभकामना आदानप्रदान जस्ता कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा पार्टी पङ्क्ति परिचालन गरिएको बताए ।

त्यसबाहेक उनले पार्टी सचिवालय र संसदीय दलको बैठक बसेर बाढीपहिरो र डुबान प्रभावितलाई राहतका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए ।

‘शोकको यो अवधिमा पार्टीका राजनीतिक सांगठानिक गतिविधि स्थगित गरेर बाढी प्रभावितहरूको सहयोगमा खटिएका छौ’, भट्टराईले भने, ‘सरकारसँगको समन्वयमा राहत र पुनर्स्थापनाका कामलाई प्राथमिकतामा राखेका छौँ ।’

उनले प्रभावित जिल्ला पहिचान गरेर पार्टी कमिटीका नेता कार्यकर्ताहरू पीडितसम्म पुगेर उनीहरूलाई तत्काल आवश्यक पर्ने काममा खटिएको बताए ।

‘उद्धार भन्दा पनि अव राहत पुनर्स्थापना जरुरी छ । घरबार नभएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न जरुरी छ’, भट्टराईले भने, ‘प्रभावित जिल्लाका कमिटीहरू जनसम्पर्कमा रहने, पीडित क्षेत्रमा पुग्ने र जनतालाई सहयोग गर्ने काम भइरहेको छ ।’

उनले पार्टीका स्थानीय कमिटीहरूलाई योजना बनाएर सोही अनुसार परिचालन हुन निर्देशन भएको भन्दै स्थानीय कमिटी परिचालन गर्दा प्रभावकारी हुने भएकाले यस्तो प्रक्रिया अपनाइएको बताए ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले निर्धारित कामहरू बाढीपहिरो प्रभावितहरूको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग गर्न मंगलबारबाटै आपत्कालीन सहयता कक्ष (हेल्प डेस्क) सुरु गरिसकेको छ ।

पार्टीको विपद् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदीको कमान्डमा केन्द्रमा विपद् व्यवस्थापन आपत्कालीन सहायता कक्ष स्थापना गरेको हो ।

त्यस्तै उपत्यकाका तीन जिल्लामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कमान्डमा अनुगमन टोली बनाइएर प्रभावितहरूलाई सहयोग गर्ने काम भइरहेको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । अध्यक्ष प्रचण्डको कमान्डमा खटिएका टोलीले बाढी प्रभावित क्षेत्रको जनताका वास्तविक समस्या, तत्काल गर्नुपर्ने काम, दीर्घकालीन रूपमा गर्नुपर्ने कामका बारेमा प्रभावित क्षेत्रका नागरिकसँग अन्तरक्रिया छलफल र सुझावहरू सङ्कलन काम सुरु भइसकेको माओवादीले जनाएको छ । ‘उद्धारका लागि पार्टी, जबस/मोर्चालाई परिचालन गरिएको छ । उपत्यका बाहिरका प्रभावित जिल्लामा पार्टी जबस/मोर्चाहरूलाई उद्धार र राहतका लागि खट्न निर्देशन दिएको छ’, ढकालले रातोपाटीसँग भने ।

सोही अनुसार अध्यक्ष प्रचण्डले मंगलबार काठमाडौँको नक्खु  र भक्तपुरको हनुमन्ते क्षेत्रका बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयका समस्या, गुनासा सुन्ने काम गरेका छन् ।

त्यस्तै माओवादीले प्रदेश इन्चार्जहरूको कमान्ड कन्ट्रोलमा स्वयंसेवक टिमहरू परिचालन गरेर क्षतिको विवरण सङ्कलन, प्रभावकारी ढङ्गले उद्धार राहत र पुनर्स्थापनाको काम गर्ने जनाएको छ ।

यसबाहेक माओवादीले दैवी प्रकोप राहत कोषमा प्रत्येक सांसदबाट १०/१० दिनको पारिश्रमिक सबै प्रदेशबाट सङ्कलन गरी केन्द्रीय राहत कोषमा पठाउने निर्णय गरिसकेको छ । यता संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बुधवार मात्रै बाढीपहिरोपछि देशमा भएको जनधनको क्षति र पार्टीले गर्नसक्ने सहयोग लगायतका कामबारे सामूहिक छलफल गरेको छ । पार्टी सभापति रवि लामिछानेले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सार्वजनिक रूपमा भेटघाट कार्यक्रम राखेर छलफल गरेका हुन् ।

सबैसँगको छलफलपछि पार्टीले प्रभावित नागरिकलाई राहत र पुनर्स्थापनामा पुर्‍याउन सक्ने सहयोगबारे ठोस निर्णय गरेर अघि बढ्ने नेता मनिष झाले जानकारी दिएका छन् ।

बुधबारसम्म बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ । नेपाल प्रहरीका अनुसार बाढी, पहिरो तथा डुबानमा परी २२८ जनाको मृत्यु भएको हो भने २५ जना बेपत्ता छन् । १९९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढिपहिरोबाट २१ जिल्ला प्रभावित भएकोमा काठमाडौँ, ललितपुर, धादिङ, काभ्रे, सिन्धुपाल्चोक सिन्धुली बढी प्रभावित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप