बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

गोलीकाण्डबारे गोविन्दासँग अस्पतालमा सोधपुछ, प्रहरी जवाफबाट असन्तुष्ट

बुधबार, १६ असोज २०८१, १४ : २५
बुधबार, १६ असोज २०८१

मुम्बई । मुम्बई प्रहरीले बुधबार अस्पताल पुगेर बलिउड अभिनेता गोविन्दासँग गोलीकाण्डको बारेमा सोधपुछ गरेको छ । ६० वर्षीय गोविन्दा मंगलबार खुट्टामा गोली लागेर घाइते भएका थिए ।

उनका अनुसार आफूसँग भएको रिभल्भर दराजमा राख्ने बेला गोली चलेको थियो । उनको खुट्टाको अपरेसन गरेर गोली निकालिएको छ । उनी हाल मुम्बईको क्रिटी केयर अस्पतालमा भर्ना छन् ।

जुहु प्रहरीले घटनाबारे प्रश्न गर्दा गोविन्दाले मिसफायर भएको कुरा दोहोर्‍याएका थिए । उनले रिभल्भर २० वर्ष पुरानो भएको पनि जानकारी दिएका थिए । यो घटना बिहान ४ः४५ बजे भएको थियो ।

यद्यपि, प्रहरी गोविन्दाको बयानबाट सन्तुष्ट छैन । प्रहरीले उनीसँग पुनः सोधपुछ गर्ने तयारी गरेको छ । प्रहरीले गोविन्दाकी छोरी टीना अहूजाको बयान पनि लिएको छ ।

यसैबिच गोविन्दाले अस्पतालबाट अडियो सन्देश जारी गरेका छन् । उनले भनेका छन्, ‘म तपाईँहरू सबैको आशीर्वादले ठिक छु । गल्तीले गोली चलेको थियो, जसलाई अपरेसन गरेर निकालिएको छ । डाक्टर र तपाईँहरू सबैलाई प्रार्थनाका लागि धन्यवाद दिन चाहन्छु ।’

गोविन्दाका म्यानेजर शशि सिन्हाका अनुसार उनी सो दिन कार्यक्रमका लागि कोलकाता जाँदै थिए । उनको उडान ६ बजेका लागि तय थियो । ‘दराजमा राख्दा रिभल्भर मिसफायर भयो र उहाँको खुट्टामा गोली लाग्यो । अहिले उहाँ खतरा बाहिर हुनुहुन्छ । आत्तिनुपर्ने कुनै कुरा छैन,’ सिन्हाले भने ।

गोविन्दालाई भेट्न अभिनेता तथा नेता शत्रुघन सिन्हा र निर्देशक डेविड धवन अस्पताल पुगेका छन् । त्यस्तै, गोविन्दाका भान्जा कृष्णाकी पत्नी कश्मीरा शाह पनि अस्पताल पुगेकी थिइन् ।

गोविन्दा गत मार्च २८ मा शिवसेना (शिन्दे गुट) मा प्रवेश गरेका थिए । कार्यक्रममा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे पनि उपस्थित थिए । 

उनी यसअघि सन् २००४ देखि २००९ सम्म राजनीतिमा थिए । सन् २००४ मा कांग्रेसको टिकटमा मुम्बई नर्थबाट लोकसभा चुनाव लडेका गोविन्दाले भाजपाका राम नाइकलाई ४८ हजार २७१ भोटले हराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप