बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
एभरेष्ट महिला भलिबल लिग

आज अपराजित कर्णाली र ललितपुरबिच रोचक भिडन्त

बुधबार, १६ असोज २०८१, १३ : ३८
बुधबार, १६ असोज २०८१

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’को तेस्रो दिन बुधबार तीनवटा खेल खेलिने भएको छ । तेस्रो दिनको पहिलो खेलमा दुई अपराजित टोली ललितपुर क्विन्स र कर्णाली यश्विज आपसमा भिड्दै छन् । खेल दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।

कर्णाली यश्विज र ललितपुर क्विन्सले आफ्ना अघिल्ला दुबै खेलमा प्रभावशाली प्रतिद्वन्द्वीहरुमाथि जित हासिल गरिसकेका छन् । यी दुवै टोली सन्तुलित छन् र लयमा पनि देखिएका छन् । त्यसैले बुधबारको खेलमा यी दुई अपराजित टोलीबिचको भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

ललितपुर क्विन्सले आफ्नो पहिलो खेलमा बलियो छिमेकी प्रतिद्वन्द्वी काठमाडौँ स्पाइकर्सलाई २५–२०,  २१–२५, २५–२१, २५–१९ अंकले हराएको थियो । ललितपुर क्विन्सले आफ्नो दोस्रो खेलमा भने मधेश युनाइटेडलाई २५–१५, २६–२४, २४–२६, २५–२३ अंकले पराजित गरेको थियो ।

यसैगरी, कर्णाली यश्विजले आफ्नो पहिलो खेलमा मधेश युनाइटेडलाई २५–१५, २५–२०, २६–२८, २५–११ अंकले पराजित गरेको थियो । कर्णाली यश्विजले आफ्नो दोस्रो खेलमा भने गण्डकी थन्डर्समाथि १५–२५, २५–२२, २५–१७, १९–२५, १५–१२ अंकको रोमाञ्चक जित हात पारेको थियो ।

यसैगरी, बुधबारको दोस्रो खेल काठमाडौँ स्पाइकर्स र गण्डकी थन्डर्सबिच खेलिने छ । उक्त खेल साँझ १७ः४५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा हालसम्मको नतिजालाई हेर्दा गण्डकी थन्डर्सभन्दा काठमाडौँ स्पाइकर्स तुलनात्मक रुपमा केही बलियो देखिएको छ ।

काठमाडौँ स्पाइकर्सले यसअघि खेलिएको दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ स्पाइकर्सलाई ललितपुर क्विन्सले हराएको थियो । उक्त खेलमा ललितपुर क्विन्स २५–२०,  २१–२५, २५–२१, २५–१९ अंकले विजयी भएको थियो ।

आफ्नो दोस्रो खेलमा मंगलबार काठमाडौँ स्पाइकर्सले बलियो प्रतिद्वन्द्वी चितवन शक्तिलाई २१–२५, २५–१०, २५–२२, २५–१७ अंकले पराजित गरेको थियो । गण्डकी थन्डर्स भने यसअघि आफूले खेलेको दुबै खेलमा पराजित भएको छ । गण्डकी थन्डर्सलाई पहिलो खेलमा पहिलो खेलमा चितवन शक्तिले र दोस्रो खेलमा कर्णाली यश्विजले हराएका थिए ।

यसैगरी, बुधबारको तेस्रो खेल चितवन शक्ति र मधेश युनाइटेडबिच खेलिने छ । उक्त खेल राति १९ः४५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा हालसम्मको नतिजालाई हेर्दा चितवन शक्तिभन्दा मधेश युनाइटेड केही कमजोर देखिएको छ ।

चितवन शक्तिले हालसम्म खेलेको आफ्नो दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । मधेश युनाइटेड भने आफूले खेलेको दुबै खेलमा पराजित भएको छ । चितवन शक्तिले आफ्नो पहिलो खेलमा गण्डकी थन्डर्सलाई २५–२२, १९–२५, २५–२३, २५–१८ अंकले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा चितवन शक्तिको टोली काठमाडौँ स्पाइकर्ससँग पराजित भएको थियो । उक्त खेलमा काठमाडौँ स्पाइकर्स २१–२५, २५–१०, २५–२२, २५–१७ अंकले विजयी भएको थियो । मधेश युनाइटेड भने पहिलो खेलमा कर्णाली यश्विज र दोस्रो खेलमा ललितपुर क्विन्ससँग पराजित भएको थियो ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिगका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सञ्चालन भइरहेको छ । महिला भलिबल लिगको पहिलो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीमा गण्डकी थन्डर्स, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, कर्णाली यश्विज र मधेश युनाइटेड रहेका छन् ।

सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा एक–आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने प्रावधान छ । प्रतियोगिताको फाइनल खेल असोज १९ गते खेलिने छ । फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।   

प्रतियोगिता इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गरेको हो । इन्फिनिटी ड्रिम्सले प्रतियोगिताका लागि नेपाल भलिबल संघसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग आयोजना गरेवापत इन्फिनिटीले संघलाई प्रत्येक वर्ष २५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप