हरि रोकाको ‘वैकल्पिक अर्थतन्त्र’लाई नियाल्दा...
हरि रोकाको वैकल्पिक अर्थतन्त्र हालै बजारमा आएको एउटा पढ्नुपर्ने पुस्तक हो । अलि ठुुलो आकार ४६९ पृष्ठको यो पुस्तकले विश्व र नेपालको अर्थतन्त्रबारे धेरै कुरा बोलेको छ । पाँच वर्षको प्रयासपछि प्रकाशनमा आएको यो पुस्तकमा लेखकका १२ वटा निबन्ध, प्रस्थानबिन्दु, परिचय, ६७ वटा टिप्पणीहरू समेटिएका छन् । ३९ नेपाली र २६७ जति अंग्रेजी सन्दर्भ सामग्रीले पुस्तक गहकिलो बनेको छ ।
पुस्तकका १२ अध्यायमध्ये सबैभन्दा सानो १०औँ अध्याय ‘नेपालमा कर प्रणालीको अर्थराजनीति’ १२ पृष्ठको छ भने सबैभन्दा लामो १२औँ अध्याय ‘कोरोना महामारीपछिको अर्थतन्त्र’ ५२ पृष्ठको छ ।
आठवटा अध्याय ३० देखि ४० पृष्ठभित्र रहेका छन् । बाँकी सातौँ अध्याय ‘औद्योगिक नीति’ २५ पृष्ठ र ११औँ अध्याय ‘वित्तीय संकट : कारण र परिणाम’ ४१ पृष्ठको छ । यो पुस्तकमा लेखकले शास्त्रीय, नवशास्त्रीय, किन्सियन, उदारवादी र नवउदारवादी अर्थशास्त्र; कोरोनाकालको अर्थतन्त्रबारे सैद्धान्तिक रूपमा तथ्यसहित राम्रो व्याख्या गर्नुभएको छ ।
पुस्तकमा बहुदलीय गणतान्त्रिक व्यवस्थामा नेपालले अपनाएको नवउदारवादको सविस्तार आलोचनात्मक विश्लेषण छ । विज्ञानले बताउँछ— विश्वमा दुई कुराको मात्र विकल्प छैन, समय (टाइम) र स्थान (स्पेस) बाहेक बाँकी सबै कुराको विकल्प छ । फ्रेडरिक हायक र मिल्टन फ्रायडम्यानका मुखौटा नवउदारवादका प्रवक्ता तथा कर्ता रहेका बेलायती पूर्वप्रधानमन्त्री मार्गेट थ्याचर र अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको टिना (देयर इज नो अल्टरनेटिभ) सिद्धान्तको जवाफ वैकल्पिक अर्थतन्त्र पुस्तकले दिएको छ ।
पुस्तकको पहिलो अध्याय वैकल्पिक आर्थिक नीति तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा (सन् २०१६) र दोस्रो अध्याय राज्य र अर्थतन्त्र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको (सन् २००५) लेखकको संवाद पढ्दा यो पुस्तक सन् २००१ मा साहित्यमा नोबेल पुरस्कार पाउने त्रिनिडाडका साहित्यकार भीएस नयपौलको चर्चित पुस्तक ‘इन्डिया ः ए मिलियन म्युटिनिज नाउ’ पुस्तकको ढाँचामा जान्छ कि जस्तो लागेको थियो तर निरन्तरतामा क्रमभङ्गता भयो ।
नयपौलले प्रत्येक अध्यायमा एउटा पात्र चयन गरेर पुस्तक परिष्कृत गरेका छन् । वैकल्पिक अर्थतन्त्र पुस्तक आफ्नै ढाँचामा अगाडि बढ्यो । तेस्रो विश्वमा विकास अवधारणा; नवउदारवादको उत्थान; आर्थिक ढाँचाबारे नेपाली बहस; वैकल्पिक आर्थिक ढाँचाका आधार; उदारवादी, नवउदारवादी राज्य; सम्पत्तिमाथिको अधिकार; समाजवाद उन्मुख राज्य; राज्य र अर्थतन्त्र; अर्थतन्त्रमा राज्यको भूमिका; उत्पादकका रूपमा राज्य; रोजगारदाताका रूपमा राज्य; नियमन कर्ताका रूपमा राज्य; कृषि, भूमि, भूमिसुधार, भूमि बैंक, सहकारी, औद्योगिकीकरण, औद्योगिक नीति, आर्थिक विकासका मोडल, पुँजी, मुद्रा, मौद्रिक नीति, मुद्रास्फीति, कर, कर–प्रणाली, मूल्य अभिवृद्धि कर, वित्त, वित्तीय संकट, कोरोनापछिको अर्थतन्त्रबारे पुस्तकमा विश्व र नेपालबारे वैचारिक बहस बृहत् रूपमा गरिएको छ ।
अर्थतन्त्र उत्पादन प्रणाली मात्र नभएर संस्कृति तथा चेतना अभिवृद्धिको एउटा सशक्त माध्यम हो । लेखकको अर्थतन्त्रबारे वैचारिक प्रतिबद्धताचाहिँ किन्सियन तथा समाजवादी धारको मिश्रण देखिन्छ ।
पुस्तक पढिसकेपछि मेरा केही ध्यानाकर्षण रहेका छन् । पुस्तकमा प्रयोग भएका विक्रम संवत् र ईस्वी संवत्को छ्यासमिसले पाठकलाई अलमल पार्छ । पुस्तकमा नेपाली र अंग्रेजी गरी ३०६ जति सन्दर्भ सामग्री छन् तर टेक्स्टमा भएका थप झन्डै ९० साइटेसन रेफरेन्स (सन्दर्भ सामग्री)मा समेटिएका छैनन् । यो शोधविधिमा ठुलो भूल मानिन्छ ।
धेरै साइटेसन र रेफरेन्सका मितिहरू फरक देखिएका छन् । पृष्ठ ७५ मा जिजेकको सन्दर्भमा पुस्तक प्रकाशन मिति सन् २०२९ अचम्मलाग्दो छ । साइटेसनमा थर पहिला राख्नुपर्नेमा नाम पहिला पनि परेका छन् । जस्तो ः रमेशकुमार (पृष्ठ १३८), रेफरेन्समा नेपाली वर्णविन्यास मिलेको छैन, रोका पछि रिजाल राखिएको छ, (पृष्ठ ४४५) । पृष्ठ २७७ को पाँचौँ हरफमा तल दिएको टेबलबाट प्रस्ट हुन्छ, लेखिएको छ तर टेबलचाहिँ छैन ।
नेपालमा आख्यान (फिक्सन) र पाठ्यपुस्तक त निकै प्रकाशित हुन्छन्, तर सिद्धान्त र नीति निर्माणबारेका पुस्तक बिरलै पाइन्छन्, त्यो खालि ठाउँ यो पुस्तकले केही पूरा गरेको छ ।
एउटै पुस्तकमा सबै कुरा समेट्न सम्भव छैन, तर पनि लेखकले नेपालको अर्थतन्त्रमा अहिले पाठकले चासो राख्ने सहकारीबारे अध्याय राखेजस्तो सेयर बजारबारे पुस्तकमा एउटा अध्याय राखिदिएको भए राम्रो हुने थियो । ‘क्रोनी क्यापिटालिजम्’बारे जानकार लेखकले केही लेखिदिनुभएको भए अझ राम्रो हुने थियो, यद्यपि नवउदारवादको विकृति नै ‘क्रोनी क्यापिटालिजम्’ हो ।
अध्याय ४ भूमिसुधार र नेपालमा भूमिसुधारको अर्थराजनीति र अध्याय ७ औद्योगिक नीतिका अन्तमा निष्कर्ष राखेझैँ बाँकी अध्यायहरूका अन्त्यमा पनि निष्कर्ष राखेको भए पुस्तकमा एकरूपता आउने थियो । नेपाली आर्थिक इतिहासको पुस्तकमा महेशचन्द्र (एमसी) रेग्मी कहीँकतै उल्लेख नहुनु मलाई अलि खट्किएको छ । पुस्तकमा दर्जन जति ‘टाइपो मिस्टेक’ छन् ।
पुस्तकको मूल्य १,१११ रुपैयाँ राखिएको छ, जसलाई नेपाली पाठकले महँगो ठानेका छन् । यो मूल्यमा पुस्तक हार्ड कभरको उपलब्ध हुनुपर्ने हो । म पुस्तक जतन गरी पढ्ने पाठक हुँ तर यो पुस्तकका केही पाना पढ्दापढ्दै खुस्किए अर्थात् पुस्तकको बाइन्डिङ कमजोर देखियो ।
२०३६ सालको विद्यार्थी राजनीतिबाट उदाएका हरि रोका नेपालको बुद्धिजीवी क्षेत्रमा स्थापित र सुपरिचित नाम हो । झन्डै ४५ वर्षको सक्रिय जीवनमा उहाँले राजनीति, अर्थनीति, समाजनीति, संस्कृतिबारे लेख्ने–बोल्ने गरिरहनुभएको छ । विभिन्न पत्रपत्रिका र फोरमहरूमा उहाँका लेख्ने–बोल्ने काम निरन्तर चलिरहेका छन् । पुस्तकका रूपमा ‘वैकल्पिक अर्थतन्त्र’ उहाँको पहिलो पुस्तक हो ।
सन् १९९० पछि कांग्रेसले समाजवादी लाइन छाडेर नवउदारवादको नीति अख्तियार गरेको, सन् १९९१ मा सोभियत संघको विघटनपछि एमाले समाजवादी नीतिबाट पलायन भएर संशोधनवादी लाइन बहुदलीय जनवादमा भासिएको, जनयुद्धको भाष्य त्यागेर सन् २००६ पछि माओवादी भ्रष्टीकरणमा लागेको, निष्कर्षमा भन्ने हो भने नेपालका संसदीय पार्टीहरू नवउदारवादका मतियार भएको पुस्तकमा धेरै उदाहरण सैद्धान्तिक रूपमा प्रस्तुत गरिएका छन् ।
नेपालमा आख्यान (फिक्सन) र पाठ्यपुस्तक त निकै प्रकाशित हुन्छन्, तर सिद्धान्त र नीति निर्माणबारेका पुस्तक बिरलै पाइन्छन्, त्यो खालि ठाउँ यो पुस्तकले केही पूरा गरेको छ । अर्थशास्त्रका विद्यार्थी मात्र होइन, नीति निर्माणकर्ता, राजनीतिकर्मी अर्थात् सम्पूर्ण सचेत नेपालीले पढ्नुपर्ने पुस्तक हो, वैकल्पिक अर्थतन्त्र । वैकल्पिक अर्थतन्त्र पुस्तकका लेखक हरि रोकालाई बधाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली किन पर्छन् पटकपटक विवादमा ?
-
मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका सरोजका परिवारले बुझे शव
-
तिहार मनाउने खर्चको जोहो गर्न राउटे पोखरामा
-
भारतीय सेना प्रमुख द्विवेदीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्दै
-
पार्टीप्रति आक्रोश बढेको रास्वपाको निष्कर्ष : कस्तो हो आन्दोलनको नयाँ स्वरूप ?
-
भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज