बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

कप्तानको जिम्मेवारीबाट बाबर आजमको राजीनामा

बुधबार, १६ असोज २०८१, ११ : ३८
बुधबार, १६ असोज २०८१

काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान बाबर आजमले राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा दिएका छन् । ३० औँ वर्ष प्रवेशको संघारमा रहेका बाबर आजमले एक दिवसीय र टी–२० टोलीको कप्तान पदबाट राजीनामा दिएका हुन् ।

उनले आफ्नो ध्यान ब्याटिङमा केन्द्रित गर्न कप्तान पदबाट राजीनामा दिएको बताएका छन् । उनले दोस्रो पटक पाकिस्तानी टोलीको कप्तान पदबाट राजीनामा दिएका हुन् । यसअघि पनि उनले एकपटक कप्तान पदबाट राजीनामा दिएका थिए ।

तर, त्यसको केही समयपछि नै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उनलाई पुनः एक दिवसीय र टी–२० टोलीको कप्तान बनाएको थियो । यस पटक कप्तान पदबाट राजीनामा दिँदा उनले आफूमाथि कामको बोझ बढी भएको दाबी गरेका छन् ।

बाबर आजमले बुधबार आफूले कप्तानको जिम्मेवारी छाडेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । त्यसैले उनको आलोचना पनि हुँदै आएको छ ।

‘पाकिस्तानी टोलीको कप्तानको जिम्मेवारी निर्वाह गर्न पाउनु मेरा लागि गर्वको विषय हो । तर, अब यो जिम्मेवारीबाट बिदा लिएर म आफ्नो सम्पूर्ण ध्यान आफ्नो ब्याटिङमा केन्द्रित गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप