बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

नेपाली टोलीको क्यानडा भ्रमण : निरन्तर निराशाजनक नतिजा, आज ओमानविरुद्ध ओर्लँदै

बुधबार, १६ असोज २०८१, १० : ०४
बुधबार, १६ असोज २०८१

काठमाडौँ । हाल क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बुधबार राति त्रिकोणात्मक टी–२० शृङ्खलामा आफ्नो अन्तिम खेल खेल्दै छ । नेपाली टोलीले अन्तिम खेलमा ओमानको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ ।

क्यानडा भ्रमणका क्रममा आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको नेपाली टोलीले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा पनि आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिइरहेको छ ।

आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ को आफ्नो दोस्रो शृङ्खलामा नेपाली टोलीले एक जित पनि हासिल गर्न सकेको थिएन । शृङ्खलाको एक खेल वर्षाका कारण अनिर्णीत रूपमा टुङ्गिएकाले नेपाली टोली एक अंक भने हात पारेको थियो ।

लिग–२ प्रतियोगिताका लागि करिब दुई महिना लामो भ्रमणमा निस्कनुअघि नेपाली टोली एकदिवसीय खेलमा क्यानडासँग कहिल्यै पराजित भएको थिएन । तर, यो भ्रमणका क्रममा नेपालले क्यानडासँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय र दुई टी–२० अन्तर्राष्ट्रिय गरी चार खेलमा हार भोगिसकेको छ ।  

लिग–२ शृंखलालगत्तै खेलिएको टी–२० अन्तर्राष्ट्रियको आफ्नो पहिलो खेलमा नेपाली टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । क्यानडाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रियमा पनि नेपाली टोली चार विकेटले पराजित हुन पुग्यो ।

आफ्नो दोस्रो टी–२० अन्तर्राष्ट्रियमा भने नेपाली टोलीले ओमानलाई ३७ रनले हराएको थियो । जारी शृङ्खलामा नेपाली टोलीको प्रदर्शन निकै निराशाजनक देखिएको छ । खासगरी नेपाली टोलीको ब्याटिङ निकै फितलो देखिएको छ ।

जारी शृङ्खलामा आफ्नो ब्याटिङ चलेको खेलमा नेपाली टोली पराजित भएको छैन । नेपालले ओमानविरुद्धको टी–२० मा ब्याटिङमा केही सुधार गर्दै ६ विकेट गुमाएर एक सय ७६ रनको सम्मानजनक स्कोर बनाएको थियो । त्यो खेलमा नेपाल विजयी पनि भएको थियो ।

क्यानडाविरुद्धको दुबै टी–२० अन्तर्राष्ट्रियमा त नेपाली टोलीले एक सय ४० रनसम्म पनि बनाउन सकेन । ब्याटिङसँग जारी शृङ्खलामा नेपाली टोलीको बलिङ र फिल्डिङ पनि खासै प्रभावकारी देखिएको छैन । यसअघि नेपालको अधिकांश खेलमा बलिङ निर्णायक बन्ने गरेको थियो । तर, जारी शृङ्खलामा बलिङतर्फ पनि नेपालले कुनै कमाल गर्न सकेको छैन ।

टी–२० भन्दा पनि नेपाली टोलीका लागि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।  

तर, नेपाली टोलीले लिग–२ को दुईवटा शृङ्खला खेलिसक्दा एउटामात्र जित हासिल गर्न सकेको छ । क्यानडा भ्रमण लगत्तै नेपाली टोली लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्न अमेरिका प्रस्थान गर्नेछ । अमेरिका भ्रमणका क्रममा तेस्रो टोलीका रूपमा स्कटल्यान्ड सहभागी हुनेछ ।

पछिल्लो समय अमेरिका र स्कटल्यान्ड दुबै टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । त्यसैले अमेरिकामा हुने लिग–२ शृङ्खलाअघि नेपाली टोलीको प्रदर्शनमा चमत्कारिक सुधारको आवश्यकता देखिन्छ ।

लिग–२ अन्तर्गत क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) द्वारा घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

देब खनाल पनि रिजर्भ खेलाडीका रूपमा क्यानडा प्रस्थान गरेका छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश गरिएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाउँदा जगत नै टोलीका प्रमुख प्रशिक्षक थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप