बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडा–काठमाडौँ जोड्ने मुख्य सडकहरू ठप्प

घटस्थापनासम्म सञ्चालनमा ल्याउने तयारी छ : पोखरेल
मङ्गलबार, १५ असोज २०८१, २२ : ०४
मङ्गलबार, १५ असोज २०८१

हेटौँडा । हेटौँडा–काठमाडौँ जोड्ने मुख्य सडकहरू सबै ठप्प छन् । वैकल्पिक रूपमा ग्रामीण सडकको प्रयोग गरेर हेटौँडा–काठमाडौँ यातायात सञ्चालन गरिएको पनि मुख्य मार्गहरू भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

विशेषगरी महेन्द्र राजमार्गमा सवारी चापका कारण यात्रा निकै असहज छ । लामो दुरी पर्ने र गत शनिबार भएको क्षतिले सो सडकको यात्रा असुरक्षित पनि उतिकै छ । सो सडक खण्डमा कति बेला कुन स्थानमा पहिरो खस्ने र जाम पर्ने भन्ने टुंगो छैन ।

त्रिभुवन राजपथ पनि पूर्णरुपमा खुल्न सकेको छैन । मकवानपुर तर्फको पहिरो पन्छाएर सडक खुलाएपनि धादिङतर्फ भने सडक बन्द नै छ । यि दुई सडकको विकल्पको रूपमा रहेको हेटौँडा काठमाडौँका छोटो दुरीको मार्गहरूको प्रयोग हुँदै आएको थियो ।

शनिबारको वर्षासँगै आएको बाढी र पहिरोले छोटा दुरीका सबै सडकहरूमा क्षति पुगेको छ । सडकमा क्षति हुँदा छोटो दुरीको कान्ति लोकपथ, राजधानी मार्ग (हेटौँडा भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ), कुलेखानी फाखेल काठमाडौँ, कुलेखानी फाखेल मातातिर्थ सडक गणेशमान मार्ग ठप्प छ ।

पछिल्लो समय बढी प्रयोग हुँदै आएको राजधानी मार्ग र फाखेल सडक वर्षाका कारण बढी क्षति भएको छ । सो सडकको विभिन्न स्थानमा पहिरो खसेको छ भने केही भाग सडक नै बगाएको छ । सो सडकको काठमाडौँतर्फ भएका पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ भने मकवानपुरतर्फ फाखेल हुँदै महालक्ष्मी खोलासम्म सडक मर्मत गरिएको छ ।

हुमानेबाट महालक्ष्मी खोलासम्म केही स्थानमा पहिरो खसेको र केही स्थानमा निर्माण हुँदै गरेको सडकको बेस बगाएको थियो । सो खण्डलाई मर्मत गरेर काठमाडौँबाट महालक्ष्मी खोलासम्म सडक सञ्चालन हुन सक्ने अवस्थामा रहेको छ । सो सडक खण्डको समस्या कलेखानी जलाशय तल र महालक्ष्मी खोलाको कटान हो । जहाँ सडकको केही भाग नै बगाएर खोलाले आफ्नो क्षेत्र कायम गरेको छ ।

फाखेलमा २०० मिटर सडकमा खोला बग्दै

वर्षाका कारण कुलेखानी फाखेल काठमाडौँ सडक तत्काल खुल्ने अवस्था छैन । वर्षाका कारण सो सडक खण्ड अन्तर्गत कुलेखानी जलाशयको पानी निकास हुने पुलमा क्षति पुगेको छ ।

उक्त सिमखोला पुल जोगिए पनि पुलसम्म पुग्ने पहुँच मार्ग भने बगाएको छ । यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक पुस्कर प्रसाद पोखरेलका अनुसार सो स्थानमा सिमखोलाको पुलको स्पान जति नै एप्रोच रोड बाढीले बगाएको छ । कुलेखानी जलाशयको पानी पुल मुनीबाट नगइ बेगमा पहुँच मार्गबाट बग्दा १०० मिटर सडकमा क्षति पुगेको छ । सो स्थानमा बुधबारबाट पहुँच मार्ग निर्माणको काम थालिने उनले बताए ।

मंगलबार नै सो स्थानमा पहुँच मार्ग निर्माण गर्ने तयारी रहेपनि भीमफेदी अगाडि सुख्खा पहिरो खस्दा काम हुन नसकेको उनले बताए । मंगलबार दिनभर उक्त पहिरो हटाउने काम भएको र त्यस स्थानमा २ वटा जेसिबी मेसिन प्रयोग गरिएको उनले बताए । सो स्थानको पहिरो पन्छाएपछि हेटौंडाबाट भैसे भीमफेदी सडक खण्डमा कुनै अवरोध नरहेको उनको भनाई छ । भीमफेदीदेखि कुलेखानीसम्मको खण्डमा आइतबार र सोमबार नै सडकका पहिरो पन्छाएकाले सहजै कुलेखानी पुग्ने अवस्था रहेको उनले बताए ।

पोखरेलका अनुसार सडक मर्मतको सबैभन्दा जटिल स्थान महालक्ष्मी खोलाको कटान क्षेत्रमा रहेको छ । सो खण्डमा २०० मिटर सडकमा खोला बगिरहेको छ । महालक्ष्मी खोलाको पुल माथि र तल (दुवै) खण्डमा सडक कटान गरिएको उनले बताए । सो सडक मर्मतका लागि केही समय लाग्ने उनले बताए ।

सडक कटान भएका खण्डमा मंगलबारबाट काम थालिएको उनले बताए । २०० मिटर सडक बगाएको स्थानमा पहिलेकै अवस्थामा ट्रयाक कायम गरी अस्थायी रूपमा प्रयोगमा ल्याउने तयारी रहेको उनले बताए । सो खण्ड निर्माणाधीन ठेक्का अन्तर्गत नै रहेकाले निर्माण व्यवसायीको मेसिन र अन्य थप मेसिन प्रयोग गरेर काम भइरहेको उनले बताए । ४÷५ वटा मेसिनको प्रयोग गरेर भासिएका सडक पुर्ने र कटान भएका सडकमा ट्रयाक कायम गर्नेगरी काम भइरहेको उनले बताए । सो स्थानमा ढुंगा भर्ने र ग्याभिन वाल लगाएर सडक निर्माण गर्ने तयारी रहेको उनले बताए ।

सडकमा थप क्षति नभएको खण्डमा आगामी घटस्थापनासम्ममा सडक सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । दसैँलाई लक्षित गरेर उक्त सडक मर्मत गरी सञ्चालनमा ल्याउने तयारी रहेको निमित्त निर्देशक पोखरेलले बताए । हाल सडक बगाएको स्थानमा फिलिङ गर्ने काम सुरु भएको र कुलेखानीमा तारजाली भरेर पहुँच मार्ग निर्माण गरेसँगै सम्पूर्ण टिम महालक्ष्मी खोलाको सडकमा लगाउने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप