मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

बाढी पीडितलाई तत्काल राहत र क्षति भएका संरचना पुनर्निर्माण गर्ने निर्णय

मङ्गलबार, १५ असोज २०८१, २१ : १९
मङ्गलबार, १५ असोज २०८१

रौतहट । रौतहटको नदी तथा खोलाहरूमा आएको बाढीले प्रभावित भएकालाई तत्काल राहत दिनुका साथै र क्षतिग्रस्त भौतिक संरचनाहरूको मर्मत तथा पुनर्निर्माण गर्ने निर्णय गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको संयोजकत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा उपस्थित राजनीतिक दलका नेता, जनप्रतिनिधि र सञ्चारकर्मीहरूलाई  बाढीबाट पुगेको क्षति र हालको अवस्था र अगामी चाल्नुपर्ने कदमका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी गराएका थिए। बाढीबाट प्रभावितहरूको उद्धार, क्षति तथा राहत बारे र बाँधलाई मर्मत तथा ठोस रूपमा निर्माण र स्तरोन्नति गर्ने लगायतका विषयहरूमा छलफल भएको थियो।

जिल्लाको सम्पूर्ण पालिकाले आआफ्नो विषयगत संयोजन स्थानीय प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायत सम्बन्धित कार्यालयको प्रतिनिधि राखेर नगर क्षेत्र भित्र अविरल वर्षासँगै आएको बाढीले भएको मानवीय, भौतिक सम्पत्ति, पशुपन्छीको क्षति यकिन गरी ७ दिनभित्र विवरण पठाउने निर्णय गरिएको छ।

त्यस्तै महामारी फैलन नदिने, विस्थापित लाई स्थापित गराउने, भौतिक पूर्वाधारमा भएको क्षतिको तत्काल मर्मत तथा निर्माण गराउन पहल गरिने निर्णय गरिएको छ।

अविरल वर्षा बाढी पूर्वको जस्तो जिल्लाको सबै क्षेत्र सामान्य अवस्थामा ल्याउन आआफ्नो स्थानबाट व्यक्तिगत या संस्थागत पहल गर्नुपर्ने आवश्यकता रहेको सहभागीहरूले आत्मसात् गरेका थिए।

बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालय हाल बारा परवानीपुरमा रहेकाले विपद्को समयमा प्रभावकारी भूमिका खेल्न नसकेको ठहर गर्दै कार्यालय रौतहटमा ल्याइनु पर्ने निर्णय गरिएको छ। त्यस्तै राहत तथा उद्धारका लागि बिल भरपाईको आधारमा जिल्लाको प्रत्येक पालिकालाई जिल्ला प्रशासन कार्यालय रौतहटले २ लाखको दरले उपलब्ध गराउने निर्णय भएको प्रजिअ रेग्मीले जानकारी दिएका छन्। 

त्यस्तै केही समय अघि चितवन सिमलतालमा गौरको बस त्रिशूली नदीमा बेपत्ता भएको घटनामा पीडित परिवार लाई हालसम्म ५२ लाख राहत उपलब्ध गराइएको बैठकले अनुमोदन गरेको थियो।

अविरल वर्षासँगै जिल्लाको विभिन्न नदी खोलामा आएको बाढीले दुई जनाको मृत्यु भएको थियो। त्यस्तै जिल्लाभरिका ५५ सय ९५ मानिस तत्काल विस्थापित हुनुका साथै झन्डै साढे तीन हजार बिगाहा क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङ्कमा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप