मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

कहाँ कस्तो छ सवारी आवागमनको अवस्था ?

मङ्गलबार, १५ असोज २०८१, २० : ५९
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । काठमाडौँ उपत्यका स्थित नयाँबसपार्कबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दुरीका सवारी साधन गोंगबु, स्वयम्भू, कलंकी, नैकाप, गुर्जुधारा, नागढुंगा, चिसापानी र झ्याप्लेखोला क्षेत्रमा सवारी साधन क्युमा चलिरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । साँझ ८ बजेको अपडेट अनुसार क्यु रहेको  स्थानमा  ट्राफिक प्रहरीले आवागमन सहज बनाउने  प्रयास गरिरहेको छ । 

ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले आज पनि सवारी आवागमन बन्द भएको छ । विभिन्न स्थानमा खसेको पहिरोको कारण बिपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवतजावत पनि प्रभावित भएको छ । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ । 

काभ्रेपलाञ्चोकको विभिन्न स्थानहरुमा रोशी खोलाले सडक कटान गरेका कारण विपि राजमार्ग केही दिन अगाडीबाट पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । 

रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउँदा खुर्कोट- मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रूपमै रोकिएको छ । सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ । 

मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलि ब्रीज बाढीले बगाउँदा आवत -जावत रोकिएको छ ।

महेन्द्र राजमार्ग अन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्डमा आज रातभर सवारी आवागमन पूर्ण रूपमा रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले सूचना प्रकाशित गर्दै आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बर्दघाट बजारदेखि दाउन्नेसम्म आवागमन पूर्ण रूपमा रोकिने जनाएको छ । 

राजमार्गमा पर्ने बर्दघाट नगरपालिका ४ दाउन्ने जंगलको खुर्साने खोलामा रिटेनिङ वाल भत्किनुका साथै करिब ४ मिटर सडक पनि भासिएको छ । सडक मर्मत गरी सहज आवातजावातका लागि आज रातभर सवारी साधनको सञ्चालन रोकिने जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ । उक्त समयमा अत्यावश्यक सवारी साधन भने चल्न पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप