बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसदीय दलको बैठक

कांग्रेस संसदीय दलको बैठकमा आफैँ सहभागी सरकार र प्रधानमन्त्रीको आलोचना

चाडपर्वमा जनतालाई घर लैजान नसके अर्को विपत्ति
मङ्गलबार, १५ असोज २०८१, २० : ३०
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बोली’देखि बाढी पहिरोको विपदमा सरकार असफल भएको विषय उठेको छ ।

मंगलबार सङ्घीय संसद्को ल्होत्से हलमा भएको दलको बैठकमा सांसदहरूले विपदको बेलामा उद्धार कार्यमा सरकार चुकेको भन्दै आलोचना गरे ।

बैठकमा सांसद राजन केसीले विपदमा आफ्नै दलको गृहमन्त्री असफल भएको बताए । बैठकमा सहभागी एक सांसदका अनुसार सिंहदरबार नजिकै रहेको नख्खुमा जनता बाढीमा फस्दा सरकारको उपस्थिति किन भएन भन्दै केसीले प्रश्न गरेका थिए ।

‘राजनजीले बाढी पहिरोको उद्धारमा सरकार चुकेको र सरकारी संयन्त्रको भौतिक उपस्थिति हुन नसकेको भन्दै गृहमन्त्रीको आलोचना गर्नुभयो,’ ती सांसदले भने, ‘नख्खुमा किन त्यस्तो भयो ? डोरी र डुङ्गा लिएर समयमा सरकार किन पुगेन भन्दै उहाँले प्रश्न गर्नुभयो ।’

बैठकमा सांसद नारायण खड्काले चाडपर्वको मुखमा जनतालाई घर लैजाने प्रबन्ध गर्न नसके अर्को विपत् आइपर्ने चेतावनी दिएका थिए ।

‘दसैँ आउन लाग्यो । यहाँबाट मानिसहरू घर जान चाहन्छन्,’ खड्काको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘बाटोको अवस्था यस्तो छ । जनतालाई घर पुर्‍याउन सकिएन भने अर्को विपत् आइपर्छ । यसतर्फ सरकारले ध्यान दियोस् ।’

आजको बैठकमा प्रमुख सचेतक श्याम घिमिरेले एजेन्डा प्रस्तुत गरेका थिए । त्यसपछि गृहमन्त्री रमेश लेखकले विपदबारे ब्रिफिङ गरेका थिए । अनिमात्र सांसदहरू बोलेका थिए ।

बैठकमा सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमाथि प्रश्न उठाएका थिए । अमेरिकाबाट नेपाल फर्किएपछि ओलीले जे मनमा लाग्यो त्यही बोल्दै हिँडेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्री ओलीको बोली जथाभाबी भयो । उहाँको प्रत्येक बोलीको जिम्मेवारी हामीले लिनुपर्छ । उहाँ स्वदेश फर्कने बित्तिकै के बोलेको ? यो ठिक भएन भनेर शंकरजीले भन्नुभयो,’ ती सांसदले थपे ।

गृहमन्त्रीको रक्षात्मक जवाफ

बैठकमा गृहमन्त्री रमेश लेखकले रक्षात्मक भएर जवाफ दिएका थिए । उनले नख्खु घटनालाई मात्र लिएर सरकारले गरेका समग्र कामहरू मूल्याङ्कन गरिनु गलत भएको जवाफ दिएका थिए ।

बैठकमा सहभागी अर्का सांसदले लेखकको भनाइ उद्धृत गर्दै भने, ‘हामीले ३३ प्रतिशत उच्च जोखिममा भएका जनताको उद्धार गरेका हौँ । समयमै उद्धार नभएको भए ठुलो क्षति हुने थियो । नख्खुलाई मात्र देखाएर सरकारको आलोचना गर्नु राम्रो होइन ।’

गृहमन्त्री लेखकले सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरेको भन्दै तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानी आवास बनाउने व्यवस्था मिलाइएको जिकिर गरेका थिए । क्षतिग्रस्त संरचनाको मर्मत गरी सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको उनले बैठकमा जानकारी दिए ।

गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर मंगलबार नै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको बताए । यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको उनले दाबी गरे ।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको उनको भनाइ थियो । ‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यति बेला नेपाली सेनाले हेलिकप्टर उडाउने भिजिबिलिटी नभएको मलाई बताउनु भएको थियो । एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो । प्रहरीले सहयोग नगरेको भन्ने होइन,’ उनले भने, ‘चार हजारभन्दा बढी मानिसको सरकारले उद्धार गरेको छ । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुँदैन ।’

यी हुन् बैठकको औपचारिक निर्णय

– यही असोज १२ र १३ गतेको अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परेर केही दिन यता कयौँको मृत्यु, दर्जनौँ घाइते र बेपत्ता भएको घटनाले हामीलाई दुःखी तुल्याएको छ । यस दुःखद् घटनाप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै दिवङ्गतहरूको आत्माको चिर शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । बेपत्ता रहेका नागरिकहरूको खोजीमा तीव्र ढङ्गले हर सम्भव प्रयास गर्न सरकारसँग यो बैठक जोडदार माग गर्दछ । 

– कयौँ नागरिक अझै पनि देशका विभिन्न भागमा उद्धार को प्रतीक्षामा रहेका छन् । त्यसै गरी गन्तव्यका लागि हिँडेका यात्रुहरू बिच बाटोमा अलपत्र परेका समाचार समेत आइरहेका छन् । अतः सरकारले आफ्नो सम्पूर्ण संयन्त्र तीव्र गतिमा परिचालन गरी उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ । 

–प्राकृतिक प्रकोपले कैयन ठुला–साना सडक अवरुद्ध भएका छन् । कयौँ पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । चाडपर्वहरूमा घर जान चाहने नागरिकको चाप बढ्ने छ । अतः अवरुद्ध सडकहरूको मर्मत सम्भारको कार्य तीव्र गतिमा अघि बढाइ सम्भव भएसम्म अस्थायी रूपमा वैकल्पिक मार्गको समेत व्यवस्था गरी नागरिकहरू दसैँमा घर जानसक्ने अवस्था निर्माण गर्नको लागि यो बैठक नेपाल सरकारसँग अनुरोध गर्दछ । साथै खानेपानी, स्वास्थ्य संस्था, विद्यालय एवं प्रहरी चौकी जस्ता क्षतिग्रस्त अति आवश्यक भौतिक संरचनाहरू तत्काल पुनर्निर्माणका लागि सरकारसँग आग्रह गर्ने निर्णय गर्दछ ।

– सडक मार्गहरूको खराब अवस्थाको कारण हवाई मार्गमा पर्न जाने चापलाई मध्यनजर राखी हवाई भाडा दरलाई न्यूनतम दरमा कायम राख्न हवाई सेवामा आवश्यक सहुलियत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय गर्दछ । साथै सडक यातायातको भाडा दर पनि वृद्धि नगरी यथावत् कायम राख्न र चाडबाडको समयमा बजारमा हुने  अस्वाभाविक मूल्यवृद्धि प्रति सरकारलाई सचेत गराउँदै आपूर्ति व्यवस्थालाई सुव्यवस्थित गर्न सरकारसँग माग गर्ने निर्णय गर्दछ ।  

– नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको मिति २०८१ असोज १३ गते बसेको बैठकले राहत व्यवस्थापन गर्न नेपाली कांग्रेस सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सबै माननीय सदस्यहरूको १५ दिनको पारिश्रमिक कट्टा गरी नेपाल सरकारलाई प्रदान गर्ने गरेको निर्णयलाई यो बैठक अनुमोदन गर्दछ । साथै बाढी पहिरो पीडितहरूको राहत र उद्धार कार्यमा सबै सङ्घीय सांसदहरू आ–आफ्नो क्षेत्रबाट पूर्णरुपमा संलग्न रही सहयोग गर्ने निर्णय गर्दछ ।

– बाढी पहिरोको कारण भएको अन्नबालीको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन एवं नदी कटान भएको स्थानमा नदी नियन्त्रण कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्ने निर्णय गर्दछ ।

– इजरायल र लेबनानबिच सुरु भएको युद्धबाट लेबनानमा रहेका नेपालीहरू पनि जोखिममा रहेका हुँदा उनीहरूको सुरक्षा र इच्छुकहरूको सकुशल स्वदेश फिर्तीको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप