बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
समिति बैठक

विपद‍्मा सरकार चुकेपछि कांग्रेसकै सांसद आक्रोशित : गृहमन्त्रीमाथि प्रश्नै प्रश्न

मङ्गलबार, १५ असोज २०८१, २० : १५
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा सत्तारुढ दल कांग्रेसकै सांसदहरूले सरकारको काम कारबाहीको आलोचना गरेका छन् ।

गृहमन्त्री रमेश लेखक उपस्थित बैठकमा सरकारको कार्यशैलीमाथि र मन्त्री लेखकले दिएका अभिव्यक्तिबारे सांसदले प्रश्न उठाएका हुन् ।

बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बाढीबाट काठमाडौँमै ३७ जनाको ज्यान जानु, चार घण्टासम्म पनि बाढीमा फसेर टिनको छानामा चढेका व्यक्तिको उद्धार गर्न नसक्ने कस्तो सरकार हो भन्दै प्रश्न गरे ।

केसीले बाटोघाटो बिग्रिएको बेला हवाई जहाजले ३ गुणा भाडा बढाएको तर सरकारले ध्यान नदिएकोमा आपत्ति जनाए । उनले भने, ‘यस्तो विपत्तिको बेला कमाउने मौका भनेर लाग्ने ? व्यापारीले आफूखुसी तजबिजी गर्ने, यस्तोमा राज्यको आँखा पर्दैन ?’

उनले विदेशबाट प्रधानमन्त्री केपी ओलीको सवारी भन्दै विमानस्थल बन्द गराएको विषयमा पनि आपत्ति जनाए ।

एमाले सांसद रघुजी पन्तले अन्धाधुन्ध विकासले विपत्तिका घटना भइरहेको बताए । नख्खुमा भिजिबिलिटीका कारण उद्धारमा कठिनाइ भएको बताएको सरकारले क्षमता बढाउन के सोचिरहेको छ भन्दै उनले प्रश्न गरे ।

पन्तले भने, ‘भिजिबिलिटी हुने हेलिकप्टर ल्याउनुपर्‍यो । पहाडी भेगमा प्राकृतिक प्रकोपका घटना बढेको छ, यसमा तयारी के छ ? पर्याप्त तयारी देखिएन ।’

उनले अहिलेको आपत्कालीन अवस्थामा विमानको भाडादर न्यूनतम गर्न र  विपतमा निजी हेलिकप्टरलाई पनि प्रयोग गर्न आग्रह गरे । यस्तै बन्द भएका राजमार्गका बाटो बेलिब्रिज हालेर भए पनि खुलाउन उनले आग्रह गरे ।

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले असोज ११ र १२ गते रात्रिबस नचलाउने भन्दा पनि किन बस चलाउन दिइयो भन्दै प्रश्न गरे । उनले झ्याप्ले खोलामा रात्रिबस पहिरोले पुरिने अवस्था कसरी बन्यो, सुरक्षित ठाउँमा राख्ने काम किन गरिएन ? भन्दै प्रश्न गरे ।

सरकारको विपद् व्यवस्थापन प्राधिकरणले ठुलाठुला बैठक गर्ने तर झ्याप्ले खोलामा स्वयंसेवकले लाइफ ज्याकेटसमेत नपाएको  गुनासो गरेको उनले बताए ।

पाण्डेले भने, ‘झ्याप्ले खोलामा अझै जोखिमको अवस्था छ । त्यसको विकल्पमा सितापाइलादेखि धार्के जाने बाटोमा चारपाङ्ग्रे सवारी लैजान सकिन्छ । त्यसका लागि पाँच सय मिटर सडक मर्मत गर्नुपर्ने हुन्छ । अर्को सितापाइला–गल्छी बाटो पनि छ । यतातिर ध्यान दिन आवश्यक छ ।’

बिपी राजमार्ग हालसालै चल्न सक्ने अवस्था नदेखिएको भन्दै पाण्डेले सो राजमार्ग हुँदै चल्ने गाडीसमेत मुग्लिनको बाटो हुँदै जानुपर्ने अवस्था सिर्जना भएकाले वैकल्पिक बाटोमा ध्यान दिन आवश्यक रहेको बताए । उनले प्रश्न गरे, ‘खाद्यान्न र हवाई भाडा महँगी नियन्त्रणमा सरकारको किन ध्यान पुग्न सकेको छैन ?’

राप्रपाका सांसद बुद्विमान तामाङले सरकारले अझै पनि झ्याप्ले खोलाको सडक खुलाउने कुरामा बेवास्ता गरेको बताए । सरकारी निकायहरूबिच समन्वय नभएको उनको भनाइ थियो ।

तामाङले भने, ‘माथिबाट नपठाउ भन्ने, तलबाट नमान्ने भएपछि के अर्थ ? बुधबारदेखि फेरि पानी पर्छ भनेको छ, के छ सरकारको तयारी ? बाटो खुलाउन के गर्ने हो ? अलि छिटो काम नभएको गुनासो छ । सडक विस्तारमा ध्यान दिनुपर्‍यो ।’

सांसद सर्वेन्द्रनाथ शुक्लाले यसपालिको विपत्ति अपर्झट नभइ साइरन बजाउँदै आएको बताए । मौसम विभागले १ हप्तादेखि सूचना जारी गरेको र सरकारले समेत निर्देशन दिएको तर कार्यान्वयन नभएको उनको भनाइ थियो ।

शुक्लाले भने, ‘सरकारले दिएको निर्देशन कार्यान्वयन भएन, यो भनेको अराजकता हो । यो साह्रै गम्भीर विषय हो । यसबारेमा सरकारले ध्यान दिओस् । स्थानीय तह हुँदा पनि त्यसलाई सक्रिय राख्न नसकेको, समन्वय संयन्त्रको अभाव भयो ।’

जसपा सांसद प्रकाश अधिकारीले सात दिन अघिदेखि नै पूर्वसूचना भए पनि सरकारले क्षति रोक्नका लागि पूर्वतयारी गर्न नसकेको बताए ।

उनले प्रश्न गरे, ‘एउटा मन्त्रीले पूर्वसूचना दिँदा किन बस चलाएर हिँडेको भनेर भन्न पाइन्छ ? काठमाडौँमै बाढीले घेरेको छानोमा चार घण्टा गुहार माग्दा भिजिबिलिटी पुगेन भनेर कसले पत्याउँछ ?’

अधिकारीले हवाई जहाजले चार गुणा भाडा बढाउँदा राज्य कहाँ छ भन्दै प्रश्न गरे । उनले भने, ‘बजार भाउ कसले नियन्त्रण गर्ने ? राज्य छैन जस्तो महसुस भइरहेको छ । अब सरूवा रोग फैलिने खतरा छ । त्यसमा तयारी के छ ? दीर्घकालीन योजना के छ ?’

कांग्रेस सांसद दिलेन्द्र बडूले मौसम विभागले प्रशस्त मात्रामा पूर्वसूचना दिए पनि सरकार चुकेको बताए । सरकारले पनि राति बस नचलाउनु भने पनि झ्याप्ले खोलामा त्यो नदेखिएको र सरकारले आँखा चिम्लिएको उनको भनाइ थियो ।

बडूले भने, ‘बुधबार र बिहीबारदेखि फेरि पानी पर्ने भनेको छ । अहिले एकतर्फी बाटो खोल्दा जोखिम छ । अझै तीन दिन यात्रा नगर्नुस् भन्नुपर्छ । मुग्लिनतिर पनि बाटो राम्रो छैन । स्थानीय तहमा विपदका बेला प्रयोग हुने उपकरणको प्रबन्ध खै ? स्रोत साधन खै ? तीनै तहमा स्रोत साधन सम्पन्न बनाउन ध्यान दिनुपर्छ ।’

बडूले काठमाडौँमा खोला क्षेत्रमा समस्या देखिएको बताउँदै खोला छेउमा घर बनाएपछि नबगाएर के हुन्छ त भन्दै प्रश्न गरे । खोलाको पुनर्व्यवस्थापन हुनुपर्ने र त्यसका लागि ध्यान दिन उनले आग्रह गरे ।

बैठकमा कांग्रेस सांसद सरिता प्रसाईं पनि खरो रूपमा प्रस्तुत भइन् । उनले बाढी पहिरोको विपत्तिमा उद्धार तथा राहतका लागि सरकार चुकेको बताइन् । उनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकले विपत्तिको बेलामा मर्यादाहीन अभिव्यक्ति दिएको भन्दै आलोचना समेत गरिन् ।

प्रसाईंले भनिन्, ‘विपद् व्यवस्थापनमा सरकार चुकेकै हो । मौसम विभागले पूर्वानुमान गर्दा पनि सरकारले व्यवस्थापन गर्न सकेन । अहिले हाइवेमा हजारौँ मान्छे अड्किएका छन् । तिनीहरूको तत्काल उद्धार गरियोस् । कालोबजारी बढेको छ । सरकार किन नियन्त्रणमा लागेको छैन ? देश र जनता अप्ठ्यारोमा परेको बेला विमानको भाडा बढाउने यो सरकारको के काम गराइ हो ?’

प्रतिपक्ष कमजोर, रविको आक्रोश

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले सरकारको कमजोरीलाई सत्ता पक्षका सांसदहरूले ढाकछोप गर्न लागेको भन्दै आपत्ति जनाए । उनले प्रमुख २ ठुला दलको २ तिहाइको सरकार बनेकाले प्रतिपक्ष कमजोर भएको र जे गरे पनि हुन्छ भन्ने मानसिकतामा सरकार पुगेको बताए ।

लामिछानेले बाढी पहिरोको विपद्को बेलामा सरकारले भएका स्रोत साधन परिचालन तथा व्यवस्थापन गर्न चुकेको बताए । गृहमन्त्री रमेश लेखकले नख्खुमा बाढीले घेरिएका व्यक्तिलाई हेलिकोप्टरबाट उद्धार गर्न भिजिबिलिटीका कारण समस्या भएको भनेकोमा समेत लामिछानेको आपत्ति थियो ।

त्यस दिन नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँको भिजिबिलिटी ११ सय रहेको लामिछानेले बताए । १ हजार भिजिबिलिटीमा हेलिकप्टर उडेको बताउँदै चार घण्टासम्म गुहार माग्दा भिजिबिलिटी भएन भन्ने कहाँबाट आयो भन्दै उनले प्रश्न गरे ।

मौसम विभागले हरेक जिल्लामा कहाँ पहिरो जान्छ भनेर रेड अलर्ट जारी गर्दा, देशलाई इमरजेन्सी पर्दा प्रहरी प्रमुख कहाँ थिए, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका हाकिम कहाँ थिए भन्दै उनले प्रश्न गरे ।

दुई तिहाइ सरकार घातक रहेको बताउँदै सरकार के को तयारीमा थियो भन्ने आफूलाई राम्रोसँग थाहा रहेको लामिछानेले बताए । आफू गृहमन्त्री भएको बेला पर्याप्त पूर्वतयारी गरेको तर अहिले त्यसले निरन्तरता नपाएको उनको भनाइ थियो ।

लामिछानेले भने, ‘राति गाडी रोक्ने भनियो, रोक्ने कसले ? नियमित झारा टार्ने काम भयो । स्रोत साधनमा सीमितता छ, इच्छाशक्ति असीमित भएको भए धेरै ज्यान जोगिन्थ्यो ।’

सरकारको कार्यशैली गगन थापा असन्तुष्ट

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले सरकारको कार्यशैलीप्रति आलोचना गरे । उनले सरकारले रोक लगाउँदा लगाउँदै रात्रि बस सञ्चालन भएको भन्दै यसको छानबिन गर्न माग गरे ।

सरकारले विपद्को पूर्वतयारीस्वरुप रात्रि बस सञ्चालन नगर्न निर्देशन गरे पनि सञ्चालन भएको भन्दै उनले यस बारेमा छानबिन गर्नुपर्ने बताए ।

सांसद थापाले सरकारको निर्णय विपरीत रात्रि बस सञ्चालन भएको विषयलाई कसै न कसैले जिम्मा लिनुपर्ने प्रस्ट पारे । त्यसैगरी नख्खु बाढीमा फसेकाहरूको उद्धार गर्न नसकिएको विषयमा पनि छानबिन गर्नुपर्ने उनले माग गरे । उनले भने, ‘नख्खु बाढीमा फसेकाहरूको समयमै उद्धार गर्न नसक्नुमा कसको दोष हो ? यस विषयमा छानबिन गरी दोषी उपर कारबाही गर्नुपर्छ ।’

थापाले भने, ‘नेपाल सरकारको मुख्यसचिवदेखि प्राधिकरणको प्रमुखसम्म, प्रहरीको प्रमुखदेखि अरू जिम्मेवारीमा बसेका मानिसहरू आपत्कालीन अवस्थामा जुन तरिकाले काम गरिरहेको देख्नुपर्ने हो, त्यो नदेख्दाखेरी स्वाभाविक रूपमा प्रश्नहरू छन् । बैठकहरू धेरै भए । एकपछि अर्को डुप्लिकेशनहरू भएको छ । निर्णयको कार्यान्वयन भएको छैन ।’

सांसद थापाले संघीय सरकार उद्धारमा केन्द्रित हुनुपर्ने र राहत वितरणको काममा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने बताए ।

गृहमन्त्री लेखकले भने– सुझावहरू मार्गदर्शनका रूपमा लिएर काम गर्छु

ramesh lekhak

सांसदहरूको आलोचना खेपेका गृहमन्त्री रमेश लेखक बैठकमा रक्षात्मक अवस्थामा देखिएका थिए । उनले सांसदहरूको सुझावलाई मार्गदर्शनका रूपमा लिएर काम गर्ने बताए ।

उनले भने, ‘अहिलेको गम्भीर र संवेदनशील परिस्थितिमा आरोप प्रत्यारोप गर्दिनँ । विपदमा सबै मिलेर जानुपर्छ । सेनाका मान्छेले भनेको हो भिजिबिलिटी छैन भनेर ।  हेलिकप्टर उड्न सक्दैन भनेको हो । सेनाले भनेको त मैले मान्नुप¥यो नि । पूर्वतयारी भएको हो, तर नपुगेको कुरा स्वीकार गर्छु ।’

गृहमन्त्री लेखकले स्रोत साधनको कमी रहेको र जे छ त्यसले काम चलाइरहेको बताए । देशभर क्षतिको आकलन गरेर चाँडै पुनर्निर्माण गर्ने उनको भनाइ छ । उनले फेरि पानी पर्ने पूर्वानुमान भएकाले तदअनुरूप तयारी गर्ने बताए ।

हवाई भाडाका सन्दर्भमा सम्बन्धित मन्त्री र  हवाई अपरेटरसँग छलफल भइरहेको उनको भनाइ थियो ।

नख्खु घटना दुःखद् रहेको बताउँदै उनले भने, ‘हामीले प्रयत्न गरेको हो, सशस्त्र र प्रहरी बचाउन गएको छ । २ जना अझै बेपत्ता छन् ।  हेलिकप्टरबाट उद्धार गर्न प्रतिकूल मौसमका कारण हुन सकेन । यति गर्दा पनि तीन जनाको उद्धार भएको हो । सकेको कोसिस गरेको हो ।’

प्रत्यक्ष प्रभावित जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको, राहत दिने कुरामा कुनै कमजोरी नहुने र समन्वयात्मक हिसाबले तीनै तहबाट राहत दिने उनको भनाइ छ ।

बिग्रिएको बाटो बनाएर यातायात सञ्चालनमा ल्याउन समितिको निर्देशन

BS_L4627

बैठकपछि राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

‘हवाई भाडा नबढाउन, अवरुद्ध सडक मर्मत सम्भार गरेर यातायात सञ्चालन गर्न, सडक पहुँच नपुगेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न तरकारी र फलफूल आदिको मूल्य बढ्न नदिन र पीडितलाई छिटोभन्दा छिटो राहत दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ’, बैठकपछि समितिका सभापति रामहरि खतिवडाले भने ।

त्यस्तै बैठकले विभिन्न सडकमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन पनि सरकारलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप