बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
विपद्पछिको बजार

तरकारीको मूल्य १६३ प्रतिशतसम्म बढ्यो, खाद्यान्नको यथावत्

मङ्गलबार, १५ असोज २०८१, २० : ००
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ ।  तीन दिनसम्म लगातार परेको वर्षा र बाढी पहिरोले मुख्य सबै राजमार्गहरु अवरुद्ध भएका थिए । जसका कारण खाद्यान्न तथा तरकारीजन्य वस्तुको आपूर्ति हुन सकेन ।

यसको प्रभाव अहिले काठमाडौँ उपत्यकाको बजारमा प्रत्यक्ष देखिएको छ  । अहिले कुनै राजमार्ग एकतर्फी र कुनै अझै सञ्चालनमा आउन सकेका छैनन् । यसले दैनिक उपभोग्य वस्तु मागअनुसार आपूर्ति हुन सकेको देखिँदैन ।

मागअनुसार आपूर्ति नहुँदा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ ।  एक साताअघि (असोज ८ गते) थोक मूल्य प्रतिकिलो ९५ पर्ने हरियो धनियाँ १६३ प्रतिशतले बढेर मंगलबार २५० रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सोही अवधिमा प्रतिकिलो २५ रुपैयाँ पर्ने भण्टा (लाम्चो) १६० प्रतिशत बढेर ६५ रुपैयाँ, ३५ रुपैयाँ पर्ने भण्टा डल्लो ८५.७१ प्रतिशतले बढेर ६५ रुपैयाँ, ९५ पर्ने हरियो खुर्सानी  ७५.४४ प्रतिशतले बढेर १६६.६७ रुपैयाँ पुगेको छ । 

यस्तै प्रतिकिलो ३५ रुपैयाँ पर्ने लौका १४२.८६ प्रतिशतले बढेर ८५, ४५ रुपैयाँको भिण्डी १०० प्रतिशले बढेर ९०, २२ रुपैयाँ पर्ने स्कुस ७९.१३ प्रतिशतले बढेर ४० रुपैयाँ पुगेको छ । 

त्यसैगरी ८५ रुपैयाँ प्रतिकिलो पर्ने भारतीय गोलभेँडा मंगलबार ५८.८२ प्रतिशतले बढेर कालीमाटी तरकारी बजारमा १३५ रुपैयाँ, ३५ रुपैयाँ पर्ने नेपाली सालो लोकल गोलभेँडा ५७.१४ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ । 

यो त कालीमाटी तरकारी बजारको थोक मूल्य हो । खुद्रा बजारमा यसको दोब्बर, तेब्बर मूल्यमा बिक्री हुने गरेको छ । तर नियामक निकायले यसको अनुगमन तथा नियमन गरेको देखिँदैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल भने बल्खुको तरकारी तथा फलफूल होलसेल बजारमा बाढी पसेर ठुलो क्षति भएको र आपूर्ति ठप्प भएका कारण मूल्य वृद्धि भएको बताउँछन् ।  राजमार्ग खुला भइसकेको र सवारी आवजावतमा सहज भएकाले बुधबारबाट मूल्य घट्ने उनको भनाइ छ । बजारमा मूल्य वृद्धि भएपछि आफूहरूले अनुगमनको दायरा बढाएको पनि उनले बताए । 

‘अनुगमन गरेर सामान्य निर्देशन दिने गरेका छौँ । साना व्यापारीहरूलाई ठुलो जरिवाना तिराउने, ठुलो कारबाही गर्न सकिँदैन,’ पौडेलले भने, ‘तर पनि महँगो मूल्य नलिन निर्देशन र सचेत गराएका छौँ ।’

अहिले तरकारीको मूल्य बढे पनि खाद्यान्नको मूल्य भने नबढेको नेपाल  चामल, तेल, दाल उद्योग संघका कार्यसमिति सदस्य विभोर अग्रवालले जानकारी दिए । ‘तीन दिनदेखि खाद्यान्न बोकेका सवारी राजमार्ग अवरुद्ध हुँदा बाटोमै अलपत्र छन् । तर नजिकिँदै गरेको दसैँलाई मध्यनजर गर्दै व्यापारीहरूले पर्याप्त राखेका छन्,’ अग्रवालले भने,‘ दाल, चामल, तेल लगायतका खाद्यान्न अभाव हुने समस्या छैन र मूल्य बढ्ने पनि देखिँदैन । ’

उनका अनुसार चामलको हकमा भारत सरकारले २ दिनअघि एक सूचना जारी गर्दै चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतबाट चामलको निर्यात फुकुवा भएपछि चामलको मूल्य घट्ने आशा जागेको छ । 

निर्यातले बढायो तेलको मूल्य 

यस्तै पछिल्लो समय बजारमा खाने तेलको मूल्यमा प्रतिलिटर २० देखि ४० रुपैयाँसम्म बढेको छ । यो आपूर्ति ठप्प भएको कारणले नभएर भारततर्फ निर्यात बढेकाले यसको प्रभाव नेपाली बजारमा देखिएको अग्रवाल बताउँछन् । 

भारतले सेप्टेम्बर १४ मा एक सूचना जारी गर्दै नेपाल बाहेकका देशबाट आयात हुने तेलको ड्यूटी २७ प्रतिशत बनाएको थियो । यसले भारतमा तेलको मूल्य बढ्यो । तर नेपालबाट निर्यात हुने तेलमा अहिले पनि १० प्रतिशत मात्रै ड्यूटी लाग्छ । यसले गर्दा नेपाली तेल भारतीय बजारमा बढी निर्यात हुन थालेपछि यहाँ मूल्य बढेको अग्रवालले बताए । 

दाल तथा गेडगुडीको मूल्य पनि नेपाली बजारमा दुई महिना अघिदेखि नै बढेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत दाल तथा गेडागुडीको आयातमा १० प्रतिशत अग्रिम कर लगाइएका कारण बढेको मूल्य बढेको हो । तर बजारमा अग्रिम कर लगाउनुभन्दा अघिको मूल्यमा झण्डै दोब्बरले बढेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप