मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

माओवादीले गर्‍यो ‘हेल्प डेक्स’ स्थापना : बाढी पहिरो पीडितहरूको उद्धार र राहतमा खटिन निर्देशन

मङ्गलबार, १५ असोज २०८१, १९ : १५
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मंगलबारदेखि बाढी पहिरो पीडितहरूको उद्धार र राहत वितरणमा सहयोग पुर्‍याउन आपत्कालीन सहायता कक्ष (हेल्प डेक्स)को सुरु गरेको छ । पार्टीको विपद् व्यवस्थापन विभागको कमाण्डमा केन्द्रमा विपद् व्यवस्थापन आपत्कालीन सहायता कक्ष स्थापना गरेको हो ।

उपत्यकाको तीन जिल्लामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कमाण्डमा अनुगमन टोली बनाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । ‘उपत्यकाका तीन जिल्लाको हकमा अध्यक्ष प्रचण्डको कमाण्डमा खटिएका टोलीले बाढी प्रभावित क्षेत्रको जनताका वास्तविक समस्या, तत्काल गर्नुपर्ने काम, दीर्घकालीन रूपमा गर्नुपर्ने कामका बारेमा प्रभावित क्षेत्रका नागरिकसँग अन्तरक्रिया छलफल र सुझावहरू संकलन काम सुरु भइसकेको छ । उद्धारका लागि पार्टी, जवस/मोर्चालाई परिचालन गरिएको छ । उपत्यका बाहिरका प्रभावित जिल्लामा पार्टी जवस/मोर्चाहरूलाई उद्धार र राहतका लागि खट्न निर्देशन दिएको छ’, रातोपाटीसँग ढकालले भने ।

अध्यक्ष प्रचण्डले मंगलबार बल्खु क्षेत्रका बाढी प्रभावित जनताका समस्या, गुनासा र तत्काल गर्नुपर्ने कामको बारेमा अन्तर्क्रिया गरेका थिए । प्रदेश इन्चार्जहरूको कमाण्ड कन्ट्रोलमा स्वयंसेवक टिमहरू परिचालन गर्ने उनले बताए । ढकालका अनुसार हरेक जिल्लामा जिल्ला इन्चार्जको कमाण्डमा पार्टी, जवस/मोर्चाले क्षतिको विवरण संकलन गर्ने, प्रभावकारी ढंगले उद्धार राहत र पुनर्स्थापनामा हाम्रो ध्यान केन्द्रित रहनेछ ।

मौसम पूर्वाअनुमान महाशाखाले पहिले नै सूचना दिँदासमेत  जनधनको क्षति कम गर्न सरकार असफल देखिएको उनले आरोप लगाए । ‘पूर्वसूचना पूर्वसूचना हुँदाहुँदै पूर्वतयारीमा सरकार असफल भयो । सरकारले अलिकति पहलकदमी लिएको भए यति धेरै क्षति हुने थिएन । अब सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर विपद्को घडीमा राहत र पुनर्स्थापनामा सहयोग गर्नुपर्छ’, उनले भने । 

साथै दैवी प्रकोप राहत कोषमा प्रत्येक सांसदबाट १०÷१० दिनको पारिश्रमिक सबै प्रदेशबाट संकलन गरी केन्द्रीय राहत कोषमा पठाउने काम भइरहेको उनले बताए । पहिलो प्राथमिकता जो पीडितहरू छन्, त्यसको उद्धार राहत वितरण गर्ने हो । त्यसपछि आवास, स्वास्थ्य शिविर सञ्चालन गर्ने उनले जानकारी दिए । यस्तै दसैँ तिहार, छठ पर्वलाई लक्षित गरी बाटो सञ्चालन गर्न सरकारसँग समन्वय गर्ने ढकालले जानकारी दिए । यसअघि असारमा विपद् व्यवस्थापन विभागले सातै प्रदेशमा सम्पर्क व्यक्ति खडा गरी पालिका तहसम्म स्वयंसेवक खटाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप