मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
समाचार

देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा

मङ्गलबार, १५ असोज २०८१, १८ : २६
मङ्गलबार, १५ असोज २०८१

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

मंगलबार न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । गत असोज ११ गते भारतको नयाँ दिल्लीबाट पक्राउ परेका नेपालीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएर सोमबार अदालतमा उपस्थित गराइएको हो । सोमबारको बयानपछि मंगलबार थुनछेक बहससँगै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

सोही प्रकरणमा पक्राउ परेका देवकुमारका दाइ ओमबहादुर नेपाली (ओमप्रसाद दर्जीं) भने डेढ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । सहकारी ठगी अभियोगमा ६ जना पुर्पक्षका लागि बागलुङ कारागारमा छन् । 

नेपालीले बागलुङ जिल्लामा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको अभियोग दायर भएको छ भने  कास्कीमा शाखा रहेको सहकारीमा उनले ६० करोड रुपैयाँ अपचलन गरेको अभियोग छ । बचतकर्ताको करिब २ अर्ब रुपैयाँ ठगी गरेको अभियोगपछि नेपाली १६ महिनादेखि फरार थिए । उनलाई कास्कीमा समेत उजुरी परेकोले कास्की जिल्ला अदालतमा पनि उपस्थित गराइनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप