मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

प्रधानमन्त्रीको स्वीकारोक्ति : सरकारको पूर्वतयारीभन्दा ठुलो विपद् आएकाले कमजोरी देखियो

जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न आह्वान
मङ्गलबार, १५ असोज २०८१, १७ : ४४
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ११ र १२ गते परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट धेरै क्षति हुनुमा सरकारले अनुमान गरेभन्दा ठुलो विपद् आएकाले क्षति न्यूनीकरण गर्न नसकिएको स्वीकार गरेका छन् ।

विपद्पछिको क्षति र सरकारले गरिरहेका कामबारे जानकारी दिन मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरूलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीले आह्वान समेत गरे ।

उनले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आग्रह गरे । ‘यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपय संरचनागत त्रुटिका कारण पनि क्षतिहरू भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।’

  • गृहमन्त्रीको बचाउमा प्रधानमन्त्री

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकको बचाउ गरे । उनले बाढीमा फसेका मानिसहरूलाई गृहमन्त्रीले उद्धार गर्न नसकेको भनेर भएको आलोचनाको खण्डन गर्दै प्रारम्भिक सूचनाका आधारमा बोलेको विषयलाई अपराध र अयोग्यका रूपमा लिन नहुने बताए ।

‘मान्छे बगे, रेस्क्यु गर्न सकिएन भनेर त्यहाँका मानिसले जे रिपोर्ट दिए गृहमन्त्रीले त्यहीँ बोल्नुभयो’, ओलीले भने, ‘अलिक तल एक जना भाइले बचाउनु भएछ, उहाँलाई धन्यवाद ।’ प्रधानमन्त्रीले गृहमन्त्रीले बचाउन सकिएन भनेर दिएको अभिव्यक्ति स्थानीयले दिएको सूचनाका आधारमा भएको र कहिलेकाहीँ प्रारम्भिक सूचना गलत पनि हुनसक्ने बताए । ‘जानकारी दिँदै नदिनु पनि राम्रो हुँदैन, कहिले कहिले प्रारम्भिक जानकारी राम्रो नहुन पनि सक्छ । म आफै पनि बगेको केही किलोमिटर बगेको थिएँ । तर कसैले देखेको थिएन र बग्यो भनेर भनेनन्’, प्रधानमन्त्रीले भने, ‘त्यसैले यस विषयलाई अपराध र अयोग्यताका रूपमा लिन हुँदैन ।’
 

  • पानी पर्दापर्दै अमेरिकाबाट हिँडेको हुँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो गयो भन्ने बित्तिकै आफू अमेरिकाबाट हिँडेको पनि बताएका छन् । मौसम पूर्वानुमान शाखाले असोज ७ गते नै विपद् आउन सक्छ भनेर सूचना दिएपछि सरकारले पूर्वतयारीका काम गरेको तर यति ठुलो विपत्ति आउला भनेर आफूले समेत कल्पना नगरेको बताए ।

‘११ र १२ गते पानी पर्‍यो, १२ गते बिहानै म अमेरिकाबाट हिँडेको छु भने म यहाँ भइनँ भन्ने कुरा पनि उठाए । संयुक्त राष्ट्र संघमा जाँदा पहिला नै यस्तो क्षतिको अनुमानअघि नै म जाने कुरा भएको हो’, प्रधानमन्त्रीले भने, ‘१२ गते हिँडेको छु एक दिन ग्याप हुन्छ १४ गते आइपुगेँ ।’

  • चार हजारभन्दा बढीको उद्धार भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो र डुबानजस्तो विपत्तिमा  सरकारले जानीजानी उद्धारमा ढिलो नगरेको दाबी गरे । उनले यस प्रकारको विपत्ति आउला भन्ने अनुमान नभएको भन्दै पूर्व तयारी भए पनि यति ठुलो विपत्ति होला भनेर अनुमान नगरेको बताए । यस्तो बेला सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग तथा पुनर्निर्माणमा काम गर्नेमा लाग्ने बताए । ‘यस्ता कुरामा हामी नेपाली एक लाग्ने भन्दै साझा विपत्तिको सामना सबैले मिलेर गर्नुपर्ने बताए । ‘विपत्तिले राजनीतिक रङ, पेसा व्यवसाय छुट्टाएर मर्का पारेको हुँदैन । कमीकमजोरी कहीँ छन् देखाउन सकिन्छ तर केही राम्रा काम पनि सरकारले गरेको होला’, प्रधानमन्त्रीको भनाइ छ ।

सरकारको सचेतताकै कारण चार हजारभन्दा बढी मानिसलाई उद्धार गरेको पनि पत्रकार सम्मेलनमा बताए । ‘यो कुरा पनि हामीले देख्नुपर्छ । केही गर्दै नगरेको होइन सक्दो गरेको छ । यद्यपि आगामी दिनमा कमी कमजोरी हुन दिनुहुँदैन’, प्रधानमन्त्रीको भनाइ छ ।

  • २ सय २४ जानको मृत्यु

पत्रकार सम्मेलनमा असोज ११ र १२ गते गएको बाढी पहिरो र डुबानबाट हालसम्म २ सय २४ जनाको मृत्यु भएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए ।

उनले बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएको भन्दै विपत्तिबाट अझै २४ बेपत्ता र १ सय ५८ घाइते रहेको जानकारी गराए । ४ हजार ३३१ जनाको उद्धार गरिएको सरकारले जनाएको छ ।

  • १७ अर्ब बढीको भौतिक क्षति

पत्रकार सम्मेलनमा सरकारले बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको भौतिक क्षति भएको जनाएको छ ।

खानेपानी संरचनातर्फ ३ अर्ब ५५ करोड, सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको मुख्यसचिव अर्यालले जानकारी दिए । बाढीपहिरोबाट ३४वटा  निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ । सरकारले विपद्पछि खोजी कार्यमा ३० हजार ७ सय सुरक्षाकर्मीसहित हेलिकोप्टर समेत प्रयोग गरिएको र बाढी पहिरोबाट अवरुद्ध ३७ वटा राजमार्गमध्ये ९ वटा सञ्चालन आइसकेको सरकारको दाबी छ ।

  • राष्ट्रगान गाएर प्रधानमन्त्रीको पत्रकार सम्मेलन

काठमाडौँ । राष्ट्रिय गान गाएर प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन सुरु गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय गान गाएर पत्रकार सम्मेलनको सुरुवात गरिएको हो । प्राकृतिक विपत्तिपछि प्रधानमन्त्रीले ओलीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री, मन्त्री, सचिवलगायत उच्च पदस्थ कर्मचारी सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप