मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती

मङ्गलबार, १५ असोज २०८१, १७ : २६
मङ्गलबार, १५ असोज २०८१

चितवन । केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न सकेन । तटबन्ध नभएका केही स्थानबाट नदी बस्तीमा पसे पनि वितण्डा मच्चाउन पाएन । 

नारायणीको जलसतह मापन गर्न थालेको ६१ वर्षको अवधिमा ११ दशमलव ५४ मिटर यस अघि कहिल्यै मापन भएको थिएन । भरतपुर महानगरपालिका–१ देवघाटमा नारायणी नदीको सतह मापन नारायणी बेसिन फिल्ड कार्यालयले गर्दै आएको छ । कार्यालयका सूचना अधिकारी विशाल अधिकारीका अनुसार सन् १९६३ बाट सरु गरिएको मापनमा हालको तथ्याङ्क सबैभन्दा धेरै हो । 

सतह बढेसँगै देवघाटका वृद्धाश्रमबाट केहीलाई उद्धार गर्नु प¥यो ।  नारायणगढ बजार हुँदै पश्चिम चितवनको गोलाघाटसम्मको बस्ती उच्च जोखिममा थियो । यद्यपि नदी किनार क्षेत्रमा गरिएका तटबन्धनका कारण बाढी वस्तीमा पस्न पाएन । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार भरतपुरको वडा नं १, ३, १६, १७, २६, २७ र २८ का केही ठाउँहरुमा बाढी पसेर डुबान भएको थियो । नदीले ५१५ घर डुबानमा परेको र एक हजार ४१० जनालाई एक रातका लागि सुरक्षित ठाउँमा सार्नुपरेको उहाँले जानकारी दिनुभयो । डुबानमा परेर विस्थापित उनीहरु घर फर्किसकेका छन् । नदीले नारायणगढ बजार नजिक समुन्द्री किनार (विच मोडल)का रुपमा विकास गरिरहेको ठाउँमा क्षति पु¥याएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले बनाएको मूल संरचनामा क्षति पुगेको छैन । माटो पुरेर ‘मोज्याक टायल’ लगाइएको पैदल मार्ग बगाएको छ । 

भरतपुर महानगरपालिका–२६ भगडीकी पार्वती पौडेल तटबन्धनले बचाएको बताइन् । उनले भनिन्, “तटबन्ध नभएको भए हाम्रो बस्ती डुबिसकेको हुन्थ्यो ।” पछिल्ला वर्षहरुमा तटबन्धका कारण बस्ती जोगिएको उनको भनाइ छ । 

वडा नं २६ हिरापुरस्थित नारायणी किनारमा भेटिएका वडाअध्यक्ष ज्ञानप्रसाद खनाल तटबन्धनका कारण पश्चिम चितवन जोगिएको बताउँछन् । आफ्नो वडाको हिरापुरमा छिरेको नारायणीको पानीको कारण ३० घर डुबानमा परे पनि दुई दिनमै सुकेको उनले बताए । उनले भने, “उहाँहरु घर फर्किसक्नुभएको छ । तटबन्धन नभएको भए हाम्रो वडा सखाप हुन्थ्यो ।” वडा नं २६ सँगै २७, २८ पूर्ण प्रभावित हुने खनाल बताउँछन् । 

वडा नं २८ का अध्यक्ष दण्डपानी रिजालले नारायणी नदी उर्लिएको भए पनि तटबन्धले जोगाएको बताए । पुरानो तटबन्ध भत्काएर सिसवार नजिकै बस्तीमा पानी पसे पनि रोक्न सकिएको रिजालको भनाइ छ ।  वडा नं १६ मा दुई सय घर बाढीबाट प्रभावित भएको वडाअध्यक्ष अमृत हमालले जानकारी दिए । झन्झने, गुम्बाचौर र सिद्धिगणेश सामुदायिक वन क्षेत्रबाट नदी पसेको उनले बताए । यी क्षेत्रमा तटबन्ध गर्न बाँकी छ । 

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी प्रकाश लम्साल तटबन्ध नगरिएका क्षेत्रबाट बस्तीमा बाढी पसेको बताउँछन् । वडा नं २८ र वडा नं २७ को दुई ठाउँमा १० वर्षअघि बनाइएका तटबन्ध बाढीले खोतलेको भए पनि अहिले नयाँ तटबन्धमा सामान्य समस्याबाहेक नदेखिएको उनले बताए । लम्सालले भने, “कम्तीमा थप तीन किलोमिटर क्षेत्र तत्काल तटबन्ध गर्नुपर्ने देखिएको छ ।” 

नारायणी पुलबाट गोलाघाटसम्म ३५ किलोमिटर क्षेत्र पर्दछ । आयोजनाले चितवनतर्फ पाँच योजनासहित नवलपरासीसमेत गरी रु चार अर्ब ७२ करोडमा ठेक्का लगाएर तटबन्ध लगाइरहेको छ । चितवनतर्फका सबै ठाउँमा तटबन्ध लगाउँदा रु दुई अर्ब बजेट थप आवश्यक पर्ने लम्सालको भनाइ छ । 

भरतपुर महानगरतर्फ मात्रै तटबन्धनका लागि रु २६ अर्ब लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तटबन्धका कारण नारायणी नदीले भरतपुर महानगर क्षेत्रमा क्षति हुन नपाएको बताउँछिन्। डुबान भएको ठाउँमा तटबन्ध गर्न नभ्याएका कारण बाढी पसेको उनको भनाइ छ । उनले भनिन्, “भरतपुरतर्फको ३५ किलोमिटरमध्ये झन्डै १० किलोमिटर तटबन्ध गर्न बाँकी छ । ती ठाउँका लागि पहल भइरहेको छ ।” 

भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर बनाएको पैदल मार्गमा केही क्षति पुगेको नगर प्रमुख दाहालले जानकारी दिइन् । दुई संस्थाले रु ९० लाख लागतमा पैदल मार्ग बनाएका थिए । 

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नदी तटीय सबै क्षेत्रमा तटबन्धको आवश्यकता देखिएको बताए । नारायणगढस्थित नारायणी नदी किनारका मुख्य संरचनामा क्षति नभएको र खाल्टो परेको ठाउँमा मर्मत गरेर पूर्ववत् अवस्थामा फर्काउन सकिने उनले बताए । उनले भने, “हामीले थाहा पाएपछिको ठूलो बाढी आयो तर जनधनको क्षति हुन पाएन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप