मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

राजमार्गतर्फ २ अर्ब ५२ करोड क्षति

मङ्गलबार, १५ असोज २०८१, १७ : २०
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । सडक विभागका महानिर्देशक ई.रामहरि पोखरेलले बाढी/पहिरोबाट प्रभावित सबै राजमार्ग पुन: सञ्चालन गर्न सम्पूर्ण शक्ति र संयन्त्र प्रयोग गरेर काम भइरहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महानिर्देशक पोखरेलले विभिन्न कारणले समयमै अवरुद्ध राजमार्ग खुलाउन नसकेको बताएका हुन् ।

उनले भने,‘यो महामारीमा सबभन्दा बढी पीडित भनेको सडक नै परेको छ । हामी सडक सुचारुको लागि अहोरात्र खटिएका छौँ । यति हुँदा पनि जनताले चाहेको जस्तो हुन सकेको छैन । पूर्ण सन्तुष्ट छैनौँ । तर, हाम्रो इफोर्ट चाहिँ लागिरहेका छौँ ।’

तर, सबै राजमार्ग सुचारु गर्नको लागि राज्य–संयन्त्र लगाएर काम भइरहेको उनको भनाई छ । उनले भने,‘असोज ११ र १२ गतेको अवस्था के थियो भने २३ वटा राजमार्गको ६९ वटाभन्दा बढी ठाउँमा राजमार्ग अवरुद्ध भएको अवस्था थियो । अहिले पछिल्लो स्थिति हेर्दा १२ वटा राजमार्गको ३४ स्थानमा अझै पनि अवरुद्ध छ । त्यसमा पनि मुख्य–मुख्य राजमार्गको कुरा गर्नु पर्दाखेरि यो नौबिसे–नागढुंगा मुग्लिङ सडक खण्ड, कान्ति, बीपी राजमार्ग र पुष्पलाल राजमार्ग रहेका छन् ।’

महानिर्देशक पोखरेलले आफूहरूले सबै संयन्त्र लगाएर नौबिसे–नागढुंगा मुग्लिङ सडक खण्ड एकतर्फी सुचारु गराएको सुनाए । तर, एकतर्फी  खोल्दा त्यहाँ अड्किएका सवारीसाधनलाई काठमाडौँ भित्र्याइएको उनले जनाए । 

अत्यावश्यक वस्तु (खाद्यान्नसहित) सवारीलाई प्रोटोकल मिचेर पनि आफूहरूले सुरूङमार्गमार्फत ल्याएको पोखरेलको भनाइ छ । त्यसको लागि आफूहरूले जापानीहरूलाई अनुरोध गरिएको उनले स्पष्ट पारे । आजै नै सो मार्ग दुईतर्फी सञ्चालनमा ल्याउने गरि काम भइरहेको उनको भनाई छ । 

उनले बीपी राजमार्गको अवरोध सुचारुको लागि चुनौती रहेको सुनाए । उनले भने, ‘बीपी राजमार्गको चौकी डाँडा भन्ने ठाउँ (धुलिखेलबाट झण्डै ३४ किलोमिटरजति पर्छ)  त्यहाँ साढे दुई किलोमिटर बाटो बगाएको छ । त्यसको अवरोध हटाउनको लागि सबै शक्ति लगाएका छौँ । सकेसम्म विपी राजमार्ग खोल्न प्रयास गरेका छौँ । त्यहाँ दुईवटा पुल बगायो । एउटा खैरेनीघाट र अर्को खुर्कोटको पुल बगाएको छ । रामेछापसँग लिंक हुने अर्को पुल बाँकी छ । त्यो हो सित्खा भन्ने ठाउँको । सित्खाको पुल तरेर गाल्बा हुँदै मन्थलीबाट गाडीहरू पास भएका छन् । तर, त्यहाँ किरिनेटारमा पनि दुई सय मिटर वास भएछ, खिम्ती हाइड्रोपावर प्रोजेक्टलाई विशेष अनुरोध गरेका छौँ । त्यहाँको घर भत्काउनुपरेपनि बरु हामी क्षतिपूर्ति दिन्छौँ तर गाडी पास गरौँ भनेका छौँ ।’

उनले कान्ति राजमार्गको अवरोध अब क्लियर हुँदै गएको बताए । बाग्मती पुलमा पनि बेलीब्रिज हाल्नुपर्ने अवस्था रहेको बताए । मेची राजमार्गको बेलिब्रिज बगाएकोले अहिले डाइभर्सन प्रयोग गरेको सुनाउँदै त्यो दसैँअघि नै सुचारु हुने बताए । यस्तै, अरनिको राजमार्ग बाह्रबिसे, दोलालघाट र धुलिखेल खण्ड क्लियर भएको उनको भनाई छ । दसैँअघि तातोपानी नाका चलाउन नसकिने उनले स्पष्ट पारे । 

उनले अहिलेसम्म प्रारम्भिक क्षतिको विवरण हेर्दा दुई अर्ब ५२ करोड क्षति भएको तथ्याङ्क पेस गरे । तर, विस्तृत विवरण आइपुग्दासम्म यो क्षतिको अङ्क बढ्न सक्ने उनको भनाई छ ।

देशव्यापी रूपमा क्षति भएका राजमार्गको स्थायी निर्माणको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिने र स्थायी रूपमा काम अघि बढाउने पोखरेलको भनाई छ । महामारीको अवस्थामा सडक विभागले सम्पूर्ण शक्ति लगाएर काम गरेकोले मिडियाले पनि प्रशंसा नै गरेको उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप