मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

सडक होइन सरकारसँग आक्रोशित छन् लाइनमा बसेका यात्रु

मङ्गलबार, १५ असोज २०८१, १६ : ५३
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । दसैँ नजिकिएसँगै उपत्यका छाड्नेहरूको सङ्ख्या क्रमशः बढ्दैछ । सडक सहज भएका गन्तव्यसम्म पुग्न मानिसहरूले बसको टिकट बुकिङ गरेका छन् । बिहीबारदेखि आएको अविरल वर्षाअघि नै दसैँमा गाउँ जानेहरूले टिकट बुकिङ गरे पनि सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदा यात्रुहरू अन्योलमा छन् ।  

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन यात्रुको भीड भने पातलिएको छैन । चाँडै सडकको अवरोध हट्ला र सहजै गाउँ फर्किने अपेक्षा लिएकाहरू काउन्टर अगाडि लाइन लागेका छन् । 

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा पूर्वको बिर्तामोड, ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भिडभाड छ ।

सरकारले अनलाइनमार्फत टिकट बुक गर्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि लाइनमा बसेर टिकट काटिरहेका भेटिन्छन् । 

हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै १० लाख यात्रुले टिकट बुकिङ गरिसकेको व्यवसायीहरूको भनाइ छ । 

काठमाडौँको गंगबु बसपार्कमा टिकटको लागि समस्या नभए पनि मौसम प्रतिकुलका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् । लगातार तीन दिन अविरल वर्षा काठमाडौँ जोड्ने सडकहरू अवरुद्ध हुँदा पूर्व र पश्चिम जाने यात्रुहरू बढी मर्कामा परेका हुन् । 

तर अविरल वर्षा सकिएको पछिल्लो तीन दिनसम्म गाडी गुड्न नसक्दा यात्रुहरूमा आक्रोशित देखिन्छन् । सडक सुचारु गर्न सरकारले पर्याप्त काम नगरेकोप्रति यात्रुहरू आक्रोशित बनेका हुन् । 

यात्रुहरूले फरक फरक गुनासो गरिरहेका छन् । कतिपय यात्रु दसैँको लागि भनेर विदेशबाट नेपाल आएका छन् । काठमाडौँबाट गाउँ जान नपाएर चिन्तामा रहेका उनी सरकारप्रति बढी रुष्ट छन् । नेपालको सडक र सरकारको कार्यशैली देखेर आफू दिक्क भएको नयाँ बसपार्कमा भेटिएका विष्णु पराजुलीको भनाइ छ ।

‘सडक अवरुद्ध छ । विदेशबाट आएको तीन दिन भइसक्यो । सडक अहिलेसम्म खुल्न सकिरहेको छैन । धेरै जना काठमाडौँमै अड्किएर बस्दा दिक्क भइसक्यो, खर्च बढिरहेको छ । यातायात व्यवसायी महासंघले पनि गाडी पठाउन सकेको भए सजिलो हुन्थ्यो,’ पराजुलीले भने । 

पराजुलीलाई जस्तै अन्य यात्रुहरूलाई पनि दसैँको समयमा घर पुग्न उत्तिकै हतार  छ । तर यस्तै पीडा सुनाउँदै नयाँ बसपार्क क्षेत्रमै भेटिएका यात्रु रमेश क्षेत्रीले भने,‘उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका प्रकाशमान सिंह काठमाडौँकै जन प्रतिनिधि हुन । तर बसपार्कमा सयौँ मानिसहरू मान्छे भोकै छन् । कतिले पानी समेत पिउन पैसा नभएको अवस्था छ तर सिंह जस्ता जनप्रतिनिधिहरूको कुनै सहयोग र सद्भाव छैन ।’

उनले  भने, ‘म विदेशबाट आएको हुँ । म सँग त पैसा होला तर तीन दिनसम्म टिकटको लागि बसपार्कमै भोकै बसेका धेरै जना छन् । गाडी होल्ड हुँदा यहीँ काठमाडौँ  क्षेत्रका जनप्रतिनिधिहरूले यात्रुहरूप्रति ध्यान दिनुपर्ने होइन र ?’

क्षेत्रीले काठमाडौँ महानगरका प्रमुख बालेन शाहले पनि बसपार्कतिर आफ्नो ध्यान लगाउन आग्रह गरे । उनले सडक खुलाउने प्रयासमा सरकारले नेपाल प्रहरी, सेना र सशस्त्रहरूलाई दुःख दिइरहेको तर आवश्यक बजेट एवम् इक्युमेन्टहरु उपलब्ध नगराएकोमा आक्रोश व्यक्त गरे । 

बस चालक राकेश भट्टले पनि चार दिनसम्म आफ्नो गाडी उपत्यका भन्दा बाहिर जान नसक्दा खर्च धान्नै मुस्किल पर्ने बताए । उनले विपद्‍मा सरकारले सहयोग नगर्ने हो भने यस्तो सरकारको आवश्यक नभएको बताए ।  

उनले भने, ‘हप्ता दिन हुन लाग्यो यता बसेको, धेरै आपत् आई लागिसक्यो । विपद्‍को समयमा प्रधानमन्त्री अमेरिका घुम्न मिल्छ ? जनताको केही चासो गर्दैनन् । सरकारलाई पहिले नै जानकारी भइसकेको थियो बाढी र पहिरोमा परेर मान्छेहरू अलपत्र छन् भनेर ।तर सरकार कानमा तेल हालेर सुत्यो । फसेका यात्रुहरूलाई उद्धार गर्न कुनै सरकारी निकाय पुगेन । मरिसकेपछि लास मात्र गन्नका लागि सरकार उद्धारको नाटक गर्न दुर्घटनाग्रस्त क्षेत्रमा पुग्यो ।’

साथै उनले गरिबहरूको लागि सरकारले केही गर्न नसकेको बताए । उनले जनताको समस्यामा नपुग्ने जनप्रतिनिधिहरू बस किन राती चलाएको भनेर उल्टै बस व्यवसायीहरूलाई थर्काएको उनले गुनासो पोखे ।

उनले राती बस नचलाउने सरकारको निर्णय राम्रो भए पनि पहलकदमी नगरी सञ्चालनमा रोक लगाउनु उचित नहुने बताए । उनले दुई वटा पार्टी मिलेर सरकार बनाउने तर पहलकदमी गरेर  निर्णय लिन नसक्ने सरकार कसैलाई नचाहेको बताए । 

अहिलेको सरकारप्रति सबैको गुनासो त छँदै तर युवापुस्ताले सबैभन्दा बढी गुनासो गरिरहेको अवस्था छ ।  यस्तै अर्का यात्रु अनिल गुप्ताले सरकारले पहल गरेको भए धेरै दिनसम्म यात्रु यसरी अलपत्र नपर्ने बताए । उनले सरकारले कुनै हिसाबबाट पनि पहल गरेको भए यात्रुहरू आफ्नो आफ्नो घर पुगिसक्ने बताए ।

सरकारले घुम्नमा एक करोड खर्च गर्न सक्ने तर सडक सञ्जालको लागि एउटा डोजर किन्न नसक्नु लाजमर्दो भएको उनले बताए । सरकारसँग गुनासो भए पनि यात्रुहरूलाई टिकटमा समस्या नभएको उनीहरूको भनाइ छ । 

तर पहाडी जिल्लाहरूमा जानको लागि एउटा मात्र रुट भएकाले हुम्ला र दार्चुला जाने यात्रुहरू थोरै समस्यामा परेको तुलसीपुर यातायात प्राइभेट लिमिटेडका काठमाडौँ शाखा प्रमुख रमेश गौतमले बताए । उनले यात्रुहरूले दुःख नपाउन भन्नकै लागि मोबाइल तथा अनलाइनबाट टिकट खुला गरिएको समेत बताए ।

उनले बसमा तोकिएको भाडा भन्दा कसैले बढी लिएको पाइए कारबाही गरिने बताए । उनले गाडी सडक अवरुद्ध हुँदा कुनै यात्रु विशेष कारणले जान सक्ने अवस्था नभए पैसा समेत फिर्ता गरिने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर सडकको अवस्था ठिक नभएसम्म गाडी गुडाउन नसकिने बताउँछन् । बुकिङ खुलाएको पहिलो दिन यात्रुहरूको भीड अत्यधिक भए पनि हाल भीड घट्दै गएको बताउँछन् । ‘बाटो नखुलिकन बुकिङ मात्र गरेर भएन । जब राजमार्ग सुचारु हुन आउँछ त्यसपछि टिकटको विषय सहजीकरण गर्दै जाने छौँ,’ उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग घटस्थापनासम्म सडकलाई ठिक बनाउने र त्यसपछि धमाधम यात्रुलाई सहज सेवा दिने सहमति भएको भए पनि अब त्यो सम्भव नभएको उनले बताए ।

‘पहिरो खुलाएपछि पनि ढुक्कले यात्रा गरिहाल्नुपर्ने अवस्था छैन । अझै घाम लागेपछि सुक्खा पहिरो त जान्छ जान्छ । तर, सरकारको संयन्त्र र सडकमा काम गरिरहेकाहरूसँग भएको स्रोत र साधनलाई पुरै परिचालन हुने गरेर रातदिन नभनी दसैँभरि परिचालन गर्नुपर्ने स्थिति छ,’ अध्यक्ष स्वाँरले भने । 

आकांक्षा धामी / नेपाल न्यूज बैंक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप