मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

काष्ठमण्डपले जित्यो दोहोरो उपाधि

मङ्गलबार, १५ असोज २०८१, १६ : ४८
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ  । आयोजक काष्ठमण्डप विद्यालयले दोस्रो काष्ठमण्डप कपमा मंगलबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप सिनियर ब्वाइज र जुनियर ब्वाइजको फुटसल प्रतियोगितामा च्याम्पियन बनेको हो ।

सिनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौँ प्रज्ञाकुञ्ज स्कुललाई ४–० गोलले पराजित गर्‍यो । काष्ठमण्डपका मानव सुब्बाले दुई तथा अविग्नसिंह ठकुरी र कृयश सापकोटाले समान १–१ गोल गरे । मानव प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भए । काष्ठमण्डपकै रोनक प्रधान उत्कृष्ट गोलरक्षक चुनिए ।

यसैगरी, जुनियर ब्वाइज फाइनलमा काष्ठमण्डपले रातो बंगलालाई ६–२ गोलले हरायो । काष्ठमण्डपका लागि सहज ढकालले ह्याट्रिकसहित चार गोल गरे । गिरिश घिमिरेले दुई गोल थपे । सहज उत्कृष्ट खेलाडी घोषित भए । काष्ठमण्डपका आरम्भ श्रेष्ठ उत्कृष्ट गोलरक्षक ठहरिए ।

यसैगरी, फुटसलकै सिनियर गल्र्सतर्फको उपाधि काठमाडौँ वर्ल्ड स्कुलले जित्यो । उपाधि भिडन्तमा काठमाडौँ वर्ल्ड स्कुलले जोन डेवीलाई सडन डेथमा पाखा लगायो । निर्धारित समयको खेल १–१ बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो । जोन डेवीकी रियान्सी त्रिपाठी उत्कृष्ट खेलाडी र काठमाडौँ वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलरक्षक बने ।

यसैगरी, बास्केटबलमा टीआईए र एनसीसीएसले उपाधि जिते । टीआईए ब्वाइज र एनसीसीएस गल्र्समा पहिलो भए । ब्वाइजको फाइनलमा टीआईएले विल्सन एकेडेमीमाथि ४५–४४ अङ्कको कठिन जित दर्ता गर्‍यो ।

गल्र्सतर्फको उपाधि भिडन्तमा भने एनसीसीएसले काष्ठमण्डपलाई २७–२१ अङ्कले पराजित गर्‍यो । ब्वाइजमा टीआईएका रोशन नगरकोटी तथा गल्र्समा एनसीसीएसकी दिभा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल एवं निर्देशक डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक ईला पियालगायतले पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा आठ टोलीले प्रतिस्पर्धा गरेको जानकारी काष्ठमण्डपका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले दिए । फुटसलको सिनियर ब्वाइजमा र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा आठ टोली सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप