बल्खुको सुकुम्बासी बस्तीबाट माओवादीले सुरु गर्यो स्वयंसेवक परिचालन अभियान (तस्बिरहरु)
![बल्खुको सुकुम्बासी बस्तीबाट माओवादीले सुरु गर्यो स्वयंसेवक परिचालन अभियान (तस्बिरहरु)](https://npcdn.ratopati.com/media/news/mao-sukumbasi_8iggPxoUuz.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले बल्खुको सुकुम्बासी बस्तीबाट स्वयंसेवक परिचालन अभियान सुरु गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि पार्टीले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको शुभारम्भ गरेका हुन् ।
सो क्रममा प्रचण्डले विपद् व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरे ।
मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे ।
२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।