मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

आक्रामक भारतले दोस्रो टेस्टमा पनि बंगलादेशलाई हरायो

मङ्गलबार, १५ असोज २०८१, १४ : २२
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । भ्रमणकारी टोली बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत सात विकेटले विजयी भएको छ । दोस्रो टेस्टको पाँचौँ तथा अन्तिम दिन मंगलबार बंगलादेशले दिएको ९५ रनको लक्ष्य भारतीय टोलीले १७.२ ओभरमा तीन विकेट गुमाएर ९८ रन बनाउँदै पार गर्‍यो ।

भारतले पाँचौँ दिनको खाना समय लगत्तै जित हात पारेको हो । जितसँगै घरेलु टोली भारतले दुई टेस्टको शृङ्खला पनि २–० ले आफ्नो पक्षमा पारेको छ । यसअघि खेलिएको पहिलो टेस्टमा भारत दुई सय ८० रनले विजयी भएको थियो ।

कानपुरमा खेलिएको खेलमा भारतका लागि दोस्रो इनिङ्समा यशस्वी जैसवालले अर्धशतक बनाए । उनले ५१ रनको योगदान गरे । उनले ४५ बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काए । विराट कोहलीले पनि अविजित २९ रन बनाए ।

कप्तान रोहित शर्मा आठ रन बनाउँदै आउट भए भने तेस्रो नम्बरमा क्रिज समाल्न आएका शुभमन गिल पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । ऋषभ पन्त चार रनमा अविजित रहे । बंगलादेशी टोलीका बलर मेहदी हसन मिराजले दुई र तैजुल इस्लामले एक विकेट लिए ।

त्यसअघि मंगलबार नै बंगलादेशी टोली आफ्नो दोस्रो इनिङ्समा केवल एक सय ४६ रन बनाउँदै अलआउट भएपछि भारतले जितका लागि झिनो लक्ष्य पाएको थियो । दोस्रो इनिङ्समा भारतका लागि ओपनर ब्याट्सम्यान सादमन इस्लामले अर्धशतक बनाए पनि अन्य खेलाडीको प्रदर्शन अत्यन्तै निराशाजनक थियो ।

सादमन इस्लामले ५० रन बनाएका थिए । अर्का ओपनर जाकिर हसन १० रन बनाउँदै आउट भएका थिए । कप्तान नजमुल होसैन सान्टो १९ रनमा पेभेलियन फर्किएका थिए । मुसफिकर रहिमले टोलीको खातामा ३७ रन थपेका थिए । उनले ६३ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए ।

दोस्रो इनिङ्समा बंगलादेशका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन् । हसन महमुद चार र मोमिनुल हक दुई रनमै पभेलियन फर्किएका थिए । लिटन दास एक र सकिब अल हसन शून्य रनमै आउट भएका थिए । हेहदी हसन मिराजले नौ रन बनाएका थिए । खालिद अहमद भने पाँच रनमा अविजित रहेका थिए ।

भारतीय टोलीका बलरसामु निरीह देखिएका बंगलादेशी ब्याट्सम्यान एकपछि अर्को गर्दै पभेलियन फर्किएका थिए । भारतीय बलर रविचन्द्रन आश्विन, रविन्द्र जडेजा र जसप्रित बुमराहले तीन–तीन विकेट हात पारे । आकाश दीपले पनि एक विकेट लिएका थिए ।

बंगलादेशले दुई विकेटको नोक्सानीमा २६ रनको स्थितिबाट मंगलबारको खेल अगाडि बढाएको थियो । अघिल्लो दिनसम्म दोस्रो टेस्ट बराबरीमा टुंगिने सम्भावना देखिएको थियो । तर, दोस्रो इनिङ्समा बंगलादेशी ब्याट्सम्यानले लज्जास्पद प्रदर्शन गरेपछि भारत जितको सँघारमा पुगेको थियो ।

त्यसअघि भारतीय टोलीले नौ विकेटको नोक्सानीमा दुई सय ८५ रन बनाउँदै आफ्नो पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । भारतले इनिङ्सको आक्रामक सुरुवात गरेको थियो । दोस्रो टेस्टको चौथो दिन सोमबार भारतले ३४.४ ओभरमात्र ब्याटिङ गरेको थियो ।

भारतीय टोलीले पहिलो इनिङ्समा बंगलादेशसँग ५२ रनको अग्रता हासिल गरेको थियो । भारतका लागि पहिलो इनिङ्समा ओपनर यशस्वी जैसवालले ७२ रन बनाएका थिए । उनले ५१ बलमा दुई छक्का र १२ चौका प्रहार गरेका थिए । कप्तान समेत रहेका अर्का ओपनर रोहित शर्मा २३ रन बनाउँदै आउट भएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान शुभमन गिलले ३९ रन जोडेका थिए । मध्यक्रमका ब्याट्सम्यान केएल राहुलले भने टोलीको खातामा ६८ रन थपेका थिए । उनले ४३ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए । विराट कोहलीले पनि ४७ रन बनाएका थिए ।

आकाश दीपले १२ रन बटुलेका थिए । भारतीय टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन् । बंगलादेशका बलर मेहदी हसन मिराज र सकिब अल हसनले चार–चार विकेट लिएका थिए । हसन महमुदले पनि एक विकेट हात पारेका थिए ।

बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतीय टोलीले दुई कीर्तिमान पनि बनायो । कानपुरमा जारी खेलको चौथो दिन भारतले टेस्टमा सबैभन्दा छिटो अर्धशतक र सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएको हो ।

भारतीय टोलीले केवल तीन ओभरमै ५० रन बनाएको थियो । त्यसअघि टेस्ट क्रिकेटमा इङ्ल्यान्डले ३० वर्ष पहिले वेस्ट इन्डिजविरुद्ध ४.२ ओभरमा ५० रन बनाएको थियो । भारतले अहिले त्यही कीर्तिमान तोडेको हो ।

त्यसलगत्तै भारतले टेस्ट क्रिकेटमा सबैभन्दा छिटो शतकको कीर्तिमान पनि बनायो । भारतले आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै केवल १०.१ ओभर (६१ बल) मा एक सय रन बनाएको थियो । त्यसअघि पनि यो कीर्तिमान भारतकै नाममा थियो ।

भारतले यसअघि सन् २०२३ मा पोर्ट अफ स्पेनमा खेलिएको वेस्ट इन्डिजविरुद्धको टेस्टमा १२.२ ओभरमा एक सय रन बनाएको थियो । त्यसअघि सन् २००१ मा श्रीलंकाले कोलम्बोमा खेलिएको बंगलादेशविरुद्धको टेस्टमा १३.१ ओभरमा एक सय रन बनाएको थियो ।

बंगलादेशी टोली भने दोस्रो टेस्टको चौथो दिन सोमबार आफ्नो पहिलो इनिङ्समा ७४.२ ओभरमा दुई सय रन ३३ बनाउँदै अलआउट भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगदोशले तीन विकेटको नोक्सानीमा एक सय सात रनको स्थितिबाट चौथो दिनको खेल अघि बढाएको थियो ।

पहिलो दिन शुक्रबार केवल ३५ ओभरको खेल सम्भव भएको थियो । त्यसपछि दोस्रो र तेस्रो दिनको खेल वर्षाका कारण रद्द भएको थियो । चौथो दिन सोमबार बंगलादेशी टोलीका लागि मोमिनुल हकले शतक बनाएका थिए । उनले टोलीका लागि अविजित एक सय सात रनको योगदान गरेका थिए ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले एक सय ९४ बलको सामना गरी एक छक्का र १७ चौका पनि हिर्काएका थिए । ३३ वर्षीय अनुभवी ब्याट्सम्यान मोमिनुल हकले टेस्ट क्रिकेटमा बनाएको यो १३औँ शतक हो । उनले टेस्ट क्रिकेटमा १९ अर्धशतक पनि प्रहार गरेका छन् ।

मुसफिकर रहिम भने ११ रन बनाउँदै आउट भएका थिए । बंगलादेशले इनिङ्समा पनि निराशाजनक सुरुवात गरेको थियो । केवल २९ रनको कुल स्कोरमा बंगलादेशले आफ्ना दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो । ओपनर जाकिर हसन खाता खोल्नुअघि नै पभेलियन फर्किएका थिए । अर्का ओपनर सादमन इस्लामले भने टोलीको खातामा २४ रन थपेका थिए ।

चौथो नम्बरका क्रिज समाल्न आएका कप्तान नजमुल होसैन सान्टो पनि लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । उनी ३१ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान लिटन दासले १३ रन बनाएका थिए भने सकिब अल हसन पनि नौ रनमै पभेलियन फर्किएका थिए । मेहदी हसन मिराजले २० रन थपेका थिए । तैजुल इस्लाम पाँच र हसन महमुद एक रनमा आउट भएका थिए ।

पहिलो इनिङ्समा घरेलु टोली भारतका बलर जसप्रित बुमराहले तीन विकेट लिएका थिए । आकाश दीप, रविचन्द्रन आश्विन र मोहम्मद सिराजले पनि दुई–दुई विकेट हात पारेका थिए । रविन्द्र जडेजाले पनि एक विकेट लिएका थिए ।

बंगलादेशविरुद्धको दोस्रो टेस्टमा भारतीय ब्याट्सम्यान विराट कोहलीले पनि एउटा कीर्तिमान बनाए । उनको नाम अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार रनको कोशेढुंगा पार गर्ने खेलाडीको सूचिमा थपियो । कोहली यस्तो उपलब्धि हासिल गर्ने विश्वकै चौथो क्रिकेटर बने ।

कोहलीले दोस्रो टेस्टको पहिलो इनिङ्समा यस्तो उपलब्धि हासिल गरेका हुन् । भारतको पहिलो इनिङ्समा व्यक्तिगत रूपमा ३५ रन बनाएसँगै कोहली यो सूचिमा परेका थिए । कोहली पहिलो इनिङ्समा ४७ रन बनाउँदै आउट भएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार रन पुरा गर्ने खेलाडीको सूचिमा कोहलीभन्दा अगाडि अस्ट्रेलियाका रिकी पोन्टिङ, श्रीलंकाका कुमार सांगाकारा र भारतका सचिन तेन्दुल्कर रहेका छन् ।

यो सूचिमा रहेका चार खेलाडीमध्ये कोहलीमात्र हाल अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय छन् । अन्य तीन खेलाडीले भने सन्न्यास लिइसकेका छन् । बंगलादेशविरुद्धको दोस्रो टेस्टअघि कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटको तीनवटै ढाँचामा पाँच सय ९३ इनिङ्स खेल्दै कुल २६ हजार नौ सय ६५ रन बनाएका थिए ।

अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको कुल रन २७ हजार ४१ पुगेको छ । यसका अतिरिक्त कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सचिन तेन्दुल्करको नाममा रहेको एउटा कीर्तिमान पनि तोडेका छन् । कोहली सबैभन्दा कम इनिङ्समा २७ हजार रन बनाउने खेलाडी बनेका छन् ।

यसअघि यो कीर्तिमान सचिनको नाममा थियो । सचिनले सन् २००७ मा ६ सय २३ इनिङ्स खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार रन पुरा गरेका थिए । तर, कोहलीले सचिनले भन्दा २९ इनिङ्स कम खेल्दै यो कीर्तिमान आफ्नो नाममा पारेका हुन् ।

सांगाकाराले ६ सय ४८ र पोन्टिङले ६ सय ५० इनिङ्स खेल्दै २७ हजार अन्तर्राष्ट्रिय रन पुरा गरेका थिए । कोहलीले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले हालसम्म टेस्ट क्रिकेटमा आठ हजार नौ सय १८ रन बनाएका छन् ।

यसैगरी, उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३ हजार नौ सय ६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार एक सय ८८ रन बनाएका छन् । थप चार सय ७१ रन बनाएसँगै कोहलीले सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीको सूचीमा पोन्टिङलाई पनि पछि पार्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप