मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

संसदीय समितिमा गृहमन्त्री लेखक : विपद् आउँदैछ भनेर  ५५ हजार व्यक्तिलाई भाइबर सन्देश पठायौँ

मङ्गलबार, १५ असोज २०८१, १४ : १९
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण व्यापक धनजनकाे क्षति हुनुपूर्व सचेत रहन भन्दै ५५ हजार जनालाई भाइबरमार्फत सन्देश पठाएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मौसम विभागले गरेको पूर्वानुमान अनुसार विपद् प्रतिकार्य स्वरूप हिमाली क्षेत्रमा पदयात्रामा रोक लगाएको, राजमार्गमा रात्रि बस चलाउन रोक लगायतका निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । 

साथै स्थानीय तहका जनप्रतिनिधिलाई विपद् हुँदैछ भनेर सतर्कता सन्देश पठाउने काम गरेको, मातहतका निकायलाई सतर्क गराएको उल्लेख गरे । 

उनले आफूले विज्ञहरूसँग बुझ्दा ५० वर्ष भन्दा यताकै ठुलो वर्षा भएको, काठमाडौँ र बागमती प्रदेशमा क्वाउड ब्रस्ट भएको उल्लेख गरे । उनले यस्तो बेला  सबै संयमित भएर विपद्‍काे सामना गर्नुको विकल्प नभएको बताए । 

बाढी पहिरोबाट २१८ जना मृत्यु, १४३ घाइते, ७० भन्दा बढी बेपत्ता भएको र  ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको बताए । 

विपद्काे बेलामा ३ हजार ९ सय नेपाली सेना, १२ हजार सशस्त्र प्रहरी, ७४ हजार नेपाल प्रहरी परिचालन गरी खोज तथा उद्धार, राहत, घाइतेलाई उद्धार, बन्द भएका राजमार्ग खुलाउने कुरालाई प्राथमिकता दिने काम भएको मन्त्री लेखकले बताए । नेपाली सेनाले हाल राजमार्गमा अलपत्र परेका व्यक्तिलाई उद्धार गर्ने काम, उपचार गर्ने काम गरिरहेको उनले बताए । 

सेनाले बीपि राजमार्ग, दक्षिण ललितपुरमा भएको विपद्मा उद्धार गर्ने काम गरिरहेको,  राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएकाे लेखकले बताए ।  बाढी पहिरोबाट मृतकका परिवारलाई २ लाख दिने, बेपत्ता भएको १० दिन बितेको छ भने मृतक सरह २ लाख दिने निर्णय भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप