अन्तरवार्तामा महिलाले मागिन् दोब्बर तलब, रोजगारदाता तत्कालै भए राजी
काठमाडौँ । जागिरका लागि अन्तरवार्ता निकै महत्त्वपूर्ण कडी हो । रोजगारदाताले आवेदकसँग विभिन्न प्रश्न गर्छन् । आवेदकको जवाफका आधारमा मूल्याङ्कन गरेर सम्बन्धित व्यक्ति आफ्नो कम्पनीका लागि उपयुक्त हो कि होइन भनेर छुट्ट्याइन्छ ।
न्यूयोर्कमा बस्दै आएकी एक महिलाले जागिरका लागि दिएको अन्तरवार्ताबारे सामाजिक सञ्जाल ‘रेड्डिट’मार्फत उजागर गरेकी छन् ।
मार्केटिङ क्षेत्रमा एक दशक लामो अनुभव भएकी ती महिलाले निकै दबाबपूर्ण परिस्थितिको काम गरिसकेकी थिइन् । उनलाई आफ्नो क्षमताबारे राम्रोसँग जानकारी थियो । त्यसैले उनी तुलनात्मक रूपमा कम तनावयुक्त काम गर्न चाहन्थिन् ।
उनले चाहेजस्तै कामका लागि एउटा विज्ञापन प्रकाशित भएको थियो । उनले सोही आधारमा जागिरका लागि आवेदन दिइन् । अन्ततः उनलाई अन्तरवार्ताका लागि निम्त्याइयो ।
यस क्रममा आफ्नो योग्यता रोजगारदातालाई मन परे पनि भरसक कमजोर आँक्न प्रयास गरेको उनको भनाइ छ । उनले कामको सिलसिलामा विदेशसमेत जानुपर्ने शर्त थाहा पाइन् । यो शर्त उनलाई मन परेन ।
यद्यपि उनले विदेश जानुपर्ने भएमा आफूलाई निर्धारितभन्दा दोब्बर तलब दिनुपर्ने माग गरिन् । रोजगार प्रदायक कम्पनीका अधिकारीहरूले उनलाई यस्तो कुरा अव्यावहारिक हुने बताए । अन्तरवार्तामै उनीहरूले यससँग सम्बन्धित प्रश्न गरे । जवाफमा ती महिलाले रोजगारीका लागि आवेदन माग गर्दा यस्तो शर्त नराखिएको, विदेश जानुपर्दा आफ्नो खर्च र तनाव बढ्ने लगायतका तर्क गरिन् । निर्धारित तलबले आफ्नो खर्च धान्न नसक्ने लगायतका उनको दलिलपछि अन्तरवार्ता समाप्त भयो ।
अन्ततः आफूलाई उनकै शर्त बमोजिम रोजगारी दिइएको ती महिलाले जनाएकी छन् ।्