मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
विपद् व्यवस्थापन

कोशी प्रदेशमा फेरि बाढीपहिरोको जोखिम, पूर्वतयारी के छ ?

क्षमताले भ्याएसम्म सबै तयारी गरिएको सरकारी भनाइ
मङ्गलबार, १५ असोज २०८१, १३ : ५२
मङ्गलबार, १५ असोज २०८१

विराटनगर । असोज १० गतेदेखि १३ गतेसम्म परेको वर्षाले देशभरको जनजीवन प्रभावित भयो । २ सयभन्दा बढी मानिसको ज्यान गयो भने अझै दुई दर्जनभन्दा बढी मानिसहरु बेपत्ता छन् । 

मौसम पूर्वानुमान महाशाखाले क्षतिको आङ्कलनसहित रेड अलर्ट जारी गरेको थियो । तर, सरकारले पूर्व तयारी गरेको देखिएन । जसका कारण क्षति बढी भयो । सरकारले अझै पनि राहत र उद्धारको काम प्रभावकारी ढङ्गले गर्न सकेको छैन । 

यसैबिच महाशाखाले बुधवारदेखि फेरि दुई दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको छ । कोशी प्रदेशमा आगामी बुधबार र बिहीबार फेरि लगातार पानी पर्ने भएपछि सर्वसाधारणमा चिन्ता छ । विगत तीन दिन अगाडि जस्तै पानी पर्ने र बाढी आउने पूर्वसूचना नभएपनि त्यस्तो अवस्था सिर्जना भए सरकारले थेग्न सक्ला ? प्रदेश सरकारको पूर्व तयारी के छ ? भन्ने विषयमा सर्वसाधारणको चासो छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले प्रदेश सरकारको क्षमताले भ्याएसम्म सबै तयारी गरिएको बताए । ‘हामीले पानी रहने बित्तिकै १३ गते नै चारैवटा सुरक्षा निकायका प्रमुख र मन्त्रालयका सचिवहरूको संयुक्त बैठक बोलाएर आ–आफ्नो तर्फबाट अलर्ट रहन, जनताको सेवामा समर्पित हुन निर्देशन जारी गरेका छौँ । मृतक परिवारलाई तुरुन्त राहत उपलब्ध गराउने, घाइतेको चाँडो उपचार गराउने, बेपत्ताको खोजी गर्ने र असुरक्षित स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण गराउने, विस्थापितहरूलाई वासस्थानको व्यवस्था र खाद्यान्नको व्यवस्थापन गर्ने निर्णय गरिसकेका छौँ,’ उनले भने, ‘प्रदेशले गर्नसक्ने जति गरेको छ । नसकेको ठाउँमा सङ्घसँग समन्वय गरेर गर्ने प्रयासमा लागेका छौँ ।’

उनले भत्किएका पुल, बाटो तथा कल्भर्टहरू पुनः निर्माणको काम सुरु गरिसकिएको बताए । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयलाई मुख्यमन्त्रीले निर्देशन दिइसक्नु भएको छ । त्यसैगरी औषधि उपचारको कुनै समस्या आउँदा स्वास्थ्य मन्त्रालयलाई निर्देशन भइसकेको छ । हाम्रो मन्त्रालयबाट राहत र उद्धारमा हामीले सुरक्षा निकायलाई समेत निर्देशन जारी गरिसकेका छौँ,’ अधिकारीले भने । 

lila ballav

उनका अनुसार पहिरो गएर बाटो अवरुद्ध भएको ठाउँमा जेसिबी लगाएर तुरुन्तै बाटो खोल्ने, जहाँ बाटो ध्वस्त भएको र पुलै भत्किएको छ भने त्यहाँ के गर्न सकिन्छ भनेर प्रदेश सरकारले छलफल गरिहरेको छ ।

 ‘तत्कालै पक्की पुलै बनाउन सकिँदैन होला । तर, बेलिब्रिजसम्म भएपनि दसैँ अगाडि नै लगाउन सक्ने गरी प्रक्रिया अगाडि बढाएका छौँ । अहिलेसम्म बेलिब्रिज लगाउनु पर्ने पाँचथरको हेवा खोलामा रहेको छ । अन्य स्थानमा सानातिना पुल, पुलेसो भत्काएको छ । गर्न सक्ने हामी गर्छौँ । गर्नै नसक्ने त हामीले गर्न सक्दैनौँ । अरू आलोचना सहनेभन्दा अर्को विकल्प नै छैन,’ अधिकारीले भने । 

 

उनले राहत र उद्धारका लागि पर्याप्त सामाग्रीहरू तयारी अवस्थामा राखेको बताए । ‘उद्धार र राहतको लागि सामाग्रीहरू तयारी अवस्थामा छ । उपचार नपाएर र खान नपाएर कोशीबासी जनताले मर्नु पर्दैन । त्यसको सम्पूर्ण प्रबन्ध गरेका छौँ । मृतकको परिवारलाई पनि जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेर आएको खण्डमा प्रदेश सरकारले तुरुन्तै राहत दिन्छ,’ ललितपुरको नख्खुमा जस्तै नदीको बिचमा बसेर हात हल्लाउनु पर्ने अवस्था आयो भने तपाईँहरूले उद्धार गर्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘सक्ने जति ठाउँमा हाम्रो कुनै बाँकी रहँदैन । बेलका र कोशी टप्पुमा पनि हामीले बोटबाट उद्धार गरेका हौँ । त्यस्तो अवस्था हामी आउन दिँदैनौँ । हामी जिम्मेवारीपूर्वक उच्च सतर्कताका साथ लागेका छौँ ।’

फेरि बाढी, पहिरो र वर्षा हुनसक्ने विषयमा पनि छलफल गरेर प्रतिकार्य योजना बनाएको उनले बताए । ‘सर्वसाधारण जनतालाई सम्भावित प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा स्थानान्तरण हुन अपिल गरेका छौँ । सम्भावित ठाउँको हामीले पहिचान गरिसकेका छौँ । नदी किनारका ठाउँ, सम्भावित पहिरो जाने ठाउँ, गहिरो स्थानका मानिसहरूलाई सुरक्षित रहन भनेका छौँ,’ उनले भने, ‘सङ्घ, प्रदेश, जिल्ला र स्थानीय स्तरमा भएका दैवी प्रकोप राहत उद्धार तथा विपद् प्रतिकार्य समिति रहेका छन् । त्यसले सबै ठाउँमा सूचना दिइसकेको छ । कोशीमा तुलनात्मक रूपमा कम क्षति भएको छ । सतर्कता अपनाउँदा अपनाउँदै पनि केही दुःखद भएका घटनाहरू भएका छन् ।’

उनले कोशी प्रदेश डेन्जर जोनमा रहेको बताउँदै यस्तो अवस्थामा पनि प्रदेश सरकारले सतर्कताका साथ काम गरेको कारण बढी क्षति हुन नपाएको दाबी गरे । ‘कतिपय स्थानमा हामीले जारी गरेका सूचना र एलर्टहरुको उल्लङ्घनको कारणले पनि क्षति भएको छ । काबु बाहिरको परिस्थितिमा कसैले केही गर्न सक्दैन । तर, सक्ने जति हामीले तयारी गरेका छौँ । राज्यको तागतले भ्याएसम्म हामी लागेका छौँ,’ अधिकारीले भने । 

प्रदेशमा २२ जनाको मृत्यु

कोशी प्रदेशमा पछिल्लो पटक बाढी, पहिरो र डुबानबाट २२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दर्जन भन्दा बढी घाइते भएका छन् भने आधा दर्जनभन्दा बढी बेपत्ता छन् । 

प्रहरीले दिएको जानकारी अनुसार प्रदेशमा पूर्ण रूपमा १९ वटा पक्की घर भत्किएको छ भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ । 

saptakoshi_RCtYrsbmu7 (1)

१३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ । बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।

प्रहरीले दिएको तथ्याङ्क अनुसार ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवार सङ्ख्या स्थानान्तरण गरिएको छ । ९९ घर अहिले पनि उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । 

बाढी, पहिरो र डुबानबाट भएको क्षतिको खोज, उद्धार र राहतका लागि प्रदेशभरमा १ हजार ९२ जना प्रहरी परिचालित भएका छन् । हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, सङ्खुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुङ्गामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप