बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

‘सुगर ड्याडी’को बयान : ‘मलाई केटीको केस लगाएर फसाउँछु भनेपछि डामेको हुँ’

४ पक्राउ, दुई जनाविरुद्ध मुद्दा
मङ्गलबार, १५ असोज २०८१, १३ : ३२
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । युवा–युवतीलाई रडले डामेर यातना दिएको आरोपमा पक्राउ परेका ‘सुगर ड्याडी’ भनिने आशिष देउलाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

 प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ । ३३ वर्षका देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए । 

बा.७ च ६४६१ नम्बरको पजेरोमा राखेर उनको समूहले भदौ ७ मा विशाल पोडेलाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर यातना दिएको थियो ।  पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर उनीसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तर, आशिष र उनको समूहका उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङलाई मात्र प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ । 

५–६ महिना अघि चिनजान भएका विशालले आफूलाई ‘तँलाई केटीको केस लगाई फसाइदिन्छु’ भनेर धम्क्याएपछि बिजुलीबाट पानी तताउन मिल्ने इलेक्ट्रिक रडले उनलाई डामेर यातना दिएको आशिषले स्विकारेका छन् । बयानमा उनले भनेका छन्, ‘मेरो भतिज नाताको मानिसलाई किन खुकुरी हान्न खोजेको भनेर कुरा गर्ने क्रममा डामेको हुँ ।’ 

पीडितकै मामाको घरमा कपडा खोल्न लगाएर डामेको र ‘घर लगिदिन्छु’ भन्दा नमानेपछि छाडेर हिँडेको देउलाले बताएका छन् । 

आशिष देउलाको बयान 

 जाहेरवाला विशाल पोडेसँग  विगत ५–६ महिना अगाडिदेखि चिनजान भएको हो । उसलाई मैले नाइट क्लबमा जानेक्रममा निजको भाइ नेहाल पोडे मार्फत विगत चिनेको हुँ । चिनजानपछि निजले मलाई फोन गरी एक्कासि अपशब्द प्रयोग गरी गाली गलौच गरी मलाई काठमाडौँ ठमेलमा रहेको सुगर क्लब मुनी बोलाई १०–१२ जना अन्य व्यक्तिहरू समेत भेला जम्मा पारी मलाइ कुट्ने तयारी गरेका रहेछन् । म सो ठाउँमा पुग्नासाथ निजहरूले मलाई कुट्न लागेको र सोही अवस्थामा उक्त क्लबमा रहेका बाउन्सर समेतलाई खबर गरी प्रहरी टोली समेत आई सकेपछि निजहरू सो ठाउँबाट भागी गएका थिए । पछि निज विशाल पोडेले मलाई पुन फोन गरी गाली गलौच गर्ने, धम्क्याउने जस्तो कार्य गरेको र तँलाई केटीको केस लगाई फसाई दिन्छु भनी धम्क्याउने गरेको थियो । हामी सबै मिली निज विशाल पोडे र निजको साथी निमा भन्ने व्यक्तिलाई सम्झाई बुझाई यसरी अब यसरी फोनमा कुराकानी नगर्ने र धम्क्याउने भनी हामी सबै भई मौखिक सहमति समेत गरेर कुरा टुङ्ग्याइ सकेका थियौँ । 

निजहरूसँग कुरा टुङ्ग्याइ  सकेको भएता पनि निज विशाल पोडेले  मेरो बिरामी भएको भतिजलाई विगत १५ दिन अगाडितिर खुकुरी लिएर हान्न गएको भन्ने खबर मैले सुनेको हुँदा निज जाहेरवालाको भाइले नेहाल पोडेलाई बोलाई तिम्रो दाइलाई राम्रोसँग सम्झाइदेऊ, तिमी पनि झगडा नगर भनी निजलाई समेत सम्झाइ बुझाई गरेका थियौँ । त्यसको भोलिपल्ट निज विशाल पोडेलाई लगनमा रहेको जात्रामा बोलाई निजको मामाघरमा लगी कुरा गर्ने क्रममा निजको र हामी बिचमा हात हालाहालको अवस्था भएको कारण म लगायत म सँग गएका सुबेल पुजारी, ओजस्वी तामाङ र विशाल पोडेको साथी समेत भई निजलाई पाइप जोड्न प्रयोग गर्ने फलामको आइरन तताई ढाडमा डामेको हो । 

मैले निजलाई जबरजस्ती गाडीमा राखेको छैन । म आफूले गाडी चलाएको र म सँगै गएका ओजस्वी तामाङ र निज जाहेरवाला तथा निजको साथी सुबेल पुजारी सँगै भएको हुँदा मैले निज विशाल पोडेलाई मेरो भतिज नाताको मानिसलाई किन खुकुरी हान्न लागेको भन्ने विषयमा कुरा गर्न तिम्रो आमालाई पनि कुरा गर नत्र तिम्रो  घरमा जाऊँ, नभए प्रहरी कार्यालयमा जाऊँ भन्दा निजले घरमा जाँदा अमालाई नराम्रो हुन्छ, मेरो मामाको घर नजिकै छ, त्यहीँ जाऊँ भनी मलाई भनेको हुँदा मैले गाडी चलाई निज पछाडि बसी निजले भने निजको मामा भन्ने मानिसको घरमा गएका हौँ । जाँदा निजलाई कुनै प्रकारको डर त्रास तथा धम्की केही दिएको छैन, निज राजी खुसी साथ हाम्रो साथ लागि गएका हुन् । मैले निजलाई मेरो आफन्तको घरमा लगेको होइन । निजले मेरो मामाको घरमा जाऊँ भनेको हुँदा निजले भने अनुसार निजको मामाको घरमा गएका हौँ । सो घरमा गएपछि निज विशाल पोडे, यकिन नाम थर वतन थाहा नभएको निजको साथी, निजले  साथी भनेर  बोलाउनले गरेको सुबेल पुजारी, म , ओजस्वी तामाङ र निजको मामा भन्ने घर धनी समेत कोठामा भएको अवस्थामा निज खाटमा बसेको र पछि मैले निजलाई तैले लगाएका लुगा खोल भनी धम्कीपूर्ण भाषा प्रयोग गरी मैले भनेको हुँदा निजले आफूले लगाएको माथिको लुगा खोलेको हुँदा मैले पाइप जोड्नको लागि प्रयोगमा ल्याउने गरेको फलामको अइरन तताई ज्यान मार्ने उद्देश्यले निजको ढाडमा डामेको हुँ । 

निजलाई कोठामा लगिसकेपछि मेरो भतिज पर्ने केटालाई निज समेत मिलि खुकुरी हानेको र पुन अर्काे भतिजलाई  समेत खुकुरी हान्ने कुरा गरेको भन्ने मैले थाहा पाएको हुँदा के कति कारणले खुकुरी हानेको हो भनी निजलाई सोधेको थिएँ, निजले सो विषयमा केही नबताएको कारण मैले निजलाई खाटबाट भुईँमा बस्न लगाई लुगा समेत खोल भनेको र सोही समयमा को कसले मलाई फलामको आइरन तताएर ल्याइ दिएको हुँदा सोही आइरनले मैले निजलाई ज्यान मार्ने उद्देश्यले डामेको हो । निजलाई मैले फलामको अइरनले ४ पटक सम्म डामेको याद छ, सो बाहेक अन्य कसले कति पटक डामेका हुन मलाई याद भएन् । मैले निजलाई फलामको तातो आइरनले डाम्दा घर धनी सोही कोठा भित्र थिए । निज विशाल पोडेको पहिले अन्य केटाहरूसँग समेत झगडा परेको रहेछ, सोही विषयमा निजसँग कुरा गरी रहेको थिए, अन्य कुनै भूमिका छैन । 

मैले निज विशाल पोडेलाई डाम्नको लागि प्रयोगमा ल्याएको आइरन प्रहरीले मेरो घरबाट बरामदी मुचुल्कामा उल्लेख गरी बरामद गरी ल्याएको छ । उक्त बरामदी मुचुल्कामा बरामद गरिएका चिज वस्तुहरु लेखिएको ठाउँको सिनं २ मा उल्लेखित पाइप हिटर थान १ लेखिएको फलामको आइरले नै निजलाई डामेको हुँ । बरामद गरिएको क्वाइलको भागमा पहेलो रङ भएको बिजुलीबाट तताउन मिल्ने इलेक्ट्रिक आइरनले नै निजलाई डामेको हो । डामी सकेपछि मैले घर लगिदिऊँ भन्दा निजले पर्दैन आफैँ जान्छु भनेका हुँदा निजलाई सोही घर नजिकै रहेको बाटोमा छाडेर हामी मेरो गाडीमा फर्किएका हौँ । 

४ पक्राउ, दुई जनाविरुद्ध मुद्दा 

देउला बुढानीलकण्ठमा बस्छन् । उनले घरमा लगेर निमा नाम गरेका अर्का किशोरलाई यातना दिएको अनुसन्धानबाट थाहा भएको छ । क्लबमा भेट्ने युवायुवतीलाई ‘हाउस पार्टी’ गर्ने भनेर आशिषको समूहले बुढानीलकण्ठ र लगनमा लगेर यातना दिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । देउलाको समूहमा २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङ पक्राउ परेका थिए । उनीहरूमध्ये दुई जना विरुद्ध मात्रै मुद्दा दर्ता गर्ने निर्णय गरिएको हो । 

धनी बाबुका छोरा आशिष रात्रि क्लबको नियमित ग्राहक हुन् । सिनेट, ओम्निया र एलओडीमा उनी निरन्तर जान्छन् । पीडित विशाल भन्छन्, ‘मैले उहाँलाई सिनेटमा भेटेको हुँ ।’

क्लबमा जाँदा उनी समय–समयमा नकाब लगाएर जान्थे । बुढ्यौली झल्किने नकाब लगाएर क्लबमा जाने र किशोर किशोरीलाई आकर्षित गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

उनको सुगर ड्याडी–५० म नामको टिकटक आइडी छ । सो आइडीमा नकाब लगाएर उनले पैसा फालेको भिडियो देखिन्छ । पैसा उडाएको बारेमा अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘बैंकबाट ऋण लिएको पैसा उडाएर भिडियो बनाएको हुँ, त्यो मेरो सोख हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप