मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु

मङ्गलबार, १५ असोज २०८१, १३ : ०८
मङ्गलबार, १५ असोज २०८१

पर्वत । बडादसैँ लगायतका चाडपर्व नजिकिँदै गएपछि यहाँका स्थानीय तहहरूले अवरुद्ध सडक मर्मत गर्न थालेका छन् । जिल्लाका सातै स्थानीय तहले ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति गठन गरी काम थालेका हुन् । 

यहाँको जलजला गाउँपालिकाले कार्यतालिका बनाएर सबै वडामा अवरुद्ध ग्रामीण सडक मर्मत गर्न थालेको गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । पालिकाले आफ्नै डोजर परिचालन गरेको उपाध्यक्ष आचार्यले बताए । तीन/चार दिनमा सबै सडक सफा गरिसक्ने उनको भनाई छ । 

पैँयु गाउँकार्यपालिकाको बैठकले पनि वर्षायाममा अवरुद्ध सबै सडक मर्मत गरेर सुचारु गर्ने निर्णय गरेको छ । उपभोक्ता समिति र ठेकेदार मार्फत सञ्चालित आयोजनाहरू तत्काल मर्मत गर्न लगाइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । उनका अनुसार घटस्थापना अघि नै सबै सडक सुचारु गर्ने तयारी छ । 

विहादी गाउँपालिकाले अवरुद्ध ग्रामीण सडक खुलाउन सोमबार सूचना जारी गर्दै सडक सरसफाइ अघि बढाउन उपभोक्ता समितिहरूलाई आग्रह गरेको छ । उपभोक्ता समिति मार्फत सडक सफाइ गरिने भएकाले मातहतका सबै वडा र टोलहरूमा उपभोक्ता समिति गठन तथा नवीकरण गरी सम्झौता गर्न आउन वडा कार्यालयहरूलाई पत्राचार गरेको हो । दसैँ अघि सडक सञ्चालनमा ल्याइने अध्यक्ष परवीन गुरुङले बताए । 

महाशिला गाउँपालिकाले सडक खुलाउन डोजर लगाउन थालेको छ । लुङ्खु–बालाकोट–होश्राङदी, लुंखु–चिसापानी–भोक्सिङ, पाखापानी–भोर्लेलगायतका सडक केही दिनमै सुचारु हुने महाशिला गाउँपालिका अध्यक्ष ईश्वरी भुसालले बताए । 

मोदी गाउँपालिका, फलेवास नगरपालिका र कुश्मा नगरपालिकाले पनि ग्रामीण सडक खुलाउन काम सुरु गरेका छन् । फलेवासले नगरपालिकाकै दुईवटा डोजर परिचालन गरेको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए । 

पर्वत यातायात प्रालिका सञ्चालक हेमशर्मा पौडेलले वर्षायाममा अवरुद्ध सडक खुलाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको बताए । अब मनसुन सकिएकाले मर्मत गरेपछि सडकमा सवारी गुडाउन सहज हुने उनको भनाई छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सिताराम ओझाले जिल्लाका मुख्य राजमार्गमा अवरोध नरहे पनि केही ग्रामीण सडकहरूमा यातायात सुचारु गर्न समस्या रहेको बताए । उनका अनुसार मध्यपहाडी लोकमार्ग, मालढुङ्गा–बेनी, कालीगण्डकी करिडोर र दोबिल्ला–फलेवास, दोबिल्ला–कार्कीनेटा, कुश्मा–दुर्लुङ जस्ता सडकमा सवारी सञ्चालन भइरहेको छ । अन्य शाखा सडकहरू एकपटक डोजर लगाएर सफा गर्न सकेमा दसैँको बेला सवारीका लागि सहज हुने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप