मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो टेस्टको अन्तिम दिन : बंगलादेशलाई हराउन भारतले ९५ रन बनाउनु पर्ने

मङ्गलबार, १५ असोज २०८१, १२ : ४७
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पाँचौँ तथा अन्तिम दिन मंगलबार भारतले जितका लागि केवल ९५ रनको लक्ष्य पाएको छ । भ्रमणकारी टोली बंगलादेश आफ्नो दोस्रो पालीमा केवल एक सय ४६ रन बनाउँदै अलआउट भएपछि भारतले जितका लागि झिनो लक्ष्य पाएको हो ।

दोस्रो पालीमा भारतका लागि ओपनर ब्याट्सम्यान सादमन इस्लामले अर्धसतक बनाए पनि अन्य खेलाडीको प्रदर्शन अत्यन्तै निराशाजनक रह्यो । सादमन इस्लामले ५० रन बनाए । अर्का ओपनर जाकिर हसन १० रन बनाउँदै आउट भए ।

कप्तान नजमुल होसैन सान्टो १९ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । मुसफिकर रहिमले टोलीको खातामा ३७ रन थपे । उनले ६३ बलको सामना गरी सात चौका पनि हिर्काए । दोस्रो पालीमा बंगलादेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

हसन महमुद चार र मोमिनुल हक दुई रनमै पेभेलियन फर्किए । लिटन दास एक र सकिब अल हसन शून्य रनमै आउट भए । हेहदी हसन मिराजले नौ रन बनाए । खालिद अहमद भने पाँच रनमा अविजित रहेका थिए ।

भारतीय टोलीका बलरसामु निरीह देखिएका बंगलादेशी ब्याट्सम्यान एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । भारतीय बलर रविचन्द्रन आश्विन, रविन्द्र जडेजा र जसप्रित बुमराहले तीन–तीन विकेट हात पारे । आकाश दीपले पनि एक विकेट लिए ।

बंगलादेशले दुई विकेटको नोक्सानीमा २६ रनको स्थितिबाट मंगलबारको खेल अगाडि बढाएको थियो । अघिल्लो दिनसम्म दोस्रो टेस्ट बराबरीमा टुंगिने सम्भावना देखिएको थियो । तर, दोस्रो पालीमा बंगलादेशी ब्याट्सम्यानले लज्जास्पदक प्रदर्शन गरेपछि भारत जितको सँघारमा पुगेको छ ।

त्यसअघि भारतीय टोलीले नौ विकेटको नोक्सानीमा दुई सय ८५ रन बनाउँदै आफ्नो पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । भारतले पालीको आक्रामक सुरुवात गरेको थियो । दोस्रो टेस्टको चौथो दिन सोमबार भारतले ३४.४ ओभरमात्र ब्याटिङ गरेको थियो ।

भारतीय टोलीले पहिलो पालीमा बंगलादेशसँग ५२ रनको अग्रता हासिल गरेको थियो । बंलादेश भने पहिलो पालीमा दुई सय ३३ रन बनाउँदै अलआउट भएको थियो । भारतका लागि पहिलो पालीमा ओपनर यशस्वी जैसवालले ७२ रन बनाएका थिए । उनले ५१ बलमा दुई छक्का र १२ चौका प्रहार गरेका थिए । कप्तान समेत रहेका अर्का ओपनर रोहित शर्मा २३ रन बनाउँदै आउट भएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान शुभमन गिलले ३९ रन जोडेका थिए । मध्यक्रमका ब्याट्सम्यान केएल राहुलले भने टोलीको खातामा ६८ रन थपेका थिए । उनले ४३ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए । विराट कोहलीले पनि ४७ रन बनाएका थिए ।

आकाश दीपले १२ रन जोडेका थिए । भारतीय टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । बंगलादेशका बलर मेहदी हसन मिराज र सकिब अल हसनले चार–चार विकेट लिएका थिए । हसन महमुदले पनि एक विकेट हात पारेका थिए ।

बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतीय टोलीले दुई कीर्तिमान पनि बनायो । कानपुरमा जारी खेलको चौथो दिन भारतले टेस्टमा सबैभन्दा छिटो अर्धसतक र सबैभन्दा छिटो सतकको कीर्तिमान बनाएको हो ।

भारतीय टोलीले केवल तीन ओभरमै ५० रन बनाएको थियो । त्यसअघि टेस्ट क्रिकेटमा इङ्ल्यान्डले ३० वर्ष पहिले वेस्ट इन्डिजविरुद्ध ४.२ ओभरमा ५० रन बनाएको थियो । भारतले अहिले त्यही कीर्तिमान तोडेको हो ।

त्यसलगत्तै भारतले टेस्ट क्रिकेटमा सबैभन्दा छिटो सतकको कीर्तिमान पनि बनायो । भारतले आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै केवल १०.१ ओभर (६१ बल) मा एक सय रन बनाएको थियो । त्यसअघि पनि यो कीर्तिमान भारतकै नाममा थियो ।

भारतले यसअघि सन् २०२३ मा पोर्ट अफ स्पेनमा खेलिएको वेस्ट इन्डिजविरुद्धको टेस्टमा १२.२ ओभरमा एक सय रन बनाएको थियो । त्यसअघि सन् २००१ मा श्रीलंकाले कोलम्बोमा खेलिएको बंगलादेशविरुद्धको टेस्टमा १३.१ ओभरमा एक सय रन बनाएको थियो ।

बंगलादेशी टोली भने दोस्रो टेस्टको चौथो दिन सोमबार ७४.२ ओभरमा दुई सय रन ३३ बनाउँदै अलआउट भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगदोशले तीन विकेटको नोक्सानीमा एक सय सात रनको स्थितिबाट चौथो दिनको खेल अघि बढाएको थियो ।

पहिलो दिन शुक्रबार केवल ३५ ओभरको खेल सम्भव भएको थियो । त्यसपछि दोस्रो र तेस्रो दिनको खेल वर्षाका कारण रद्द भएको थियो । चौथो दिन सोमबार बंगलादेशी टोलीका लागि मोमिनुल हकले सतक बनाएका थिए । उनले टोलीका लागि अविजित एक सय सात रनको योगदान गरेका थिए ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले एक सय ९४ बलको सामना गरी एक छक्का र १७ चौका पनि हिर्काएका थिए । ३३ वर्षीय अनुभवी ब्याट्सम्यान मोमिनुल हकले टेस्ट क्रिकेटमा बनाएको यो १३औँ सतक हो । उनले टेस्ट क्रिकेटमा १९ अर्धसतक पनि प्रहार गरेका छन् ।

मुसफिकर रहिम भने ११ रन बनाउँदै आउट भएका थिए । बंगलादेशले पालीमा पनि निराशाजनक सुरुवात गरेको थियो । केवल २९ रनको कुल स्कोरमा बंगलादेशले आफ्ना दुबै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो । ओपनर जाकिर हसन खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अर्का ओपनर सादमन इस्लामले भने टोलीको खातामा २४ रन थपेका थिए ।

चौथो नम्बरका क्रिज समाल्न आएका कप्तान नजमुल होसैन सान्टो पनि लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । उनी ३१ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान लिटन दासले १३ रन बनाएका थिए भने सकिब अल हसन पनि नौ रनमै पेभेलियन फर्किएका थिए । मेहदी हसन मिराजले टोलीको खातामा २० रन थपेका थिए । तैजुल इस्लाम पाँच र हसन महमुद एक रनमा आउट भएका थिए ।

बंगलादेशको पहिलो पालीमा घरेलु टोली भारतका बलर जसप्रित बुमराहले तीन विकेट लिएका थिए । आकाश दीप, रविचन्द्रन आश्विन र मोहम्मद सिराजले पनि दुई–दुई विकेट हात पारेका थिए । रविन्द्र जडेजाले पनि एक विकेट लिएका थिए । दुई टेस्टको शृंखलामा भारत १–० ले अगाडि छ । यसअघि खेलिएको पहिलो टेस्टमा भारत दुई सय ८० रनले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप