बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
छिमेक

राष्ट्रिय दिवस मनाउँदै चीन, सातदिने छुट्टीमा रमाउँदै चिनियाँ

मङ्गलबार, १५ असोज २०८१, १२ : १८
मङ्गलबार, १५ असोज २०८१

चीन । चीनले मंगलबार ७५ औँ राष्ट्रिय दिवस मनाइरहेको छ । जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा चिनियाँहरूले आफ्नो, घर, सडक र टोलटोलमा राष्ट्रिय झन्डा फहराउँदै राष्ट्रभक्ति देखाएका छन् ।

चीन सरकारले आजदेखि लागु हुने गरी सात दिन लामो छुट्टी दिएको छ । एकातिर सात दिने छुट्टी, अर्कोतिर राष्ट्रिय दिवस परेकाले चिनियाँहरू दोहोरो खुसीमा छन् ।

सन् १९४९ अक्टोबर १ मा जनवादी गणतान्त्रिक देश घोषणा भएको चीनले बर्सेनि अक्टोबर १ मा राष्ट्रिय दिवस मनाउँदै आएको छ ।

सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा विभिन्न राजनीतिक आरोह अवरोध पार गर्दै सन् २०४९ मा जनवादी गणतन्त्र घोषणा गरेपछि नै आजको विकसित चीन हुन पुगेको हो ।

सन् १८४० देखि १९४९ सम्म चीनले विभिन्न देशसँग युद्ध, आन्तरिक कलह, आफू र आफ्ना जनताले पाएका दुःख, अपमान र हारका इतिहास पढ्दै आएका चिनियाँहरूका लागि ७५ वर्ष सुनौलो इतिहास भएको मानिन्छ ।

त्यसैले, चिनियाँहरूले गणतन्त्र स्थापनाको ७५ औँ वर्षलाई विशेष हर्ष र खुसीका साथ मनाइरहेका छन् । आज चिनियाँ सरकारी टेलिभिजनहरूले आधुनिक प्रगतिका कथा जनतालाई देखाइरहेका छन् ।

चीनको सरकारी टेलिभिजन सीजीटीएनले मंगलबार बिहानदेखि चीनको विकास यात्राको कथालाई विभिन्न ढंगले प्रस्तुत गरिरहेको छ ।

चीनमा गणतन्त्र स्थापनापछि सन् १९७८ मा चिनियाँ विकासवादी नेता तङ स्याओ फिङले सुरु गरेको सुधार र खुलापनपछि भएको विकास र सन् २०१२ मा चिनियाँ सत्तामा वर्तमान राष्ट्रपति सी चिनफिङको नेतृत्वपछि अर्थतन्त्र, विकासमा फट्को मारेको इतिहास टेलिभिजनले देखाइरहेको छ ।

चीन र चिनियाँ जनतालाई नयाँ युगमा प्रवेश गराउने नेताका रूपमा सीको नेतृत्वपछि चीनले भ्रष्टाचार नियन्त्रण, गरिबी निवारणका काममा निकै प्रगति हासिल गरेको छ।

सी नेतृत्वको सरकारले सन् २०३५ सम्ममा चीनलाई मध्यमस्तरको विकास गर्ने र गणतन्त्र स्थापनाको १०० वर्ष (सन् २०४९)मा आधुनिक र विकसित मुलुक बन्ने लक्ष्य निर्धारण गरेको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र बनेको चीनले आफूलाई विकासोन्मुख मुलुक भन्दै आएको छ । पछिल्लो समय करिब १० करोडभन्दा बढी जनसङ्ख्याको गरिबी निवारणमा चीनले सफलता प्राप्त गरेको छ ।

सन् २०२२ को अक्टोबरमा सम्पन्न भएको चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनमा सो मार्गचित्र तय गरिएको छ ।  

तेस्रो पटक देशको नेतृत्व गरिरहेका राष्ट्रपति सीले अगाडि सारेको चीनको विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटीभ’ (बीआरआई) मार्फत चीनले विश्वका अन्य देशलाई पनि विकास सहयात्रामा अगाडि बढाउने लक्ष्य लिएको छ । हालसम्म बीआरआईमा १५० देशले सम्झौता गरिसकेको चिनियाँ टेलिभिजनले प्रसारण गरिरहेका छन् ।  

घुम्न निस्किए चिनियाँ

राष्ट्रिय दिवसको अवसरमा सरकारले दिएको सात दिने छुट्टीको सदुपयोग गर्न चिनियाँहरू घुम्न निस्केका छन् । आन्तरिक पर्यटन विकासका लागि चीन सरकारले नागरिकहरूलाई देश यात्रा गर्न अनुरोध गरेको छ । चीनका विभिन्न प्रान्तमा रहेका पर्यटकीय क्षेत्रले चिनियाँहरूलाई स्वागत गर्दै देश घुमाउने र चिनाउने अभियान चलाएको छ ।

सात दिने छुट्टीमा करिब ३५ करोड चिनियाँ घुम्न निस्कने अनुमान गरिएको छ । चीनको यातायात मन्त्रालयका अनुसार छिटो कुद्ने रेलमा मात्र दैनिक १७ करोड मानिसले यात्रा गरेका छन् ।

यातायात मन्त्रालयले रेलमार्ग, जलमार्ग, हवाईसेवा र सडक मार्गमार्फत यात्राका लागि सात दिनका लागि अतिरिक्त रेल, हवाईसेवा र बसको व्यवस्थासमेत गरिएको जनाएको छ । लामो छुट्टीको सदुपयोग गर्दै चिनियाँहरू विभिन्न प्रान्तमा घुम्न जाने गरेका छन् । हरेक पर्यटकीय क्षेत्रले घुम्न आउने यात्रीलाई स्वागत गर्ने व्यवस्था पनि मिलाएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

छुट्टीको समयमा विदेश यात्रा गर्ने चिनियाँ पनि छन् । यो भियतनाम, लाओस, थाइल्याड र रुस यात्रा गर्ने चिनियाँ धेरै हुने अनुमान गरिएको छ । चीनको युनान प्रान्तदेखि लाओस जाने सिधा द्रुत गतिको रेल सेवा भएका कारण चिनियाँहरू सबैभन्दा बढी लाओस घुम्न जाने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप