बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

‘नयाँ समझदारी गरेर सबै दल एक ठाउँमा उभिनुको विकल्प छैन’

मङ्गलबार, १५ असोज २०८१, ०९ : ००
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले नयाँ समझदारी गरेर सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन् । परिवर्तनको नाममा नयाँ व्यवस्था लादिएपनि दलहरूकै कारण देश विदेशीको क्रिडस्थल बनेको उनको दाबी छ । 

‘अब मुलुक जोगाउने एक मात्रै उपाय भनेको राजनीतिक प्रणालीमा परिवर्तन हो। नयाँ समझदारी गरेर सवै दल एक ठाउँमा उभिनुको विकल्प छैन’, उनले भने । 

सन् २००१ मा देशको कर राजश्व आम्दानी बजेटको ३ प्रतिशत र मुलुकको ऋण २४ प्रतिशत रहेको भन्दै सन् २०२४ मा पुग्दा यो बढेर राजश्व २६ प्रतिशत पुगेको र ऋण पनि ४४ प्रतिशत पुगेको उनको भनाइ छ । ‘सन् २००१ देखि २०२४ सम्म पुग्दा कर, राजश्व आम्दानी बढ्नुमा वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषण नै प्रमुख श्रोत थियो’, उनको भनाइ छ , ‘अवको अवधिमा त्यही अनुपातमा बिदेसिनेको सङ्ख्यामा कमी आउनेछ र त्यही रूपमा विप्रेषण प्राप्त गर्न सकिने छैन र राजश्व आम्दानी त्यो तुलनामा बढ्ने सम्भावना छैन।’

अर्कोतिर साधारण खर्च व्यापक रूपमा बढेर गएको उनको भनाइ छ । ‘अनुत्पादक क्षेत्रको लगानी,महँगो सङ्घीयताको आर्थिक भार,लगायतको कारण साधारण खर्च अझ बढेर जाने निश्चित छ। यो खर्च लाई नियन्त्रणमा नलिई राज्यको ढुकुटी बलियो हुँदैन’, उनले भने। 

उनले अगाडि भने, ‘खर्च अभावमा  राज्यले उठाउने ऋण स्वतः बढेर जाने देखिन्छ र ऋणको व्याज खर्च लगातार तिर्न पर्छ नै। लगातारको ऋणको भार त्यसको व्याज खर्च समेत अब हामीलाई थेग्न गाह्रो पर्न थालेको छ।’

साधारण खर्च र व्याज खर्चलाई जोड्दा अबको दिनमा राजश्व आम्दानीको नजिक–नजिक पुगिने मुलुक सञ्चालनको निमित्त थप वैदेशिक ऋण लिनु पर्ने अवस्था आउने पाठकको भनाइ छ । ‘यसरी देश आर्थिक चपेटामा फस्दै छ। यो आर्थिक चपेटाबाट मुलुकलाई निकास दिन सकिएन भने देश आर्थिक रूपमा असफल राष्ट्र तिर जान सक्ने सम्भावना लाई नकार्न सकिँदै’, उनले भने । 

यस्ता समस्या समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्दै इमानदार प्रयासमार्फत नयाँ समझदारी नै उपयुक्त विकल्प भएको पाठकको तर्क छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप