मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
कलाकार

एक्सन फिल्मको खडेरी मेरो फिल्मले टार्छ : विराज भट्ट

मङ्गलबार, १५ असोज २०८१, १० : ३०
मङ्गलबार, १५ असोज २०८१

काठमाडौंँ । विराज भट्ट नेपाली फिल्म उद्योगका चर्चित एक्सन अभिनेता हुन् । चलचित्र ‘खुकुरी’बाट नेपाली फिल्ममा डेब्यु गरेका उनले ‘खलनायक’, ‘मैदान’, ‘जीवन दाता’, ‘दुर्गा’, ‘रघुवीर’, ‘किस्मत, ‘हिम्मत’, ‘दादागिरी’, ‘सिलसिला’, ‘डन’, ‘दोस्ती’, ‘बाटुली’लगायत सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेका धेरै फिल्म हिट छन् ।

नेपाल फिल्मपछि भोजपुरी फिल्ममा समेत ‘एक्सन स्टार’को परिचय बनाउन सफल उनी ‘साङ्लो’बाट निर्देशनमा पनि होमिए । उनी अहिले नेपाली फिल्ममा निर्माण, निर्देशन र अभिनय तीन विधामा क्रियाशील छन् ।

विराजले निर्माण गरेको दोस्रो फिल्म ‘१२ गाउँ’ आगामी २४ गते फूलपातीको दिनबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म उनले एक्सन जनरामा बनाएका छन् । आफूलाई पब्लिकले रुचाएको र जानेको जनरा एक्सन भएकाले फिल्म एक्सनमै बनाएको उनले बताए ।

प्रस्तुत छ, अभिनेता तथा निर्माता–निर्देशक विराज भट्टसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश ।

  • फिल्म ‘१२ गाउँ’ ल्याउँदै हुनुहुन्छ, तयारी कस्तो छ ?

फिल्म निर्माण सकियो । प्रचारप्रसार चलिरहेको छ । देश विदेशबाट फिल्मका लागि राम्रो प्रतिक्रिया आइरहेको छ । फिल्मका गीतहरू युट्युव ट्रेन्डिङमा छन् । मिडिया प्रचारमा अहिले समय दिन सकिरहेको छैन । त्यसका लागि समय मिलाउँदै छु । छिटै ट्रेलर रिलिजको तयारीमा छु ।

  • फिल्ममा एक्सनलाई प्राथमिकतामा राख्नु भएको छ, किन ?

एक्सन गर्नु, डान्स गर्नु शरीरका लागि धेरै राम्रो हो । फिल्ममा प्रयोग हुने मध्य एक्सन सबैभन्दा गाहे र खर्चिलो विधा पनि हो । त्यसैले धेरै मानिस एक्सन विषयबाट पछि हटिरहेका छन् । अर्को कुरो, सुरुदेखि नै दर्शकले मलाई एक्सन फिल्ममा रुचाए । पहिले मैले खेलेको फिल्मको कथा सामाजिक, प्रेमकथा जे भए पनि एक्सन मिसाउने गरियो । अहिले पनि फिल्म निर्माणमा एक्सन प्राथमिकता राखेको कारण पनि त्यही हो ।

नेपालीमा राम्रो एक्सन फिल्मको खडेरी छ । त्यो अभाव पूर्ति गर्ने पनि हो । अहिले धेरै नेपाली दर्शक एक्सनका लागि साउथ इन्डियन फिल्म हेर्छन् । उनीहरूको चाहना अनुसारको फिल्म पनि बनाउने हो । ‘१२ गाउँ’ एक्सन जनरा भए पनि माया–प्रेम, पारिवारिक विषय सबै छ ।

  • फिल्म निर्देशन र अभिनय एकसाथ गरिरहनु भएको छ, सहज त पक्कै भएन होला ?

अभिनय मेरालागि सहज विषय हो । किनभने पहिलेदेखि नै गर्दै आएको हो । निर्देशन एक त सहज विषय होइन । त्यसमा पनि निर्माणसमेत आफ्नो भएकाले सबैमा एक्लै कुद्नु परेको छ । यसले बढी धपेडी महसुस भएको छ ।

फिल्म पनि यसपटक अलि हेभी बनेको छ । टिम पनि विभिन्न ठाउँका छन् । निर्देशनमा दोस्रो फिल्म झनै राम्रो दिनुपर्‍यो । एक्सन जनरामा कथाबस्तु पनि बलियो भएको, अलिकति राम्रो फिल्म दिन खोजेको छु ।

biraj bhatta and son

  • ‘१२ गाउँ’बाटै किन छोरा समीरलाई डेब्यु गराउनुभयो ?

फिल्म निर्माण सुरुवातको समय छोरा समीरलाई राख्ने कुरा थिएन । फिल्मको लेखनमा करिब दुई वर्ष बितायौँ । काम गर्दै जाँदा मेरो अलावा एक जना क्यारेक्टर राख्दा राम्रो हुने देखियो । त्यसको क्यारेक्टर डेभलभ गर्दै जाँदा समीर सुहाउँछ भनेर राखिएको हो । यो एक्सन फिल्म हो । समीर राम्रो एक्सन पनि गर्न सक्ने भएकाले उसलाई लिइएको हो ।

फिल्म लाइन भनेको जोखिम नै जोखिमले भरिएको छ । हरेक निर्माताले यहाँ जोखिम बहन गरिरहेका छन् ।

समीरलाई नै हिरो बनाउने प्लानले बनाइएको फिल्म भने होइन । समीरले आफ्नो ब्यानरबाट डेब्यु गर्नु राम्रो पनि हो । समीरको सबै कुरो मलाई थाहा भएकाले मबाट डेब्यु गर्दा धेरै कुरा सिक्न सक्छ । फिल्म अभिनय सिलसिलामा उसले धेरै कुरो सिकेको छ । ऊ नेपाली फिल्ममा राम्रो कलाकारको रूपमा देखिनेछ ।

  • कतिपयले विराज अब निर्देशनमा पूरै होमिन छोरालाई हिरो बनाएको भन्छन् नि ?

निर्देशन निकै कठिन विधा हो । म पूरै निर्देशकको रूपमा मात्र आफूलाई अगाडि बढाउँदिन होला । आफ्नै ब्यानरमा एक्सन फिल्म भएको र एक्सनमा आफ्नो अनुभव पनि भएकाले निर्देशन गरिरहेको हो । आफ्नो ब्यानरमा अर्को किसिमको फिल्म बन्यो भने अर्कोलाई निर्देशन दिन्छु । फिल्म निर्माण भने लगातार गर्ने हो । निर्देशन मन लागे गर्ने, नलागे नगर्ने ।

  • फिल्मको बजेट ५ करोड भन्नुहुन्छ,  अहिले फिल्मको बजार छैन । किन जोखिम मोल्नुभयो ?

फिल्म लाइन भनेको जोखिम नै जोखिमले भरिएको छ । हरेक निर्माताले यहाँ जोखिम बहन गरिरहेका छन् । दुई करोडमा निर्माण गर्छु भनेको फिल्म गर्दै जाँदा ४ करोड पनि पुग्न सक्छ । आम्दानी पनि सोचेजस्तो हुँदैन ।

पहिलो कुरो राम्रो फिल्म बनाउने हो । व्यवसाय जे हुन्छ, त्यो स्विकार्ने हो । राम्रो फिल्म बनाउँछु भन्ने कोसिस सधैँ हुनुपर्छ । फिल्म राम्रो बनाउन सकियो भने लगानी उठाउन पनि सकिन्छ ।

मेरो फिल्म सर्दैन । अरूको म भन्न सक्दिनँ । फिल्म रिलिजका लागि सबै तयारी भइसक्यो ।

फिल्म उद्योगमा बाहिर फिल्मले यति कमायो, उति कमायो भनेर हल्ला धेरै हुन्छ । भित्र वास्तविकता अर्को हुन्छ । यो फिल्मप्रति म खुसी छु । व्यवसायी भएरभन्दा पनि राम्रो फिल्म दिन यो बनाएको हो । मलाई धेरै माया दिने दर्शकलाई मैले राम्रो फिल्म दिनुपर्छ ।

  • फिल्म निर्माण राम्रो भएरमात्र हुँदैन, प्रदर्शन पनि अनुकूल हुनुपर्छ । तपाईंको फिल्म अन्य दुई फिल्मसँग भिड्दैछ । यसले गर्दा जोखिम कति देख्नु भएको छ ?

यसले जोखिम हुँदैन भन्न मिल्दैन । फिल्म धेरै हुने बित्तिकै थिएटरमा शो त बाँडिन्छ नै । फिल्म जुध्ने भन्ने कुरो म सामान्य रूपमा लिन्छु । राम्रो होस् वा नराम्रो मिति । फिल्म भिडिरहेकै हुन्छन् । दसैँमा तीन वटाभन्दा पनि दुई वटा फिल्म राम्रो छ । यो दसैँमा तीन वटा फिल्म चल्नुपर्छ भन्ने लाग्छ । मानिसले पालैपालो सबै फिल्म हेर्छन् । दसैँ बिदा पनि लामो छ नि ।

  • केहीले ‘१२ गाउँ’ फिल्म सर्छ पनि भनिरहेका छन्, सर्ने हो कि ?

मेरो फिल्म सर्दैन । अरूको म भन्न सक्दिनँ । फिल्म रिलिजका लागि सबै तयारी भइसक्यो । बजारमा बेकारको कुरा गरेर हिँड्ने मानिस धेरै छन् । तिनीहरूको पछि म लाग्दिनँ ।

  • विराज भट्टले अब बाहिरको फिल्म नखेल्ने योजना बनाएको हो र ?

– होइन, बाहिरको फिल्म अभिनय नगर्ने भन्ने कुरै छैन । कलाकारले कहिल्यै बाहिरको नखेल्ने, यसको नगर्ने भन्न मिल्छ र भन्या ? । फिल्मको विषयवस्तु चित्त बुझ्यो भने सबैको गर्ने हो । अहिले आफ्नो फिल्ममा लागेको कारण नभ्याएको हो । बाहिरको फिल्मको अफर आइरहेको छ, खेल्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप