मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

अढाई महिनामा १८ सूचीकृत कम्पनीको लाभांश घोषणा

मङ्गलबार, १५ असोज २०८१, ०९ : २३
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को अढाई महिना बित्न लाग्दा दोस्रो बजारमा सूचीकृत १७ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका म्युचुअल फण्ड बाहेक लाभांश घोषणा गर्ने कम्पनीहरूको संख्या सो बराबर रहेको हो । यो अवधिमा २५ वटा म्युचुअल फण्डका इकाईहरूको लाभांश घोषणा भएको छ । यी इकाइसमेत गरी कुल ४२ वटा स्क्रिपको लाभांश घोषणा भएको नेप्सेको तथ्याङ्कले देखाउँछ ।

यसरी लाभांश घोषणा गर्ने कम्पनीमध्ये सुपरमाइ हाइड्रोपावरले यो वर्षको पहिलो बनेको छ । उक्त कम्पनीले भदौ १८ गते ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । अपि पावर कम्पनीले सोही दिन ९ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको थियो । उक्त कम्पनीले असोज ३० गतेका लागि साधारणसभा बोलाएको छ । यद्यपि विद्युत नियमन आयोगले अपि पावरको प्रस्तावित बोनस सेयर अस्वीकृत गरेको छ । 

त्यस्तै माण्डू हाइड्रोपावरले भदौ २१ गते बोनस सेयर तथा नगद लाभांश समेत गरी १२/१२ प्रतिशत लाभांशको निर्णय गरेको थियो । सोही दिन एभरेस्ट बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । एभरेस्ट यस वर्षको पहिलो लाभांश घोषणा गर्ने बैंक समेत बनेको छ । बैंकले असोज १९ गतेका लागि साधारणसभा समेत बोलाइसकेको छ ।  

भगवती हाइड्रोपावरले भदौ २३ गते ४ प्रतिशत बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । गुराँस लघुवित्तले भदौ २५ गते लघुवित्त मध्येकै पहिलो लाभांश घोषणा गर्दै १४.२५ प्रतिशत लाभांश र ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । 

त्यस्तै, भदौ २७ गते नेपाल ल्युब आयलले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशको घोषणा गर्‍यो, उक्त कम्पनीले असोज १७ का लागि साधारणसभा समेत बोलाएको छ । भदौ २८ गते ओरेन्टल होटलले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । उक्त कम्पनीले असोज १९ गतेका लागि साधारणसभा बोलाएको छ । 

हाथवे इन्भेष्टमेन्ट नेपालले पनि भदौ २८ गतेकै दिन लाभांश घोषणा गर्दै १० प्रतिशत बोनस र कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गर्‍यो । त्यस्तै, कामना सेवा विकास बैंकले भदौ २८ गते ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको थियो । 

उता, सीईडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस सेयर मात्रै दिने प्रस्ताव गर्दै असोज २० गतेका लागि साधारणसभा बोलाएको छ । उक्त कम्पनीले भदौ ३० गते नगद लाभांश रहित कर प्रस्ताव गरेपछि विरोध भएको थियो । पछि कम्पनीले कम्पनीको लाभांश वितरणमा कर नलाग्ने भन्दै करबापतको रकम सेयरधनीले तिर्नुपर्ने अवस्था नभएको प्रस्ट पारेको थियो । 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पनि यो वर्ष नगदरहित १८.३८११ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय गरेको छ । भदौ ३१ गते कम्पनीको बोर्ड बैठकबाट उक्त निर्णय भएको हो । त्यस्तै, साहस ऊर्जाले असोज २ गते ८ प्रतिशत बोनस सेयर ०.४२१ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ, उक्त कम्पनीले चार आर्थिक वर्षको साधारणसभा एकैपटक कात्तिक ३ गतेका लागि बोलाएको छ । 

असोज ६ गते आशा लघुवित्तले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशको घोषणा गरेको थियो । त्यस्तै, सिटिजन्स बैंकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । 

असोज ९ गते अर्थात् गत बुधबार एकैदिन तीन कम्पनीले लाभांश घोषणा गरेका थिए । यसरी लाभांश दिने कम्पनीहरूमा सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश, युनिलिभर नेपालले १७१४ प्रतिशत नगद लाभांश तथा मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयरसहित कर प्रयोजनको लागि लाग्ने ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

table 1

अघिल्लो वर्षभन्दा अरू कम्पनी चुस्त, बैंकको लाभांशमा ढिलाइ

अघिल्लो वर्षको करिब अढाई महिनाको अवधिमा म्युचुअल फण्ड बाहेक ६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका थिए । यसरी छिटो लाभांश घोषणा गर्ने कम्पनीहरूमा ५ वटा वाणिज्य बैंक र एउटा होटल रहेका थिए । 

अघिल्लो वर्ष माछापुच्छ्रे बैंकले सबैभन्दा पहिलोपटक लाभांश घोषणा गरेको थियो । त्यस्तै, यही अवधिमा एभरेस्ट बैंक, सानिमा बैंक, एनआईशी एशिया बैंक, र सिटिजन्स बैंकले समेत लाभांश घोषणा गरिसकेका थिए । 

पोहोर छिटो भएकामध्ये एभरेस्ट र सिटिजन्सले यो वर्ष पनि लाभांश घोषणा गरिसकेका छन् । अघिल्लो वर्षको अढाई महिनामा लाभांश घोषणा गरिसकेको ओरेन्टल होटलले समेत यो अवधिमा लाभांश घोषणा गरिसेकेको छ । लाभांश घोषणा भएका अरू कम्पनी भने अघिल्लो वर्षभन्दा छिटो भएका छन् । 

त्यसो त, अधिकांश बैङ्कहरूले गत आर्थिक लेखापरीक्षण प्रतिवेदन सहितको विवरण राष्ट्र बैंकमा बुझाइसकेका छन् । अहिले अधिकांश बैङ्कहरूले लेखापरीक्षण प्रतिवेदन पेश गरिसकेका छन् । 

वाणिज्य बैङ्कहरूले आफ्नो वित्तीय विवरण बाह्य लेखापरीक्षकबाट लेखापरीक्षण गराएपछि राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि पेश गर्नुपर्छ । राष्ट्र बैंकबाट स्वीकृत भएको विवरणका आधारमा मात्रै लाभांश घोषणा गर्न पाइन्छ । तर, उक्त विवरण स्वीकृतिमा ढिलाइ भएका कारण अहिलेसम्म लाभांश घोषणा हुन नसकेको बताइएको छ ।  

table 2

म्युचुअल फण्डको लाभांश १५ प्रतिशतसम्म

यो अवधिमा लाभांश २५ म्युचुअल फण्डले लाभांश घोषणा गर्दा न्यूनतम ४.४ प्रतिशतदेखि अधिकतम १५.५ प्रतिशतसम्म लाभांश प्रस्ताव गरिएका छन् । म्युचुअल फण्डले आफ्नो प्रतिसेयर खुद सम्पत्तिमा आधारित भइ यस्तो लाभांश वितरणको प्रस्ताव गरेका हुन् । 

सर्वाधिक लाभांश दिने सानिमा इक्विटी फण्डको १५ प्रतिशत, एनआईशी एशिया सेलेक्ट फण्डको १४ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डको १२.५ प्रतिशत लाभांश तोकिएको छ । एउटाले १०.५ प्रतिशत, पाँचवटाले १० प्रतिशत र बाँकीले सोभन्दा कम लाभांश निर्धारण गरेका हुन् । म्युचुअल फण्डले घोषणा गरेको लाभांश वितरणका लागि साधारणसभा कुर्नु पर्दैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप