मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

अरुण नदीले झन् अग्लो बनाउँदैछ सगरमाथा

मङ्गलबार, १५ असोज २०८१, ०८ : ०९
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । एक नयाँ अध्ययनले एउटा नदीका कारणले सगरमाथा १०–१५ मिटर अग्लो भएको देखाएको छ । नदीका कारणले यसको आधारको सतहमा रहेको माटो र ढुंगालाई क्षय गराएर यसलाई अझ माथि धकेलिरहेको अध्ययनले बताएको हो ।

युनिभर्सिटी कलेज लन्डन (यूसीएल) का शोधकर्ताहरूका अनुसार ७५ किलोमिटर टाढा रहेको अरुण नदीले गरिरहेको भूक्षयले विश्वको सर्वोच्च शिखरको उचाइ प्रति वर्ष २ मिलिमिटरले बढाइरहेको छ । 

‘यो एउटा जहाजबाट सामान फ्याँक्नुजस्तै हो,’ अध्ययनका सह–लेखक एडम स्मिथले बीबीसीसँग भने, ‘जब जहाज हलुका हुन्छ, त्यो अलि माथि तैरिन्छ । त्यसरी नै जब पृथ्वीको सतह ‘क्रस्ट’ हलुका हुन्छ, त्यो पनि अलि माथि तैरिन्छ ।’

इन्डियन र युरेसियन प्लेटबिच ४ देखि ५ करोड वर्षअघि भएको टक्कर र घर्षणबाट हिमालय बनेको थियो । यही कारणले अझै पनि हिमालयको उचाइ बढ्दो छ ।

तर, अरुण नदीको सञ्जाल पनि सगरमाथाको उचाइ बढ्नुमा सहायक कारण बनेको यूसीएलको टोलीको दाबी छ । हिमालयबाट बग्ने यो नदीले पृथ्वीको सतहमा रहेका माटो र ढुंगा बगाउँछ । यसले पृथ्वीको सतहभन्दा तल रहेको ‘म्यानटल’ माथि दबाब कम हुन्छ । यसले उसलाई माथि तैरिन सजिलो हुन्छ ।

यो प्रक्रियालाई ‘आइसोस्टाटिक रिबाउन्ड’ भनिएको छ । यो अध्ययन नेचर जियोसाइन्समा प्रकाशित गरिएको छ । अध्ययनमा अरुण नदीले सगरमाथा मात्र नभएर ल्होत्से र मकालुको उचाइ पनि बढाइरहेको उल्लेख छ ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप