मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोको गोलमा अल नासरको जित

मङ्गलबार, १५ असोज २०८१, ०७ : ३८
मङ्गलबार, १५ असोज २०८१

रियाद । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले साउदी अरेबियाको क्लब अल नासरले कतारको अल रायानलाई पराजित गरेको छ । एफसी च्याम्पियन्स लिग अन्तरगतको समूह चरणको खेलमा टोली २–१ गोलले विजयी बनेको हो ।

पाँच पटकको बालोन डी'ओर विजेताले भाइरल इन्फेक्सनका लागि प्रतियोगिताको पहिलो खेल गुमाएका थिए । उक्त खेलमा अल नासर इराकको अल सोर्टासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । 

सोमबारको खेलमा लिभरपुलका पूर्वखेलाडी साडियो मानेले पहिलो हाफको इन्जुरी समयमा अल नासरलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७६ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

उनले उक्त गोल आफ्नो पिताप्रति समर्पित गरे । सेप्टेम्बर ३० मा उनको दिवंगत पिताको जन्मदिन थियो । यसअघि दोस्रो हाफको सुरुवातमा नै उनले गरेको गोललाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।

खेल सकिन ३ मिनेट बाँकी छँदा रोजर गुडेसले अल रायानका लागि एक गोल फर्काए पनि बराबरी गोल फर्काउन भने सकेन ।

प्रतियोगितामा २४ वटा टोलीलाई १२ वटाको दुई समूहमा विभाजन गरिएको छ । एक समूहमा पूर्व र अर्को समूहमा पश्चिमका टोली छन् । प्रत्येक समूहबाट ८ वटा टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप