मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

मुख्यमन्त्री कार्यालय बजेट छुट्याउँछ, कार्यान्वयन गर्दैन

चालू खर्चमध्ये विनियोजित साढे ५२ करोड बजेटमध्ये साढे १८ करोड खर्च, पुँजीगत खर्च कमजोर
मङ्गलबार, १५ असोज २०८१, ०७ : २४
मङ्गलबार, १५ असोज २०८१

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आफैँले घोषणा गरेको कार्यक्रम कार्यान्वयनमा उदासीन देखिएको छ । मुख्यमन्त्री कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को कार्यक्रम, बजेट र खर्चको वार्षिक समीक्षा तथा प्रगति विवरणमा यस्तो देखिएको छ । 

मुख्यमन्त्री कार्यालय र मातहतका अन्य कार्यालयका लागि सरकारले ५८ करोड ४९ लाख ३५ हजार बजेट विनियोजन गरेको थियो । जसमा चालूतर्फ ५२ करोड ६८ लाख ९५ हजार र पुँजीगततर्फ ५ करोड ८० लाख ४० हजार रुपैयाँ थियो । 

जसमध्ये मुख्यमन्त्री कार्यालयले चालू खर्च १८ करोड ७९ लाख ६४ हजार अर्थात् ३५ दशमलव ६७ प्रतिशत मात्रै गरेको छ । यस्तै बढाउनु पर्ने पुँजीगत खर्च भने मन्त्रालय र मातहतका कार्यालयले २ करोड २४ लाख ७४ हजार मात्रै गरेको छ । 

महत्त्वपूर्ण कार्यक्रम पनि कार्यान्वयन भएन

मुख्यमन्त्री कार्यालयले क्षमता विकास कार्यक्रम, अनुशिक्षण, गोष्ठी, अन्तरक्रिया, सेमिनार तथा बैठक व्यवस्थापन खर्च, कानुनी साक्षरता, सुशासन प्रवर्द्धन सम्बन्धी कार्यक्रम गरेको छैन । यस्तै प्रदेश समन्वय परिषद्को बैठक नबसेको र नवीनतम सोच खोजी कार्यक्रम पनि भएको पाइएको छ ।

मुख्यमन्त्री कार्यालयले ३५ वटा मन्त्रीपरिषद्को बैठक र सचिव बैठक ८ वटा गरेको जनाएको छ । कार्यालय परिसरभित्र सवारीसाधन पार्किङ स्थल निर्माण भएको तथा मुख्यमन्त्रीको सचिवालय रिनोभेसन तथा निवासमा वेटिङ रुम निर्माण गरिएको छ ।

यस्तै ब्याण्डविथ तथा नेटवर्क व्यवस्थापन कार्यक्रम, स्थानीय तहहरूको कानुन निर्माण सम्बन्धमा क्षमता विकास कार्यक्रम, सूचना अधिकारीका लागि अभिमुखीकरण कार्यक्रम पनि भएको छैन । ती कार्यक्रमहरूमा पनि बजेट विनियोजन गरिएको थियो । यस्तै सरकारले प्रदेश प्रशासनिक समन्वय परिषद्को बैठक, प्रदेशस्तरीय मानव संसाधन विकास योजना निर्माण, तालिम नीति तथा मापदण्ड निर्धारण, सार्वजनिक सेवा वितरणको न्यूनतम मापदण्ड निर्धारणका लागि छुट्याएको बजेट कार्यान्वयन भएन । 

यस्तै प्रदेश सरकारले चौमासिक र वार्षिक प्रगति समीक्षा गोष्ठी पनि नगरेको पाइएको छ । यस्तै प्रदेशको निजामती किताबखानाको अभिलेख व्यवस्थापन र लगानी सम्मेलनका लागि छुट्याएको बजेट पनि कार्यान्वयन भएन । प्रदेश सरकारले पुँजीगत परामर्श खर्चका लागि छुट्याएको ३ करोड रुपैयाँ पनि खर्च हुन सकेन भने प्रदेश राजधानी व्यवस्थापनका लागि छुट्याएको ३ करोड रुपैयाँले पनि कुनै काम भएन । 

गरेका कामहरू चाहिँ के के हुन् ?

यस्तै मुख्यमन्त्री कार्यालयले ३५ वटा मन्त्रीपरिषद्को बैठक र सचिव बैठक ८ वटा गरेको जनाएको छ । कार्यालय परिसरभित्र सवारीसाधन पार्किङ स्थल निर्माण भएको तथा मुख्यमन्त्रीको सचिवालय रिनोभेसन तथा निवासमा वेटिङ रुम निर्माण गरिएको छ । कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत भएको, प्रदेश सुशासन ऐन, २०७६ को दफा २२ (२) बमोजिम मन्त्रालयमा बहाल रहेका कर्मचारीले पालन गर्नु पर्ने पदीय वा पेसागत आचार संहिता स्वीकृत गरी लागू गरिएको उक्त प्रतिवेदनमा उल्लेख छ । 

यस्तै दोस्रो आवधिक योजनाको अवधारणा पत्र तथा योजना स्वीकृत गरिएको, लगानी सम्मेलनका लागि कोशी प्रदेश सरकारका तर्फबाट सोकेस गरिने ६ ओटा आयोजना छनौट गरी लगानी सम्मेलन २०८१ मा प्रस्तुत गरिएको, ६ वटा भेटेरिनरी तथा सेवा विज्ञ केन्द्रको साबिकको दरबन्दीमा नबढ्ने गरी अस्थायी सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गरिएको, प्रदेश निजामती किताबखाना सञ्चालन सम्बन्धी निर्देशिका जारी भई स्थायी कार्यालय तथा स्थायी पद दर्ता सम्बन्धी कार्य सुरु भएको उक्त प्रतिवेदनमा उल्लेख छ । 

मुख्यमन्त्री कार्यालयले प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८०, स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०, प्रदेश आयोजना बैंक व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८०, प्रदेश किताबखाना (कार्यसञ्चालन) निर्देशिका, २०८०, कर्मचारीको स्वतः बढुवा तथा तह वृद्धि सम्बन्धी निर्देशिका, २०८० र प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) (चौथो संशोधन) आदेश, २०८० जारी गरेको उल्लेख गरेको छ ।

हेर्नुहोस् विवरण 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप