मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

इजरायली प्रधानमन्त्री नेतान्याहूले भने : 'मध्यपूर्वमा इजरायल पुग्न नसक्ने कुनै ठाउँ छैन'

मङ्गलबार, १५ असोज २०८१, ०० : ५४
मङ्गलबार, १५ असोज २०८१

जेरुसेलम । लेबनानमा हिजबुल्लाहविरुद्ध भएका आक्रमणहरूबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार इरानलाई मध्यपूर्वमा कुनै स्थान इजरायलको पहुँच बाहिर नरहेको नयाँ चेतावनी दिएका छन् । भिडियो वक्तव्यमार्फत् उनले इरानी जनतालाई सम्बोधन गर्दै उनीहरूको सरकारले उनीहरूलाई ‘रसातल नजिक’ ल्याइरहेको चेतावनी दिए । 

'गुज्रिँदै गरेको हरेक क्षणसँगै शासनले तपाईं महान फारसी जनतालाई रसातल नजिक ल्याइरहेको छ', इरानी जनतालाई चेतावनी दिँदै नेतान्याहूले भने, 'इजरायल पुग्न नसक्ने मध्यपूर्वमा त्यस्तो कुनै ठाउँ छैन, एउटा सानो समूह धर्माधिकारीहरूलाई तपाईंको आशा र सपनाहरू कुल्चन नदिनुहोस् ।'

इजरायलले हालैका दिनहरूमा सिरिया, यमन र इराकमा समेत रहेका इरान समर्थित लडाकूहरूको समूहको नेटवर्क ‘प्रतिरोधको धुरी’ विरुद्ध लेबनानमा व्यापक हवाई आक्रमणहरू गरिरहेको छ । बेरुतमा शुक्रबार भएको इजरायली आक्रमणमा लेबनानी लडाकू समूह हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्यु भएको थियो । इरानले हिजबुल्लाहलाई वर्षौंदेखि हतियार र आर्थिक सहयोग प्रदान गर्दै आएको छ । 

इरानले शुक्रबार हिजबुल्लाहका नेतासँगै मारिएक कुद्स फोर्सका शीर्ष कमान्डर अब्बास निलफोरौशनको हत्याको बदला लिने वाचा गरेको छ । कुद्स फोर्स इरानको रिभोल्युसनरी गार्डको विदेशी अभियान शाखा हो । भिडियो वक्तव्यमा नेतान्याहूले भविष्यको आशा व्यक्त गर्दै ‘जब इरान अन्ततः स्वतन्त्र हुनेछ’ यो ‘मानिसहरूले सोचेभन्दा धेरै चाँडो आउनेछ,' उनले भनेका छन् । 'सबै कुरा फरक हुनेछन्, हाम्रा दुवै मुलुक इजरायल र इरान शान्तिमा रहनेछन्, इरान पहिलाको जस्तै समृद्ध हुनेछ', उनले भने । 

इरानको विदेश मन्त्रालयका प्रवक्ताले इजरायलसँग सिधै सामना गर्न आफ्ना लडाकूहरू पठाउने इरानको कुनै योजना नरहेको बताएको केही घन्टापछि नेतान्याहूको टिप्पणी आएको हो । 'इस्लामिक गणतन्त्र इरानका अतिरिक्त वा स्वयंसेवक बलहरू पठाउने कुनै आवश्यकता छैन', लेबनान र प्यालेस्टिनी क्षेत्रका लडाकूहरूसँग ‘आक्रमणविरुद्ध आफ्नो रक्षा गर्ने क्षमता र शक्ति छ’ भन्दै विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भने । 

सरकारी वेबसाइटका अनुसार यसअघि सोमबार इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नसरल्लाहलाई ‘श्रद्धाञ्जलि दिन’ तेहरानमा हिजबुल्लाहको कार्यालयको भ्रमण गरेका थिए । राज्यको सबै मामिलामा अन्तिम अधिकार राख्ने इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले नसरल्लाहको मृत्यु ‘खेर नजाने’ प्रतिज्ञा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप