मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

गणेश रसिकलाई ३० वटा संस्थाबाट सामूहिक अभिनन्दन

सोमबार, १४ असोज २०८१, २३ : ००
सोमबार, १४ असोज २०८१

काठमाडौँ । साहित्यकार,कवि तथा गायक गणेश रसिकलाई आज काठमाडौँमा एक समारोहका बीच अभिनन्दन गरिएको छ । भोजपुर जिल्लासँग जोडिएका ३० भन्दा बढी सङ्घसंस्थाले उनलाई अभिनन्दन गरेको हो । 

क्रमममा उनको योगदानका विषयमा साहित्यकारले लेखेका लेखहरूलाई समेटेर तयार पारिएको ‘गणेश रसिक : अभ्यार्थना ग्रन्थ’ को विमोचन गरिएको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई अभिनन्दन गर्नुका साथै उक्त ग्रन्थको विमोचन गरेकी थिइन् ।

भोजपुरे सेवा समाज काठमाडौँको आयोजना तथा एम्बिसन एकाडेमी काठमाडौँको सहआयोजनामा भएको उक्त समारोहमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले रसिकको साहित्यक र साङ्गीतिकसहति सामाजिक पक्ष समाजका लागि महत्त्वपूर्ण रहेको स्मरण गरिन् ।

जनबोली र प्रकृतिका सुसेलीलाई टिपेर उनले सृजना गरेका र सङ्गीत दिएका गीतहरू देशको धड्कनका रूपमा प्रतिविम्बित भएको बताइन् । राष्ट्र,राष्ट्रियता र आमनागरिकका पक्षमा सिर्जित उनका सिर्जना रैथाने स्वादका र कालजयी रहेको पनि पूर्वराष्ट्रपति भण्डारीले बताइन् । 

“उहाँ राष्ट्रका मानव सम्पदा पनि हुनुहुन्छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “देश र समाजलाई उनले दिनुभएको योगदानका बारेमा लेखकले लेखेका लेख समावेश गरी ग्रन्थ प्रकाशन गर्नु खुसीको कुरा हो, यसले उनका जीवनका आरोह अवरोधका साथै समाज र राष्ट्रलाई दिनुभएको योगदान आमपाठक माझ पुर्‍याउने छ ।”

साहित्यकार गणेश रसिकले यो सम्मान तथा अभिनन्दनका लागि आफू लायक छु या छैन थाहा नभएको तर यसरी अभिनन्दन गर्दा सबैप्रति आभारी रहेको प्रतिक्रिया दिए । आफू बिरामी भएर थला परेको जानकारी दिँदै उनले अहिले पनि उपचार जारी रहेको बताए । उनलाई प्रोष्टेटको क्यान्सर भएको र अहिले उपचार जारी रहेको छ ।

अभिनन्दन समारोहमा भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले साहित्यकार रसिकले समाज र राष्ट्रलाई सङ्गीत दिएर, कृति लेखेर महत्त्वपूर्ण योगदान दिएको बताए । उनले साहित्यकार रसिकले गीतसङ्गीत मात्रै नभएर कुशल प्रशासक र समाजसेवीका रूपमा आफूलाई उभ्याएको बताए । 

पूर्वअर्थमन्त्री एवं साहित्यकार शङ्कर कोइराला र सङ्गीतकार बुलु मुकारुङले साहित्यिक तथा साङ्गीतिक क्षेत्रमा रसिकले पुर्‍याउनुभएको योगदानका बारेमा चर्चा गरेका थिए । उक्त ग्रन्थको सम्पादन साहित्यकार सुदर्शन श्रेष्ठ र शशी लुमुम्बुले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप