सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

ट्राफिक अपडेट : यस्तो छ देशभरका सडकको अवस्था

सोमबार, १४ असोज २०८१, २० : ०३
सोमबार, १४ असोज २०८१

काठमाडौँ । प्रहरीले उपत्यकाकासहित देशभरका सडकको अवस्थाबारे जानकारी गराएको छ । प्रहरीले सोमबारसाँझ साढे ६ बजेसम्मको सडक यातायातको अवस्थाबारे जानकारी गराएको हो ।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकास्थित सिंहदरबार, माइतीघर, थापाथली, झम्सीखेल, त्रिपुरेश्‍वर, नागस्थान, न्युरोडगेट, जमल, केशरमहल, लैनचौर, खानिविभाग, टुकुचा, नागपोखरी, लाजिम्पाट, गौशाला, मित्रपार्क, चाबहिल र ग्वार्को हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।  

गत शुक्रबारदेखी रोकिएका लामो दुरीका सवारी साधन काठमाडौँबाट छुट्न थालेसँगै नयाँबसपार्क, गोंगबु, कलंकी, नैकाप र नागढुंगा क्षेत्रमा पनि सवारी क्यु बढेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । क्यु रहेको  स्थानमा  ट्राफिक प्रहरीले आवागमन सहज बनाउने  प्रयास गरिरहेको छ । 

ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले सवारी आवागमन बन्द रहेको प्रहरीले जनाएको छ । पहिरोकै कारण सिस्नेरी, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवतजावत पनि प्रभावित भएको छ । काठमाडौँ–सिन्धुली–बर्दिबास चल्ने सवारी  साधन पनि चल्न नसकेको ट्राफिक कन्ट्रोल रुमले जनाएको  छ ।

यस्तै धुलिखेल–खावा हुँदै चल्ने सवारी साधन एक लेनमा आलोपालो चलाइएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ चार सयबेशी र रोशी ११ मंगलटारमा बाढी तथा पहिरोले सडक बगाउँदा र सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा  झरेको पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।

रसुवा जिल्लाका  विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउँदा खुर्कोट–मन्थली चल्ने सवारी साधनको आवागमन रोकिएको छ । 

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५  र खोटाङको खोटेहाङ गाउँलिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ । 

मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलि ब्रीज बाढीले बगाउँदा आवत–जावत रोकिएको जनाइएको छ ।

नवलपरासी वर्दघाट सुस्ता पूर्वकै गैंडाकोट नगरपालिका ३ हिउँदेखोलामा पनि पहिरो खसेर कालिगण्डकी करिडोरमा सवारी  साधन प्रभावित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप