सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी

सोमबार, १४ असोज २०८१, १७ : ४५
सोमबार, १४ असोज २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना अनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकोमा अर्थले स्वीकृति पनि दिएको छ ।

मन्त्रालयले आफ्नै विद्यमान स्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने गरी गृहकार्य गरिरहेको छ ।  

हाल कीर्तिपुर अस्पतालबाट उपचार भइरहेकोमा गत भदौमा वीर अस्पतालमा जलन वार्ड स्थापना गरिसकिएको छ । मन्त्रालयले सातैवटा प्रदेशमा यस्तो उपचार थाल्न लागेको हो ।

जसअनुसार कोशी प्रदेशमा बिपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा मधेस प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिनेछ ।

गण्डकी प्रदेशको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको नेपालगन्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी तयारी गरिएको छ ।

यसैगरी, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्नेगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्रिया अघि बढाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

‘सबैतिर उपचारको व्यवस्था नहुँदा धेरैले भोग्नुपरेको पीडा कसरी कम गर्न सकिन्छ भनेर मन्त्रीज्यूको निर्देशनअनुसार मन्त्रालयले तयारी थालेको छ’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘मन्त्रालयको आफ्नै स्रोतबाटै सातै प्रदेशमा निःशुल्क उपचार सुविधा दिने गरी तयारी अघि बढिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप