सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सम्मेलन

क्रान्तिकारीमा ३० वर्षे उमेरहद लागु भए निवर्तमान पदाधिकारी सबै बिदा हुने

सोमबार, १४ असोज २०८१, १७ : २४
सोमबार, १४ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागु भएमा निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने देखिन्छ । असोज ११ गतेबाट त्रिभुवन विश्वविद्यालयस्थित स्मृति हलमा क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा उमेरहद लगाउने कि नलगाउने सम्बन्धमा बहस भइरहेको छ ।

आइतबार १० वटा समूहगत छलफलबाट आएका निष्कर्षको आधारमा २८, ३० र ३२ वर्षे उमेरहद राख्नुपर्ने सुझाव आएको थियो । यही विषयमा विवाद उत्पन्न हुँदा निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन ।

क्रान्तिकारीका एक पदाधिकारीका अनुसार ३२ वर्षे उमेर हद लागु भए पनि निवर्तमान समितिका अधिकांश बिदा हुनेछन् । एक सय ७८ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा एक जना, उपमहासचिवमा ५ जना र सचिवमा १० जना जति अध्यक्षको उम्मेदवार बन्न सक्नेछन् ।

‘अध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेको बेला नयाँ विवाद सिर्जना भएको छ । यस विवादले सिङ्गो संगठन अहिले विभाजित छ,’ ती पदाधिकारीले भने ।

संगठनमा धेरै समय काम गरेका साथीहरू नेतृत्वका लागि आकांक्षी रहेको उनले बताए । ‘नयाँ साथीहरू उमेरहद लगाउने पक्षमा देखिएका छन् । ३२ वर्षे उमेरहदमा सहमति भए पुराना अधिकांश साथी बाहिरिनेछन्,’ उनले भने, ‘३० वा २८ वर्षे उमेरहद कायम भएमा एक सय ७८ जना पदाधिकारी बिदा हुनेछन् ।’

३२ वर्षे उमेरहद कायम भए पदाधिकारीमध्ये उपाध्यक्षमा प्रविणा अधिकारीमात्र उम्मेदवार बन्ने सम्भावना रहेको अर्का एक पदाधिकारीले जानकारी दिए । यस्तै उपमहासचिवहरूमा त्रिसना हमाल, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा, विश्वमणि थापा लगायत पनि ३२ वर्षे उमेरहदका बाबजुद नेतृत्वमा दाबी गर्न योग्य रहनेछन् । यस्तै सचिवमा करिब ८ जना उम्मेदवार बन्न सक्ने ती पदाधिकारीले बताए ।

विवाद समाधानका लागि सोमबार क्रान्तिकारीका पदाधिकारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष प्रचण्डले निर्वाचनको माध्यमबाट विवाद सुल्झाउन निर्देशन दिएका थिए । अध्यक्षको निर्णयपछि क्रान्तिकारीको केन्द्रीय कार्यालय बैठकले सहमति खोज्ने प्रयास गरेको थियो । तर सहमति नभएपछि हलबाटै समस्याको निकास खोज्ने निर्णय गरेको नेताहरूले बताएका छन् ।

साँझसम्म निर्वाचन प्रक्रिया सुरु हुन सक्ने उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप