सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशविरुद्धको दोस्रो टेस्ट : पहिलो पालीमा भारतलाई ५२ रनको अग्रता

सोमबार, १४ असोज २०८१, १७ : २०
सोमबार, १४ असोज २०८१

काठमाडौँ । बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतीय टोलीले नौ विकेटको नोक्सानीमा दुई सय ८५ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको छ । पालीको आक्रामक सुरुवात गरेको भारतीय टोलीका पछिल्ला क्रमका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

दोस्रो टेस्टको चौथो दिन सोमबार भारतले ३४.४ ओभरमात्र ब्याटिङ गर्‍यो । भारतीय टोलीले पहिलो पालीमा बंगलादेशसँग ५२ रनको अग्रता हासिल गरेको छ । बंलादेशी टोली भने आफ्नो पहिलो पालीमा दुई सय ३३ रन बनाएको थियो ।

भारतका लागि पहिलो पालीमा ओपनर ओपनर यशस्वी जैसवालले ७२ रन बनाए । उनले ५१ बलमा दुई छक्का र १२ चाँैका प्रहार गरे । कप्तान समेत रहेका अर्का ओपनर रोहित शर्मा २३ रन बनाउँदै आउट भएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान शुभमन गिलले ३९ रन जोडे । मध्यक्रमका ब्याट्सम्यान केएल राहुलले भने टोलीको खातामा ६८ रन थपे । उनले ४३ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काए । विराट कोहलीले पनि ४७ रन बनाए ।

आकाश दीपले १२ रन जोडे । भारतीय टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका बलर मेहदी हसन मिराज र सकिब अल हसनले चार–चार विकेट लिए । हसन महमुदले पनि एक विकेट हात पारे ।

बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतीय क्रिकेट टोलीले लगातार दुई कीर्तिमान भने बनायो । कानपुरमा जारी टेस्ट क्रिकेटको चौथो दिन भारतले टेस्टमा सबैभन्दा छिटो अर्धसतक र सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएको हो ।

पालीको आक्रामक सुरुवात गरेको भारतले केवल तीन ओभरमै ५० रन बनाएको थियो । यसअघि टेस्ट क्रिकेटमा इङ्ल्यान्डले ३० वर्ष पहिले वेस्ट इन्डिजविरुद्ध ४.२ ओभरमा ५० रन बनाएको थियो । अहिले भारतले त्यही कीर्तिमान तोडेको हो ।

त्यसलगत्तै भारतले टेस्ट क्रिकेटमा सबैभन्दा छिटो शतकको कीर्तिमान पनि बनायो । भारतले आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै केवल १०.१ ओभर (६१ बल) मा एक सय रन बनायो । यसअघि पनि यो कीर्तिमान भारतकै नाममा थियो ।

भारतले यसअघि सन् २०२३ मा पोर्ट अफ स्पेनमा खेलिएको वेस्ट इन्डिजविरुद्धको टेस्टमा १२.२ ओभरमा एक सय रन बनाएको थियो । त्यसअघि सन् २००१ मा श्रीलंकाले कोलम्बोमा खेलिएको बंगलादेशविरुद्धको टेस्टमा १३.१ ओभरमा एक सय रन बनाएको थियो ।

बंगलादेशले भने आफ्नो पहिलो पालीमा दुई सय ३३ रन बनाएको थियो । दोस्रो टेस्टको चौथो दिन सोमबार बंगलादेशी टोली ७४.२ ओभरमा दुई सय रन ३३ बनाउँदै अलआउट भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगदोशले तीन विकेटको नोक्सानीमा एक सय सात रनको स्थितिबाट चौथो दिनको खेल अघि बढाएको थियो ।

पहिलो दिन शुक्रबार केवल ३५ ओभरको खेल सम्भव भएको थियो । त्यसपछि दोस्रो र तेस्रो दिनको खेल वर्षाका कारण रद्द भएको थियो । चौथो दिन सोमबार बंगलादेशी टोलीका लागि मोमिनुल हकले सतक बनाएका थिए । उनले टोलीका लागि अविजित एक सय सात रनको योगदान गरेका थिए ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले एक सय ९४ बलको सामना गरी एक छक्का र १७ चौका पनि हिर्काएका थिए । ३३ वर्षीय अनुभवी ब्याट्सम्यान मोमिनुल हकले टेस्ट क्रिकेटमा बनाएको यो १३औँ सतक हो । उनले टेस्ट क्रिकेटमा १९ अर्धसतक पनि प्रहार गरेका छन् ।

मोमिनुल हकले अविजित ४० र मुसफिकर रहिमले अविजित ६ रनको स्थितिबाट चौथो दिनको खेल अगाडि बढाएका थिए । मुसफिकर रहिम भने ११ रन बनाउँदै आउट भए । बंगलादेशले पालीको निराशाजनक सुरुवात गरेको थियो ।

केवल २९ रनको कुल स्कोरमा बंगलादेशले आफ्ना दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो । ओपनर जाकिर हसन खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अर्का ओपनर सादमन इस्लामले भने टोलीको खातामा २४ रन थपेका थिए ।

चौथो नम्बरका क्रिज समाल्न आएका कप्तान नजमुल होसैन सान्टो पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी ३१ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान लिटन दासले १३ रन बनाए भने सकिब अल हसन पनि नौ रनमै पेभेलियन फर्किए । मेहदी हसन मिराजले टोलीको खातामा २० रन थपे । तैजुल इस्लाम पाँच र हसन महमुद एक रनमा आउट भए ।

घरेलु टोली भारतका बलर जसप्रित बुमराहले तीन विकेट लिए । आकाश दीप र रविचन्द्रन आश्विन र मोहम्मद सिराजले पनि दुई–दुई विकेट हात पारे । रविन्द्र जडेजाले पनि एक विकेट लिए । दुई टेस्टको शृंखलामा भारत १–० ले अगाडि छ । यसअघि खेलिएको पहिलो टेस्टमा भारत दुई सय ८० रनले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप